भूकम्पको डरले धमाधम घर छोडेर टहरामा बास बाजुरा


लेखक : सुन्दराञ्चल      अशोज २६, २०८० मा प्रकाशित     
भूकम्पको डरले धमाधम घर छोडेर टहरामा बास बाजुरा

बाजुरा २६, असोज, बाजुराका अधिकांश स्थानीय यतिबेला भूकम्पको डरले धमाधम घर छोडेर टहरामा बास बस्न थालेका छन् । जिल्लाका नौ वटै स्थानीय निकायका अधिकांश घर माटो र ढुङ्गाले मात्र निर्माण गरिएका छन् । असोज १६ गते आएको भूकम्पले यस्ता घरमा बढी क्षति गरेपछि अहिले त्यहाँका स्थानीय भूकम्पको डरले धमाधम घर छोडेर टहराको बास गर्न थालेका हुन् ।

घर लगाएको एक वर्ष नपुग्दै त्यो घर भूकम्पले भत्काएपछि अहिले लेकमा टहरा हालेर त्यसैमा बास बस्ने गरेको खप्तड छेडेदह गाउँपालिका–५ का जितबहादुर सार्कीले बताए। उनले भने, “गत वर्ष ऋण कर्ज गरेर लगाएको घर दुइ चार महिना पनि बस्न नपाउँदै भूकम्पले भत्काइदिएपछि अहिले टहराको बास भएको हो ।, गाउँमा धेरैका घर मेरो जस्तै गरी भत्किएका छन् । अन्य गाउँमा घर भत्किएकाहरूलाई त्रिपाल तथा खाद्यान्न व्यवस्था गरेको भन्ने सुनिन्छ, । तर हाम्रो यहाँ भने अहिले सम्म राहत दिन कोही नआएको सार्कीले बताए ।

बाजुराको अन्य पालिका भन्दा खप्तड छेडेदहमा भूकम्पले बढी क्षति गरेको छ । ढुङ्गा र माटोले बनाएका यहाँका अधिकांश घर असोज १६ गते गएको भूकम्पले तहसनहस बनाएका छन् । भूकम्पले घर भत्किएपछि अहिले यहाँका स्थानीयलाई कहाँ बास बस्ने भन्ने निकै चिन्ता छ । बर्खाको समय त्रिपालमुनीको बास गर्न सहज भए पनि हिउँदको चिसोमा भने त्यो त्रिपालमा कसरी बास बस्ने चिन्ता लागेको यहाँका स्थानीय बताउँछन् ।

खप्तड छेडेदह गाउँपालिका –१ काँडा र –२ जयवाग्यश्वरी लगायतका अधिकांश स्थानीय पनि यती बेला त्रिपालको बासमा रात काटिरहेका छन् । बाजुरामा पनि पटक पटक आउने गरेको भूकम्पले यहाँका स्थानीयको घर भत्काउने  गरेपछि यती बेला उनीहरू पनि त्रिपालको बासमा रात काट्न बाध्य भएका हुन् ।

खप्तड छेडेदह गाउँपालिका –२ पीपल गाउँका पदम बुढाले, “घर भूकम्पले चर्किएको छ । त्यो घरमा बस्न डर लागेपछि अहिले त्रिपालको बासमा रात काटिरहेको बताए ।, उनले भने, “ स्थानीय सरकारले त्रिपाल दिएको छ । अहिले त्यसै त्रिपालको सहारामा रात काटिरहेका छौ ।, त्यसै गरी जगनाथ, गौमुल ,बडिमालिका , त्रिवेणी र बूढीगङ्गा नगरपालिका लगायतका अधिकांश स्थानीय पनि भूकम्पको डरले यती बेला धमाधम घर छोडेर टहराको बास गर्दै आएका छन् ।

घर भूकम्पले चिराचिरा परेको त्यो घर फेरि भत्किने हो कि भन्ने डरले उनीहरू यती बेला त्रिपालको बास बस्न बाध्य भएका हुन् । असोज १६ गते गएको भूकम्पले घरबासविहीन भएकाहरू यतिबेला गाँस, बास र कपासका लागि राहतको पर्खाइमा छन् ।

यता स्थानीय निकाय पनि ती भूकम्प पीडितलाई राहत दिनका लागि जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू सँग सहकार्य गर्दै आएका छन् । यता जिल्ला विपत् व्यवस्थापन समितिले पनि भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत वितरण गर्नका लागि व्यवस्थापन कार्यमा जुटिरहेको बताएको छ ।

बाजुराका भूकम्प पीडितका लागि गृह मन्त्रालय तथा प्रदेश सरकार सँग राहतका लागि माग गर्दै आएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

असोज १६ गते  गएको भूकम्पले  बाजुराका १२६ पूर्ण १७६ आंशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। गोरखापत्रबाट

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap