काठमाडौं जेठ ७, न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्यूनतम तलब ३४ हजार १२४ रूपियाँ बनाउन प्रस्ताव गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष संगीता खड्कासहितका सदस्यहरुले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ बनाउन प्रस्ताव गर्नुभएको हो।
पत्रकारको न्यूनतम पारिश्रमिकका विषयमा मन्त्रिपरिषद्ले निर्णय गराउने कुरा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिश रोकाले गोरखापत्रलाई जानकारी दिए ।
मन्त्रिपरिषद्ले सो प्रस्ताव निर्णय गरेमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने उनले बताए । पाँचौ तहको ३७ हजार ५३८ रुपियाँ र वरिष्ठ सम्वाददाता, भाषा सम्पादक र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्तावित छ ।
यस्तै, कार्यालय सहयोगीको तलब २५ हजार २०० कायम गरिएको छ । कार्यालय सहायकको २७ हजार ७२० रूपियाँ प्रस्तावित छ । यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।



