२१ चैत, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन् । जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका वडा नं ९ झोतामा रहेको भैरव माध्यमिक विद्यालय उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन्।
पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिँदै जालपा माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम मल्लले कार्यक्रमका प्रावधानअनुसार व्यावहारिक रुपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताए। उनले भने, ‘विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नमा कार्यक्रमले सघाउने उद्देश्य लिएका छौँ । यस कार्यक्रमको माध्यमबाट विद्यार्थीलाई पढ्न र सिक्नका लागि थप हौसला थपिने अपेक्षा हाम्रो छ ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो । केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनोट गरेको हो ।
‘पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’मा उल्लेखित कार्य प्रक्रियाबमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ । विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध गराइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । २१ चैत,