देशमा विद्यार्थी बसेनन्, सबै विदेशै ताक्छन् भोलिको नेपाल कस्तो होला ?


लेखक : सुन्दराञ्चल      अशोज ४, २०८० मा प्रकाशित     
देशमा विद्यार्थी बसेनन्, सबै विदेशै ताक्छन् भोलिको नेपाल कस्तो होला ?

काठमाण्डौ  असोज ४ ,देशमा विद्यार्थी बसेनन्, सबै विदेशै ताक्छन्, अब देश ढिलो-चाँडो रित्तिने नै भयो, देशमा कोही बस्नै नचाहने हो भने भोलिको नेपाल कस्तो होला, भोलिको समाज र विकास कसरी जाला भन्ने खालका आकलन र संशयहरू आजकल नेपाली समाजमा बढी नै देखिन्छन् । यो संशयभित्र धेरै हदसम्म यथार्थता पनि देखिन्छ ।

यस लेखमा युवाहरू देश छाडेर विदेश जान खोज्ने प्रवृत्तिलाई आफैंमा राम्रो वा नराम्रो भन्ने तथा यसले ल्याउने असरहरूको विश्लेषण गर्न खोजिएको छैन । बरु देश छोड्न खोज्ने प्रवृत्तिको मनोसामाजिक पक्षको विश्लेषण गर्न खोजिएको हो । मानव सभ्यताको सुरुदेखि नै मानिस आफ्नो थातथलो छाडेर अन्यत्र जाने र ती मानिसहरू जो घर छाडेर गए उनीहरूको प्रगति उही ठाउँमा बस्नेहरूको भन्दा बढी राम्रो हुने गरेको पाइन्छ ।

नेपाली समाजमा ब्राहृमणहरू घर छोडेर पढ्नका लागि काशी वा बनारस हिंड्दा बित्तिकै उनकी धर्मपत्नीलाई गाउँलेले पण्डित्नी भनेर बोलाउन सुरु गर्थे । उनै पण्डित र्फकेर आइसकेपछि समाजमा झन् बढी मान-सम्मान र इज्जत पाउने गर्थे ।

हुन पनि एकाध बाहेक घर छोडेर बाहिर जानेहरूको प्रगति भएकै हुन्छ । जो आफ्नो थातथलो छोडेर अन्यत्र जान्छन्, उनीहरूलाई नयाँ परिवेशमा टिक्न निकै संघर्ष गर्नुपर्ने हुन्छ । तर जीवनका सुरुवाती चरणमा संघर्ष गरेको व्यक्ति नै भविष्यमा पनि जीवनभर दुःख सहन सक्ने र काममा झुकाव भएको हुन्छ र त्यस्तो व्यक्तिले नै जीवनमा अन्ततोगत्वा सुख पाउँछ । यो नै मानिसको आफ्नो घरपरिवार, समाज र देश छाडेर जान खोज्ने मनोसामाजिक उत्प्रेरणा हो ।आज पनि विदेशका विभिन्न सरकारी सेवा र सेनामा काम गरेर र्फकनेहरूको आर्थिक, सामाजिक अवस्था हाम्रो समाजमा राम्रो रहेको पाइन्छ ।

नेपाली समाजमा एउटा स्थापित मनोदशा भनेको हिमाल भन्दा पहाड राम्रो, पहाड भन्दा समथर राम्रो, गाउँभन्दा शहर राम्रो र देशभन्दा विदेश राम्रो भन्ने रहेको छ । देशमा भएको हालसम्मको विकासको प्रक्रियाले पनि सोही मार्ग अवलम्बन गरेको देखिन्छ । त्यसैले आजका युवा मात्रै हैनन्, हिजोका नेता, शिक्षक, कर्मचारी र आज समाजमा स्थापित व्यक्तिहरूले पनि यही पदचाप अवलम्बन गरेका हुन् ।

समाजमा आज पनि गाउँमा बसेर शहरमा जत्तिको प्रगति गर्न सकिंदैन भन्ने हिजोकै मनोदशाले काम गरिरहेको छ । तर आजको गाउँ हिजोको जस्तो मात्रै छैन । त्यहाँ बाटो, बिजुली, पानी लगायत यातायात र संचार अनि शिक्षा, स्वास्थ्यको अवस्थामा आमूल परिवर्तन आएको छ । तर पनि आम मानिसमा गाउँमा बसेर प्रगति हुँदैन भन्ने उही पुरानै भावनाले जरो गाडेको देखिन्छ । फेरि हामी नेपाली मेरो आफ्नो उद्देश्य, आवश्यकता, क्षमतालाई कुन स्थानले काम गर्छ भन्दा पनि अरूले जेलाई राम्रो मान्छन्, उहीलाई राम्रो भनेर अवलम्बन गर्ने आदतका छौं ।

त्यसैले हामी हिजो गाउँको विकास नहुँदा जसरी गाउँ छोडेर हिंड्ने गर्थ्यौं, उही मार्ग पछ्याउँदै छौं आज पनि । हुन त गाउँमा भन्दा शहरमा रोजगारी, व्यवसाय, शिक्षा र अन्य क्षेत्रका अवसरहरू बढी नै हुने गर्दछन् । यसको आर्थिक कारण के हो भने जहाँ धेरै मानिसको उपस्थिति रहन्छ, त्यहाँ नै सबैको व्यवसायले ग्राहक पाउँछन् ।

मेरो आफ्नो जीवन शहरभन्दा गाउँमै समृद्ध हुन सक्छ, त्यसैगरी विदेशमा भन्दा नेपालमै अवसरको सृजना गर्छु भन्नेमा युवालाई विश्वस्त पार्न जरूरी छ

जति मानिसहरू गाउँघर छाडेर शहरमा कोचिएर बसेका छन्, ती सबै गाउँ फिरे गाउँमै पनि सबै व्यवसायका लागि ग्राहक उपलब्ध हुन्छन् । यसको अलावा स्वच्छ, सफा, हराभरा, फराकिलो वातावरणले आखिरमा मानिसको मन र जीवनलाई स्वस्थ र आनन्दित बनाउन सक्छन् ।

अब कुरो रहृयो विदेश यात्राको । गाउँभन्दा शहर मनपराउने जुन प्रवृत्ति छ, उही प्रवृत्ति नै देशभन्दा विदेश मनपराउने कारण हुनुपर्दछ । हाम्रा युवा मात्र होइनन्, साराका सारा नेपाली नेता, कर्मचारी, शिक्षक विदेश जाने मौका कहिले आउँला भनेर अवसर पाएपछि मरिहत्ते गरेर कुद्ने गरेकै छन् ।

यही मनस्थितिले पनि युुवालाई देशभन्दा विदेश राम्रो भन्ने छाप पारेको हुनुपर्दछ । किनकि हाम्रो आम मनस्थिति कस्तो बन्यो भने मेरो लागि के ठीक के बेठीक भन्दा पनि अरू सबैले केलाई ठीक मान्छन्, मेरो लागि पनि त्यही ठीक भन्ने सोचले काम गरेको छ । यसमा थप मलजल गर्नमा देशमा व्याप्त कुशासन, भ्रष्टाचार, बेथिति र दण्डहीनता लगायत महँगी, कालोबजारी र शक्ति-संघर्षले अवश्यै पनि काम गरेका छन् ।

यसकारण युवाहरूमा सके केही समय दुःख काटेर राम्रै प्रगति गरिएला, नसके पनि बेलैमा ठाउँ पनि हेरिन्छ, मुख पनि फेरिन्छ भन्ने धारणाले काम गरेको छ । अर्को विडम्बना भनेको हाम्रा युवाहरूमा देशको शासन व्यवस्थामा रहेका कसैप्रति पनि एकरत्ति विश्वास छैन । जो-कोही पनि पद र शक्तिमा बस्नेले भविष्यका पिंढीको बारेमा निस्वार्थ काम गर्ने भन्दा पनि आफ्नै निहित स्वार्थ मात्रै पूरा गर्ने हुन् भन्ने आमबुझाइ युवामा छ ।

त्यसैले पढेर शासनमा पुग्ने र राजनीतिक नेतृत्वले पछिल्लो पुस्ताको विश्वास, मान, सम्मान, भरोसा सबै गुमाएको अवस्था हो । पहिले सार्वजनिक पदमा बसेका र पढेका व्यक्तिमाथि आम जनताको जुन खालको सम्मान थियो, त्यो पूरै ध्वस्त भइसकेको छ । युवापिंढीमा हाम्रो लागि हामी आफैंले बेलैमा नसोचे देशका विभिन्न ओहोदा र संस्थामा बस्नेहरू कसैले पनि केही गर्दैनन् भन्ने भान परेको छ ।

यसरी अघिल्लो पुस्तामाथि पछिल्लो पुस्ताको भरोसा टुट्नु भनेको भोलिको भविष्यको विकासको लागि विडम्बनापूर्ण अवस्था हो । त्यसैले आम युवा घर छोडेर हिंड्ने बेलामा लागत लाभको सामान्य हिसाब पनि नराखिकनै विदेश पसिरहेका भेटिन्छन् ।

त्यसैले मेरो बुझाइमा जुन मनस्थितिले गाउँभन्दा शहर राम्रो भन्ने भाष्य सृजना गरेको छ, ठीक त्यही मनोसामाजिक अवस्थाले देशभन्दा विदेश राम्रो भन्ने भावना स्थापित गरेको पाइन्छ । त्यसैले समाजका अगुवा वर्गले नै गाउँलाई केन्द्रमा राखेर आफ्ना व्यवहार सञ्चालन गर्न नसकेसम्म विदेशको लर्को कथंकदाचित रोकए पनि शहरकेन्दि्रत अवसरको खोजीमा उही साँघुरा गल्लीहरूमा झन् समस्या थपिने छन् ।

त्यसैले यो आम विदेश यात्रामा ब्रेक लगाउने हो भने पहिले आम युवा लगायत जनमानसमा आफ्ना राजनीतिक र प्रशासनिक नेतृत्वप्रति विश्वास जाग्न जरूरी छ । जो हाम्रो संकीर्ण मनोसामाजिक अवस्थाको कारण तत्कालै परिवर्तन हुन सम्भव देखिंदैन । अर्को भनेको अर्काले के गरे भन्दा पनि मैले मेरो लागि कसरी अवसरको सदुपयोग गर्ने भन्ने कुरा अरू कसैको भन्दा पृथक् र मौलिक हुन सक्छ भन्ने भावनाको सञ्चार गराउनुपर्ने भएको छ ।

मेरो आफ्नो जीवन शहरभन्दा गाउँमै समृद्ध हुन सक्छ, त्यसैगरी विदेशमा भन्दा नेपालमै अवसरको सृजना गर्छु भन्नेमा युवालाई विश्वस्त पार्न जरूरी छ । जबसम्म हामीले आफ्नो जीवन र जगतलाई अर्कोसँग दाँजेर आफूलाई लघुताभासमा राख्ने प्रवृत्तिमा परिवर्तन आउँदैन, हाम्रा युवाहरू अर्कोलाई हेरेरै विदेशको यात्रा तय गरिनै रहन्छन् ।   डा. बद्री अर्याल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap