बैशाख २९, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ। जसको प्रभावस्वरुप देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था छ। कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानमा दिउँसो पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।