दाङको ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्


लेखक : सुन्दराञ्चल      असार २४, २०७९ मा प्रकाशित     
दाङको ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्

२४ असार, दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।

दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन् । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् ।

रिमबहादुर सानोमा विद्यालय जान पाएनन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । उनले विद्यालयको अनुभूति गर्न पाएनन् । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् । ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो’, उनले भने, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।’

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन् । ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले विगत सुनाए ।

रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन् । त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन् । उनले बिहान र बेलुकाको समयमा घरको काम भ्याउँछन् । उनले दिउँसोको समयको सदुपयोग गरिरहेका छन् । ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु,’ रिमबहादुरले भने, ‘दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।’

आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनी बताउँछन् ।

रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेनछ’, रिमबहादुरले भने, ‘त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।’

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् । श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन् । ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु,’ लालमतीले भनिन् । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ ।

रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने ।

शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउँछन् । अहिले विस्तारै सबै बानी परेका छन् । ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो’, प्रधानाध्यापक खत्रीले भन्नुभयो, ‘अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।’ रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap