त्रिवेणी नगरपालिका जोड्ने बुढीगङ्गा नदीमा पक्की पुल निर्माण हुँदै


लेखक : सुन्दराञ्चल      अशोज ३, २०८० मा प्रकाशित     
त्रिवेणी नगरपालिका जोड्ने बुढीगङ्गा नदीमा पक्की पुल निर्माण हुँदै

महादेव गिरी संवाददाता

बाजुरा असोज ३, बाजुराको त्रिवेणी नगरपालिका जोड्ने बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण गरिने भएका छन । पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय बासी खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम खेप्दै आएका थिए ।

बर्खाको समय दैनिक उपभोग्य सामग्री तल माथी ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भने “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडा अध्यक्ष गगनजङ्ग बुढाले बताए । भने

नगरपालिका प्रमुख कर्णबहादुर थापाले सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय अछामले यो वर्ष बुढीगङ्गा नदीमा दुई वटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिए । बुढीगङ्गा वडा नम्बर १ र त्रिवेणी नगरपालिका वडा नम्बर ९ को बिचमा रहेको रिन्टे खोला र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा पक्की पुल निर्माण हुने  नगरपालिका प्रमुख कर्णबहादुर थापाले बताए ।

बुढीगङ्गा वडा नम्बर २ र त्रिवेणी वडा नम्बर ९ को बिचमा पर्ने रिन्टे खोला ८० मिटर पुल निर्माणका लागि १० करोड रुपियाँ र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी नगरपालिका वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा ११० मिटर लम्बाइ पुल निर्माणका लागि १६ करोड रुपियाँ विनियोजन भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताए । त्यसै गरी त्रिवेणी वडा नम्बर ८ र ४ को बिचमा रहेको मालागाड खोलामा पनि ७५ मिटर लम्बाइको पक्की पुल बन्ने भएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap