त्रिविका थेसिस्…बदाम र चना चटपटे बेच्दै छन्


लेखक : सुन्दराञ्चल      पुस १६, २०८० मा प्रकाशित     
त्रिविका थेसिस्…बदाम र चना चटपटे बेच्दै छन्

 पुष १६, काठमाण्डौ ,त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अन्तर्गत विभिन्न संकायमा अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीले गरेका शोध एवं अनुसन्धान राज्यका नीति तथा निधि प्रवद्र्धक निकायमा हुनुपर्नेमा कबाडीखानामा किलोका भाउले विक्री भइरहेका छन् । भने, कति त सडक पेटीमा बदाम बेच्न प्रयोग भइरहेका छन् ।

अध्येयता एवं अनुसन्धानकर्ताहरुले त्रिवि, त्यसका व्यवस्थापकको गतिलाई लिएर चिन्ता गरेका छन् । यस्तो वेथितिले इन्स्टिच्युसन मात्र नभई व्यवस्थामाथि नै प्रश्न उठाएको उनीहरुको भनाइ छ । त्रिविको व्यवस्थापकीय शिरोभागमा स्वयं मुलुकको कार्यकारी एवं प्रधानमन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्री नै कुलपति रहने त्रिविको अवस्था भने उदेक लाग्दो छ ।

स्नातकोत्तर अर्थात् मास्टर्सका विद्यार्थीले गरेका शोधहरु कवाडी हुँदै बदाम बेच्ने पेटीमा पुगेकोबारे त्रिवि बेखबर छ भने शिक्षा क्षेत्रका सरोकारवालाहरु कसैले मतलव गरेका छैनन् । कुनै समय भ्रष्टाचार एवं नैतिक पतन हुने कार्यमा पार्टीका नेतालाई कारबाही हुँदा टायर बालेर सडक तताउज पछि नपर्ने विद्यार्थी संगठनहरु यस विषयमा बोल्दैनन् ।

विद्यार्थीले महिनौँ लगाएर बनाएका शोध, थेसिस कवाडीले १५ रुपैयाँ किलोमा किनेर बदाम, चना, चटपटे बेच्नेहरुलाई किलोको ५० रुपैयाँ दरले बेच्छन् । वौद्धिक सम्पत्ति यसरी कवाडीको भाउमा विक्री भइरहँदा यसबारे कसैले केहि बोल्न आवश्यक ठानेका छैनन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्राज जोशीले बजारमा देखिएका शोध, थेसिस अर्थात् अनुसन्धानपत्र त्रिविमा बुझाइएको भन्दाबाहेकका भएको बताए । उनले भने, ‘हामीकहाँ विद्यार्थीले बुझाएका शोध एवं अनुसन्धानपत्रको एक कपि सुरक्षित राख्ने गरिन्छ । एक कपि विद्यार्थीसँग हुन्छ ।’ जोशीले बजारमा देखिएका अनुसन्धानपत्रहरु किनबेच गर्ने गिरोहले बनाएकाहरु हुनसक्ने बताए ।

उनका अनुसार पहिले पहिले त्रिविले स्वीकृत गरेका अनुसन्धानपत्र राष्ट्रिय योजना आयोगले लिने गर्दथ्यो । बीचमा विषयगत आयोगहरुले पनि मागेका थिए । जोशीले भने, ‘कति शोधपत्रहरु भाषा आयोगले पनि लिएको छ । राष्ट्रिय योजना आयोगले पहिले पहिले अध्ययनका लागि शोधपत्रहरु लिने गरेको थियो । अहिले लिन छोडेको छ ।’

अहिले महालेखासहित १३ संवैधानिक नियकाहरु छन् । त्यसमध्ये कति जातीय र विषयगत आयोगहरु छन् । उनीहरुले यी शोधहरु लिएर अध्ययन गर्नसक्ने जोशीले बताए । ती आयोगका सातै प्रदेशमा संरचना बन्ने क्रममा छन्, उनले अगाडि भने, ‘चाह राख्ने हो भने भौतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि मुलुकका हरेक निकायलाई ती शोधपत्रहरु निकै सहयोगी हुनसक्छन् ।’

परीक्षा नियन्त्रक जोशीले यसो भनिरहँदा कवाडीखाना हुँदै बदाम बेच्न आइपुगेका थेसिसहरु भने बरोजगारहरुको ‘बालकुमारी अधैर्यता’लाई प्रदर्शित गरिरहेका छन् । बीमा पोष्टबाट साभार

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap