तालिबानको पुनरागमन : अफगानिस्तानमा अब शक्ति राष्ट्रबीच सहकार्य कि टकराव ?


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
तालिबानको पुनरागमन : अफगानिस्तानमा अब शक्ति राष्ट्रबीच सहकार्य कि टकराव ?

काठमाडौं , ३ भाद्र । अफगानिस्तानमा अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेसँगै अमेरिकाले चीन, रूस, पाकिस्तान र युरोपेली मुलुकहरूसँग अफगानिस्तान मामिलामा परामर्श शुरू गरेको छ । केही दिनयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यी मुलुकका विदेशमन्त्रीहरूसँग निरन्तर संवादमा छन् । अफगानिस्तान मामिलामा अमेरिकाले चीनसँग विस्तृतमा कुराकानी गरेको सम्भवत यो पहिलोपटक हो जसलाई चिनियाँ अधिकारीहरूले उत्साहजनक भनेका छन् ।

अफगानिस्तान मामिलामा अमेरिका, चीन र रूस प्रमुख सरोकारवाला हुन् जसलाई ‘ट्रोइका’ नामले चिनिन्छ । तीन मुलुकको बीचमा हुने वार्तामा पछिल्लो पटक पाकिस्तानलाई पनि संलग्न गराउन थालिएपछि ‘ट्रोइका प्लस’ भन्न थालिएको छ ।

तालिबानले सत्ता आफ्नो हातमा लिनुभन्दा केही दिन अगाडि अफगानिस्तानको मामिलामा राजनीतिक समाधान खोज्न भन्दै दोहामा बैठक बसेको थियो । तालिबानले सत्ता आफ्नो हातमा लिइसकेपछि पनि अफगानिस्तानको मामिलामा ‘ट्रोइका प्लस’ को भूमिका अहं हुनेछ ।

‘ट्रोइका प्लस’ संयन्त्रलाई अफगानिस्तानमा फरक-फरक चासो र स्वार्थ भएका मुलुकहरूको सन्तुलित संयन्त्रको रूपमा लिइएको छ । अब नयाँ परिस्थितीमा ‘ट्रोइका’ कसरी अगाडि बढ्छ यकिन छैन । यतिबेला शक्ति मुलुकहरू भावी रणनीति बनाउन, मुख्यतः तालिबानले गरेको प्रतिबद्धतालाई उसले व्यवहारमा कत्तिको उतार्छ, सबैले नजिकबाट हेरिरहेका छन् ।

आतंकवाद विरुद्ध एकमत

तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान विगतमा जस्तै आतंकवादको आश्रयस्थल बन्न सक्ने भएकाले त्यसलाई रोक्नुपर्नेमा अमेरिका, चीन, भारत र रूस एकै ठाउँमा रहेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले आफ्नो भूमि अमेरिका लगायत कुनै पनि मुलुकको विरुद्ध प्रयोग हुन नदिने भनी आश्वस्त पार्ने प्रयास गरेका छन् । तालिबान संरक्षित अतिवादी र आतंकवादी समूहले आफ्नो भूमिमा असुरक्षा सिर्जना गर्न सक्ने आशंका शक्ति राष्ट्रहरूलाई छ । अफगानिस्तानको सिमाना चीनको सिन्जियाङ प्रान्तसँग जोडिएको र अफगानिस्तानमा रहेका आतंकवादी समूहले समस्या सिर्जना गर्न सक्ने भय चीनलाई छ ।

यदि अफगानिस्तानमा स्थिरता, शान्ति र आर्थिक विकास भएन भने सो भूमि आतंकवादीहरूका लागि मलिलो भूमि बन्ने चीनको बुझाइ छ । हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिक्केनसँगको कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘अफगानिस्तान आतंकवादको हटवेड नबनोस् र त्यहाँ कुनै पनि मानवीय संकट उत्पन्न नहोस् भन्नका लागि चीन अमेरिकासँग मिलेर काम गर्न तयार छ । अफगानिस्तानको विषयलाई सहज पार लगाउनको लागि चीन अमेरिकासँग संवाद गर्न र सम्पर्कमा रहन तयार छ ।’

उता अमेरिकाले भने सन् २००१ मा अफगानिस्तानको भूमिका आफूविरुद्धको आक्रमणमा उपयोग भएकाले आक्रमण गरेको बताउँदै अहिले त्यो सम्भावना कम भएको बताएको छ । तालिबानसँगको कुराकानीमा अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षामा दखल पुर्याउने कुनै पनि काम नगर्न आग्रह गरेको छ र तालिबानले अमेरिकालाई सोही विषयमा आश्वस्त पारिरहेको छ ।

तालिबान आगमनसँगै भारत पनि निकै चिन्तित देखिन्छ । अफगानिस्तानमा रहेका अतिवादी समूहले कश्मीरमा समस्या सिर्जना गर्नसक्ने भारतको बुझाइ छ । भारत र तालिबानको बीचमा राम्रो सम्बन्ध छैन । केही वर्षयता चीन र अमेरिका निरन्तर तालिबानसँग सम्वाद र सम्पर्कमा रहँदा पनि भारत भने तालिबानसँग तर्किरह्यो ।

तालिबानले सत्ता कब्जा गर्नुभन्दा केही दिन अगाडि मात्रै भारत र तालिबानको बीचमा सम्पर्क शुरुआत भएको थियो । त्यसैले भारतको प्रमुख चासो पनि आतंकवाद नै रहने र उसले अमेरिका लगायत अन्य मुलुकसँग मिलेर काम गर्ने देखिन्छ । रसिया पनि अफगानिस्तानबाट आफ्नो सुरक्षा चासोमा असर गर्नेमा सजग देखिन्छ ।

चीनले यस मामिलामा रसियासँग पनि कुराकानी गरिरहेको छ । तालिबानलाई नरम धार्मिक नीति लिन र आतंकवादी क्रियाकलापलाई अन्त दवाव दिन दुई मुलुक मिल्नुपर्ने चीनको प्रस्ताव छ । अन्य मामिलामा तालिबानसँग नरम नीति लिएपनि आतंकवादको विषयमा भने कुनै सम्झौता नगर्ने मुडमा छ । त्यसैले आतंकवादलाई नियन्त्रण गर्ने विषयमा अमेरिका र चीन एक ठाउँमा आउने सम्भावना धेरै देखिन्छ ।

शक्ति राष्ट्रबीच टकराव पनि बढ्नसक्छ 

आतंकवाद र पुनर्निर्माणको विषयमा भारत, चीन, अमेरिका र रूस एकै ठाउँमा उभिए पनि त्यहाँको आन्तरिक राजनीतिको विषयमा शक्ति राष्ट्रहरुविच टकराव पनि हुनसक्छ । चीनले त्यहाँको आन्तरिक मामिलामा आफूले पनि हस्तक्षेप नगर्ने र अन्य मुलुकले पनि गर्न नहुने अडान राखिसकेको छ । अर्थात्, तालिबानले लिने कट्टरपन्थी नीतिप्रति चीनको खासै सरोकार हुने छैन । उसको मुख्य सरोकार अफगानिस्तानबाट आफ्नो भूभागमा आतंकवादी गतिविधि नहोस् र आफ्नो आर्थिक र सैन्य प्रभाव बढाउनेमा केन्दि्रत हुनेछ । अफगानिस्तानको राजनीतिक प्रणालीको विषयम समेत ठूला मुलुकहरुको मत बाझिन सक्छ । अमेरिका लगायतका पश्चिमा मुलुकले सबै राजनीतिक दलहरुले सहभागिता सहितको लोकतान्त्रिक राजनीतिक प्रणालीको वकालत गर्नेछन् ।

अमेरिका लगायत पश्चिमा मुलुकहरूको प्राथमिकता भने समावेशी शासन व्यवस्था, मानवअधिकार, प्रेस स्वतन्त्रता, महिला अधिकार र अल्पसंख्यक समुदायको अधिकार हुनेछ । विशेषत अमेरिका, बेलायत, भारत लगायतका मुलुकले यी विषयलाई विशेष महत्व दिनेछन् र उनीहरुको तालिबानप्रतिको नीति यसबाटै निर्देशित हुनेछ । तर, चीन र पाकिस्तानका लागि यी विषय गौण हुन् । भोलिका दिनमा तालिबानले अतिवादी गतिविधीहरु बढाएमा उमाथि पश्चिमा मुलुकहरुले कडा नीतिहरु अख्तियार गर्ने र त्यसलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउन सक्छन् जसप्रति चीन र रसियाको विमती रहनसक्छ ।

भारतको भूमिका बढाउने प्रयास

विगत दुई दशकमा अफगानिस्तानको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भारत यतिबेला भूमिकाविहीन छ । अमेरिका, चीन, रूस र पाकिस्तानले संयुक्त रूपमा अफगानिस्तानको अवस्थाको बारेमा छलफल गरिरहेका छन् तर भारत त्यसमा सहभागी छैन । त्यसैले अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकहरूले भने भारतको भूमिकालाई स्थापित गराउने प्रयास गरिरहेका छन् ।

तर, चीन भने भारतलाई अफगानिस्तान मामिलामा धेरै भूमिका दिने पक्षमा छैन । पछिल्ला वर्षहरूमा सैन्यदेखि अन्य साझेदारी भइरहेको कारण अमेरिका अफगानिस्तानको मामिलामा भारतको भूमिका बढाउने गरिरहेको छ ।

यस अगाडि सन् २०१७ मा जारी गरेको दक्षिण एशिया रणनीतिमा पनि अमेरिकाले भारतको केन्द्रीय भूमिका हुने उल्लेख गरेको थियो । तर, तालिबानसँग राम्रो सम्बन्ध नरहेका कारण अमेरिकाले चाहेर पनि यतिबेला भारतले धेरै भूमिका खेल्न सक्दैन । विगत दुई दशकमा भारतले अफगानिस्तानको सरकारसँग नजिकबाट काम गरेको थियो ।

अमेरिका र बेलायतले ट्रोइका प्लस संयन्त्रमा भारतलाई पनि सहभागी गराउन चाहिरहेका छन् । तालिबानको आगमनलाई धेरैले यो क्षेत्रमा पाकिस्तान र चीनको जीत र भारतलाई झड्काको रुपमा लिएका छन् । भारतको पाकिस्तान र चीन दुवैसँग एकदमै समस्याग्रस्त सम्बन्ध रहेका र ती दुवै मुलुक अब अफगानिस्त्ाानमा हावी हुने भएका कारण पनि भारत बेचैन छ ।

तालिबान आउनुभन्दा अगाडि अफगानिस्त्ाान सरकार, पश्चिमा मुलुक र भारतको एक खालको मोर्चाबन्दी नै थियो । तर तालिबानको आगमनसँगै चीन, पाकिस्तान, रसिया र इरानको एक मोर्चाबन्दी बन्नसक्छ जुन भारत, अमेरिका बेलायत जस्ता प्रजातान्त्रिक मुलुकहरुका लागि ठूलो झट्का हुनेछ । काबुलमा रहेका सबै दूतावास धमाधम फिर्ता भए पनि रसिया, चीन र पाकिस्तानका दूतावास भने सहज रुपमा नै संचालनमा रहेका छन् र यसले पनि धेरै कुराको संकेत गर्छ ।

सत्ता कब्जापछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै तालिबानीका प्रवक्ता जबीहुल्लाह मुजाहिद ।

तालिबानलाई बुझ्नै कठिन

यतिबेला अन्तर्राष्ट्रिय समुदायका लागि सबैभन्दा ठूलो चुनौती तालिबानलाई बुझ्नु नै हो । २० वर्षमा तालिबान सुध्रियो कि उस्तै छ भन्ने भेेउ पाउन निकै कठिन भइरहेको छ । त्यसैले राष्ट्रसंघदेखि सबै शक्ति राष्ट्रहरूले अहिले अफगानिस्तान मामिलामा ‘पर्ख र हेर’ को नीति लिइरहेका छन् । त्यसैले पनि तालिबानप्रति नरम नीति राख्ने चीन र पाकिस्तानले समेत त्यहाँको अवस्थालाई एकदमै होसियारीपूर्वक हेरिरहेका छन् । उता तालिबानले भने २० वर्ष पहिलेको आफ्नो शासन भन्दा यसपटक पृथक् हुने भनी आश्वासन दिइरहेको छ ।

आन्तरिक रूपमा जनतालाई अन्य मुलुकमा जानबाट रोक्न र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न उसले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्‍यो । पत्रकार सम्मेलनमा उसले महिला अधिकार, प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, सीमान्तकृत समुदायको अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ ।

त्यसैगरी उसले आफ्नो भूमि कुनै पनि मुलुकको विरुद्धमा प्रयोग हुन नदिने भनी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पारेको छ । त्यसैगरी यस अगाडि आफूहरू विरुद्ध संघर्ष गर्ने सरकारी सुरक्षा फौज लगायत सबैलाई उसले आममाफी दिएको घोषणा समेत गरेको छ ।

सत्ता कब्जा गरेपछि पनि कतिपय स्थानमा महिलालाई विद्यालय जान नदिएको, सर्वसाधारणको घर-घरमा गएर आतंक सिर्जना गरेका खबरहरू सार्वजनिक भएका छन् । पत्रकार सम्मेलनमा तालिबानका नेताले प्रेस, मानवअधिकार, महिला स्वतन्त्रतालगायतका सबै विषयमा प्रतिबद्धता जनाएर ती विषयको अभ्यास इस्लामको फ्रेमवर्कभित्र रहेर हुनुपर्ने बताए ।

‘हामी महिलालाई काम गर्न र विद्यालय जान दिन्छौं तर निश्चित रूपमा हाम्रो फ्रेमवर्क छ । हाम्रो समाजमा महिलाहरू एकदमै सक्रिय हुने छन् तर त्यो इस्लामको फ्रेमवर्क भित्र हुनेछ’, तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा भने । तर, संयुक्त राष्ट्रसंघ र अन्य मुलुकहरू आश्वस्त हुनसकेका छैनन् । तालिबानले अहिले अपनाएको उदार नीति अल्पकालीन हो कि दीर्घकालीन भन्नेमा कोही पनि यकिन हुन सकिरहेका छैनन् ।

सत्ता कब्जा गर्नुभन्दा केही हप्ता अगाडि पत्रकार र सर्वसाधारण हत्यामा संलग्न तालिबान सत्तामा आउनासाथ सुधि्रहाल्छ भन्नेमा धेरैलाई विश्वास छैन । महिलालाई काम गर्न दिने घोषणा गरे पनि उसले बुर्का लगाउन अनिवार्य गरिसकेको छ । बुधबारबाट काबुलमा केही महिलाले आफ्नो अधिकार सुरक्षित हुनुपर्ने माग राख्दै आन्दोलन शुरू गरेका छन् ।

त्यसैगरी राजधानी काबुल बाहेक अन्य भूभागमा तालिबानका लडाकुले के गरिरहेका छन्, यकिन छैन । तत्कालका लागि नरम देखिएको तालिबान सत्ता पूर्ण रूपमा आफ्नो हातमा लिएपछि पुनः कट्टरपन्थी बाटोमा जाने त होइन भन्ने आशंका छन् ।

अमेरिका र बेलायतले तालिबानको भाषण होइन, व्यवहार हेरेर उसप्रति रणनीति बनाउने सहमति कायम गरेका छन् । तालिबानले पत्रकार सम्मेलन गरेको भोलिपल्ट बुधबार अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बीचमा तालिबानको विषयमा लामो टेलिफोन कुराकानी भएको थियो । बेलायती प्रधानमन्त्रीले बुधबार संसदमा बोल्दै भनेका छन्, ‘नयाँ सत्तालाई उसले गर्ने छनोट र शब्द भन्दा पनि उसले गर्ने व्यवहार, आतंकवाद र अन्य विषयप्रति उसको धारणा र शिक्षाप्रतिको उसको नीतिको आधारमा मूल्याङ्कन गरिनेछ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap