चुनौती काहाँ छैन ?


लेखक : सुन्दराञ्चल      साउन २६, २०८० मा प्रकाशित     
चुनौती काहाँ छैन ?

साउन  २६ ,नेपाली मिडियामा पछिल्ला दिनमा मुलुकको भविष्यबारे राम्रै बहस थालिएको छ । मुलुक बनाउने दायित्वबाट सम्बद्ध पक्ष चुकेकै हो त ? जिज्ञासा स्वाभाविक हो । खास गरी मुलुकको पछिल्लो अवस्था कहालीलाग्दो रहेको भन्दै देशमा बस्नै नसकिने अवस्थाको चित्रण पनि कतिपयले गर्ने गरेका छन् ।

निराशावादी पक्षले उठाएका प्रश्न र गरिएको चित्रणले मुलुक समाप्तै हुन लागेको पो हो कि भन्ने आशङ्का बढाउनु स्वाभाविक हो । वास्तविकता फरक छ, मुलुकमा केही वर्षयता अभूतपूर्व परिवर्तन भएका छन् । स्वास्थ्य, शिक्षा, यातायात र सञ्चार क्षेत्रमा नेपालले अकल्पनीय प्रगति गरेको छ । निराशा र क्रोध अलग पक्ष हो तर निष्पक्ष भएर बहस गर्ने हो भने हामीले धेरै सुधार गरेका छौँ । त्यसमा केही कमजोरी अझै होलान्, सुधार गरेर अघि बढियो भने सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ ।

नेपालको अवस्था देखेर दिक्क लाग्यो भन्नेमध्ये कतिपय अहिले अमेरिका र अस्ट्रेलियामा बसोबास गर्छन् । कुनै बेला राजनीतिक प्रणाली परिवर्तनका लागि ज्यानै हत्केलामा राखेर आन्दोलनमा होमिएका समेत यतिबेला विदेश पलायन भएका छन् । सायद त्यही देखेर हो वा राजनीतिमा बेलाबेला देखिने गरेका विकृति र विसङ्गतिले हो, सम्भावना बोकेकाहरू पनि सम्भावनाको खोजीमा भौँतारिने गरेका छन् । उनीहरूको निराशावादी सोचलाई पत्याउने हो भने लाग्छ अबको केही दशकपछि नेपालमा बूढापाका मात्रै बाँकी रहने छन् । हुनेखाने र पढेलेखेका युवा युरोप, अमेरिका र अस्ट्रेलियातिर बाँकी खाडी मुलुक जाने प्रवृत्ति बढेको स्थितिलाई गलत ढङ्गले व्याख्या गर्ने गरिएको छ ।

राजनीतिक र प्रशासनिक क्षेत्रमा देखिएका केही विकृति र विसङ्गतिलाई समग्रमा राष्ट्र नै असफल भएको भाष्य निर्माण गर्न यो जमात लागिपरहेको छ । नेपालमा त केही भएकै छैन, अनि अब पनि केही हुँदैन भन्ने गलत भाष्य प्रवाह गर्न खोजिएको छ । नयाँ पुस्तालाई मुलुक निर्माणमा जोड्नुको बदला विदेश जान प्रेरित गर्नेतिर धेरैको ध्यान केन्द्रित छ । यद्यपि हामीले धेरै पक्षमा अझै सुधार गर्न जरुरी छ । केही नभएको र भविष्य पनि अन्धकार छ भन्ने सोच र अवधारणा भने बिल्कुलै गलत हो । आज समस्या र चुनौती नभएका विश्वमा कुनै मुलुक छन् र ? अमेरिका, चीन, भारत होस् वा रुस सबै समस्याग्रस्त छन् । समस्या र चुनौतीका आयाम फरक होलान् । विश्वकै सबैभन्दा ठुलो प्रजातन्त्र मानिने भारतमा अहिले लोकतान्त्रिक मूल्य मान्यता कमजोर भएको बताइन्छ । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सत्तामा आएपछि लोकतन्त्र नै कोमामा पुगेको सम्मको चर्चा हुने गरेको छ । कुनै बेला इन्दिरा गान्धीको अधिनायकवादी सोच र प्रवृत्ति पनि आलोचित भएकै हो । यथासमयमा त्यसलाई सुधार गर्ने काम भारतीय जनताले नै गरे । त्यसैले नेपालमा पनि केही समस्या र चुनौती छन् भनेर पलायन हुने सोच सही मान्न सकिन्न । हामीकहाँ विकृति र विसङ्गतिका चाङ छन् । त्यसलाई सुधार्न वा निस्तेज पार्न प्रयास गर्नु पर्छ, न कि गलत भाष्य निर्माण गर्न ।

हाम्रै पुस्ता हो, कुनै बेला मोटर गाडी देख्दा अनौठो र आश्चर्य मान्थ्यो । आज इन्टरनेटको जमाना छ । सारा विश्व हत्केलामा सीमित छ । नेपालमा पनि सबैखाले अभ्यास गर्न थालिएको छ । अर्काे कोणबाट हेर्ने हो भने अनगिन्ती सकारात्मक काम पनि भएका छन् । आर्थिक प्रगति, स्वतन्त्रता, स्वाभिमान र गुणस्तरीय लोकतन्त्रको अविचलित यात्रामा मुलुकले फड्को मार्दै छ । संवैधानिक निकाय, न्यायालय, नागरिक समाज र मिडियाले समाज रूपान्तरणमा केही न केही भूमिका निर्वाह गरिरहेका छन् । राजनीतिक वा प्रशासनिक क्षेत्रबाट भएका कमीकमजोरी सच्याउन यी निकायले खबरदारी मात्र गरेका छैनन्, अपितु दण्डित गर्ने प्रक्रियासमेतको थालनी गरेका छन् । चाहे भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास या सुन तस्करी प्रकरण नै किन नहोस् । यद्यपि यी प्रकरण कत्तिको स्वतन्त्र ढङ्गबाट छानबिन भएका छन्, त्यसबारे आआफ्ना दृष्टिकोण होलान् । केही आशा र भरोसा त यसले जगाएको छ । साथै, अन्य चर्चित भ्रष्टाचार प्रकरणका फाइलसमेत खोल्ने प्रतिबद्धता सरकारले गरेको छ । जसले बिस्तारै सुशासनको क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गर्न सकिन्छ ।

कतिपयले पञ्चायतकालमा एउटा मात्रै राजा थिए, अहिले धेरै राजा भए भनेर प्रजातन्त्रको दोहोलो काढ्ने दुष्प्रयास गर्ने गरेका छन् । पञ्चायतकालमा राजा निरङ्कुश थिए, पारदर्शिता थिएन । आलोचना गर्ने छुट थिएन तर अहिले जनताले चुनेर पठाएकाले मात्रै शासन सत्तामा बस्न पाउँछ । सत्ताधारीका हरेक काम कारबाही पारदर्शी बनाउने प्रयास भइरहेको छ । आलोचना गर्न कुनै रोकटोक छैन । आर्थिक प्रगतिकै कुरा गर्ने हो भने पञ्चायत र प्रजातान्त्रिक प्रणालीबिच तुलना गर्दा विचित्रको तस्बिर फेला पर्छ । प्रजातन्त्र पुनस्र्थापनायता नीति निर्माण तहमा भुइँ मान्छेको समेत उपस्थिति रह्यो । त्यसैको प्रभावले गर्दा ०४७ सालपछि मुलुकले आर्थिक प्रगतिको क्षेत्रमा छलाङ मारेकै हो । २०४८ सालमा बनेको सरकारले उदार अर्थनीति अवलम्बन गरेकै कारण अर्थतन्त्र चलायमान बन्यो, जसको प्रभावले नै आजसम्म अर्थतन्त्रले मुलुकलाई धानिरहेको छ ।

बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि देशले धेरै क्षेत्रमा अप्रत्यासित प्रगति गरेको तथ्यले भन्छ । खास गरी अर्थतन्त्रमा देखापरेको तीव्रतर विकासले नेपालीको जीवनस्तर नयाँ उचाइमा पुगेको हो । यो पक्षलाई हामीले ओझेलमा राख्न किमार्थ मिल्दैन । घरघरमा बिजुली बत्ती बलेका छन् । टोलटोलमा विद्यालय र अस्पताल खुलेका छन् । उत्पादन गर्न सके भरपर्दाे बजार निर्माण भएको छ । यातायातको सुविधाले किसानका उत्पादन खेर गएका छैनन् । सँगसँगै एउटा विकृति चाहिँ थपिएको छ । युवा स्वदेशमा भन्दा विदेश जान बढी हौसिएका छन् । देशको उर्वरा जमिन बाँझै छाडेर खाडी मुलुकमा खेती गर्न पलायन भइरहेका छन् । यसलाई रोक्न सक्ने हो भने समृद्ध नेपाल बनाउने अभियान सपनामा मात्र सीमित हुने छैन । देशका बुद्धिजीवीले गलत सन्देश प्रवाह चाहिँ गर्नु भएन ।

सन् १९९० मा नेपाली अर्थतन्त्रको आकार झन्डै साढे तीन अर्ब अमेरिकी डलर थियो । सन् २०२१ मा आइपुग्दा नेपाली अर्थतन्त्रको आकार ३७ अर्ब अमेरिकी डलरमा उक्लियो । यो तीन दशकको अवधिमा नेपाली अर्थतन्त्र करिब १२ सय गुनाले उकालो लागेको चित्र देखिन्छ । आर्थिक उदारीकरण र कर प्रणालीमा सुधार गर्दा यस्तो प्रभाव देखिएको हो । अर्थतन्त्र चलायमान बन्दा शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि भएका छन् । आज उपचारका लागि नेपालीले बिदेसिनु पर्दैन, यद्यपि ठुला नेताको विदेशमा हुने उपचारका केही छिटपुट घटना नभएका भने होइनन् । तिनमा पनि बिस्तारै अङ्कुश लगाउने कानुन बन्दै छन् । निजी क्षेत्रले लगानी गर्ने वातावरण तयार भएको छ । सरकारी तहबाट समेत गुणस्तरीय सेवा सुविधा उपलब्ध हुन थालेका छन् । यातायात क्षेत्रमा भरपर्दो लगानी र विकास भएका छन् । निजी क्षेत्रको खर्बौं रुपियाँ मिडिया क्षेत्रमा लगानी भएका छन् । पत्रकारिताको व्यावसायिक विकास हुन थालेको छ ।

शासन सत्तामा बस्नेहरूको खबरदारी गर्ने र राम्रो गर्नेको तरफदारी गर्ने काम नेपाली मिडियाले गरेका छन् । जसले गर्दा आममानिसमा विश्वास र भरोसा चुलिएको छ । समावेशिताका उच्चतम् अभ्यास भइरहेका छन् । संवैधानिक रूपमै समावेशितालाई स्थापित गरिएको छ । नीति निर्माण तहमा यतिबेला कम्लरी, हलिया, महिला, पिछडा, अपाङ्गता भएकाहरू पुगेको अवस्था छ । त्यसैले देशमा केही परिवर्तन भएन भनेर रोइलो गर्ने अवस्था छैन ।

नेपाल बनाउने जिम्मेवारीमा रहेका व्यक्तिप्रति विश्वास र भरोसा टुटेकै हो ? कतिपयले अब नेपाल बन्दैन भन्ने चर्का कुरा गर्दा सर्वसाधारणमा यस्तो प्रश्न उठ्ने गरेको छ । फेरि पनि हामीले अहिलेसम्म भएका प्रगति नियाल्ने हो भने सकारात्मक पक्ष धेरै पाइन्छन् । त्यसैले आज युवा जमातलाई स्वदेशमै बस्ने र देश बनाउने जिम्मेवारीमा आमन्त्रण गर्नै पर्छ । सधैँ नकारात्मक कुरा गरेर देशका ऊर्जाशील जनशक्तिलाई बिदेसिन बाध्य बनाउने प्रवृत्ति रोक्न सबै पक्षको इमानदार प्रयास अपेक्षित छ ।  शिवकुमार भट्टराई

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap