काठमाडौं ३० चैत। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् ।
काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’
उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।
यो घटनाले केन्द्र र संघीय राजधानी काठमाडौंको स्थानीय सरकारबीच चलिरहेको द्वन्द्व सतहमा आएको छ । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले फोहोर उठाउन बन्द गरेको बालेनले बताएका छन् ।