काठमाडौं ११ वैशाख, । नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउन तत्कालिन ओली सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएको छ ।
स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा ओली सरकार बनेदेखि नै संसदलाई ‘रबरस्ट्याम्प’ बनाउने प्रयास भएको र त्यसक्रममा नै दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ ।
ओली सरकारको कदमले लोकतन्त्र र संविधानको आधारभूत मूल्य र मर्म माथि नै सांघातिक आक्रमण गरेको घोषणापत्रमार्फत कांग्रेसले आरोप लगाएको छ । विघटनपछि मुलुकमा अध्यादेशतन्त्र सुरू भएको भन्दै कांग्रेसले भनेको छ, ‘त्यसपछि संविधानवाद होइन, अधिनायकवाद र सर्वसत्तावादको घोषित अध्याय प्रारम्भ गरिएको थियो ।’
फेरि दोस्रो विघटनबाट नेपालको संविधान, संवैधानिक सर्वोच्चता, संविधानवाद र सर्वोच्च अदालतकै फैसलाको उल्लंघन भएको भन्दै कांग्रेसले त्यसमा राष्ट्रपतिको भूमिका पनि बदनियतपूर्ण र दुराशययुक्त देखिएको आरोप लगाएको छ ।
प्रतिनिभिसभा विघटन गरेपनि ओली सरकारको निर्वाचन गर्ने उद्देश्य नरहेको भन्दै घोषणपत्रमा कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अकल्पनीय व्यवहार भएको टिप्पणी गरेको छ ।
घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले राष्ट्रपति जस्तो सम्मानित, राष्ट्रको अभिभावक तथा संविधानको संरक्षक र पालक संस्थाबाट यस्तो असंवैधानिक र विवादास्पद भूमिका निर्वाह होला भनेर कल्पना समेत गरेको थिएन ।’
राष्ट्रपतिले षड्यन्त्रमूलकरूपमा जालसाजी गरी सरकार गठन गर्ने संवैधानिक अवसर नदिएएकाले न्यायिक उपचारका लागि अदालत जानुपरेको कांग्रेसले दाबी गरेको छ ।अनलाइनखबर