धनगढी चैत ३, सुदूरपश्चिम प्रदेश सरकारले करार र अस्थायी कर्मचारीलाई स्थायी गर्ने गरी ल्याउन लागिएको विधेयकले यहाँका एक लाख विद्यार्थीहरुको सपनामा कुठाराघात हुने विद्यार्थी संगठनले जनाएका छन् । कार्यकर्तालाई भर्ति गर्ने गरी ल्याएको विधेयकले विद्यार्थीहरुको मेहनत माथि कुठाराघात गर्छ’, अखिल क्रान्तिकारीको केन्द्रिय उपमहासचिव रामचन्द्र भट्ट ले आईतबार धनगढीमा भएको पत्रकार सम्मेलनमा भने । उनले प्रदेश सरकारले नीजामती ऐन विपरित विधेयकको ल्याउन तयारीमा रहेका बताए ।
पत्रकार सम्मेलनमा सीमित कर्मचारीलाई लाभ हुने गरी विधेयकमा प्रावधान राखिएको भन्दै विद्यार्थीहरुले विरोध गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका विद्यार्थी नेता सन्तोष जोशीले बताए । पार्टीको सुदूरपश्चिम महामन्त्री समेत रहेको जोशीले लुम्बिनी, कोषी प्रदेशको सिको गदै यहाँ नीति ल्याउन खोजिएको बताए । यसलाई संशोधन गरेर ल्याउन उनले आग्रह गरे । यो ऐन पारित भएपछि सुदूरपश्चिमका स्थानीय तहमा स्वीकृत दरबन्दीमा रहेका सयौँ अस्थायी तथा करार कर्मचारीहरूले आफूहरूबिच मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
लोकसेवाले त्यस्ता कर्मचारीलाई लक्षित गर्दै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने भन्ने विषयले सीमित कर्मचारीलाई लाभ हुने भन्दै विरोध गरिएको हो । पत्रकार सम्मेलनमा समाजवादी पार्टी निकट विद्यार्थी सुनिल जोशीले प्रदेश सरकारले नीति भन्दा वाहिर रहेर करारका कर्मचारी स्थायी गर्ने नीति ल्याएको बताए । उनले सरकारले ऐनलाई नसच्याएसम्म आफ्नो आन्दोलन जारी रहेन उल्लेख गरे ।
