उमेरहद कति हुनुपर्छ ? नेपाली राजनीतिकर्मीको


लेखक : सुन्दराञ्चल      साउन २२, २०८० मा प्रकाशित     
उमेरहद कति हुनुपर्छ ? नेपाली राजनीतिकर्मीको

 साउन २२ , वयोवृद्ध नेताले राजनीतिलाई विकृत बनाए भन्दै गत चुनावताका यो आवाज निकै उठेको थियो । ‘वृद्ध नेताहरूलाई बिदा गरौं’ भन्ने अभियान नै चलेको थियो । तर यो अभियान लगभग असफल रहृयो ।

प्रायः सबै वयोवृद्ध नेताले चुनाव जिते । अहिले तिनै वयोवृद्ध नेता नै राजनीतिको केन्द्रमा छन् ।केही दिनअघि एमालेमा नेताको उमेरहद बारे छलफल चल्यो । तर यो छलफलले पनि वयोवृद्ध नेताको ‘व्यवस्थापन’ गर्न सकेन । एमालेमा ७० वर्षे उमेरहदको व्यवस्था थियो । आˆना अध्यक्ष केपी ओली ७० नाघेपछि एमालेले यो व्यवस्था नै खारेज गर्‍यो । जसपामा पनि कुरासम्म उठेको थियो तर कुनै निर्णय भएन ।

अन्य पुराना दलका मान्छे यो विषयमा बोल्न चाहँदैनन् । कारण, वयोवृद्ध पात्र नै उनीहरूका प्रमुख नेता छन् । प्रमुख नेता विरुद्ध बोल्दा आफ्नो राजनीतिक करिअर संकटमा पर्छ भन्ने उनीहरूलाई डर छ । त्यसकारण यस्ता सवाल उठाएर उनीहरू ‘जोखिम मोल्न’ चाहँदैनन् । नयाँ र वैकल्पिक भनिएका दलमा यो विषयले प्रवेशै पाएको छैन ।

नेपालमा पेशाकर्मी तथा कर्मचारीलाई उमेरहदको व्यवस्था छ । फरक-फरक क्षेत्रमा ५८ देखि ६५ वर्षभित्र पेशाकर्मी र कर्मचारीले अनिवार्य अवकाश पाउँछन् । तर राजनीतिकर्मीका लागि यो विषयमा संवैधानिक/कानुनी व्यवस्था छैन ।

के राजनीतिमा उमेरहद जरूरी छैन ? आजसम्म यसलाई मामुली ‘प्राविधिक सवाल’ मानिएको छ त्यस कारण धेरै महत्व दिइएको छैन । यथार्थमा यो रणनीतिक सवाल हो । यो सोच र मूल्य-मान्यतासँग सम्बन्धित सवाल हो । यही विषयमा बन्ने धारणाले समग्र राजनीतिको चरित्र निर्धारण गर्दछ ।

नेपाली दृष्टान्त

नेपालका दल र सत्तामा शीर्षस्थको भूमिकामा रहिसकेका नेताहरूको हालको उमेर हेरौं । कांग्रेस सभापति शेरबहादुर देउवा ७७ वर्ष । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ७० वर्ष, एमालेका अध्यक्ष केपी ओली ७१ वर्ष, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६८ वर्ष । एकीकृत समाजवादी नेता झलनाथ खनाल ७३ वर्ष र समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई ६९ वर्ष ।

माथि उल्लिखित नेता नै नेपालका दल र सत्तामा हालीमुहाली गरिरहेका पात्र हुन् । जो कुनै न कुनै प्रकारले विगत २०४८ सालदेखि आजसम्म सत्ताको वरिपरि छन् । यसमा प्रचण्ड र बाबुरामको पृष्ठभूमि केही फरक हो । यद्यपि प्रचण्ड र बाबुराम पनि पार्टीको सत्तामा त २०४८ सालदेखि नै छन् ।

कुन उमेरदेखि उनीहरू सत्तामा आउन सफल भए ? यो पनि हेरौं । २०४८ सालमा देउवा ४५ वर्षका थिए । उनी प्रथम पटक प्रधानमन्त्री बन्दा ४९ वर्षका थिए । नेपाल २०४८ सालमा ३८ वर्षका र प्रधानमन्त्री बन्दा ५८ वर्षका थिए ।

ओली २०४८ सालमा ३९ वर्षका र प्रथम पटक प्रधानमन्त्री बन्दा ६३ वर्षका थिए । प्रचण्ड २०४८ सालमा ३६ वर्षका र प्रथम पटक प्रधानमन्त्री बन्दा ५४ वर्षका थिए । खनाल २०४८ सालमा ४१ वर्षका र प्रधानमन्त्री बन्दा ६१ वर्षका थिए । भट्टराई २०४८ सालमा ३७ वर्षका र प्रथम पटक प्रधानमन्त्री बन्दा ५७ वर्षका थिए ।

२०४८ देखि २०८० सम्मको कालअवधि हिसाब गर्दा पहिलो पुस्ताका नेताको सत्ताभोगको समय ३२ वर्ष हुँदोरहेछ । अर्थात्, नेपालमा यसअघि -२०७९ को चुनावअघि) हामीले एउटा व्यक्तिलाई सत्तारोहणको लागि औसत ३० वर्ष मौका दिइरहेका रहेछौं ।

राजनीति भनेको नीतिहरूको पनि मूल नीति हो । जसले पूरै राज्यको नेतृत्व गर्दछ । राजनीति बिग्रने बित्तिकै एक/दुई जना होइन, पूरै समाजले दुःख पाउँछ । त्यसैले राजनीतिमा आउने पात्रको जीवनका अनेक पक्षमा ध्यान दिन जरूरी हुन्छ, जसमा उमेरको कुरा पनि महत्वपूर्ण हुन्छ

२०४८ साल भनेको निर्दलीय राजतन्त्रबाट बहुदलीय व्यवस्थामा संक्रमणको युगान्तकारी घटनापछिको अवस्था हो । त्यो बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता तत्कालीन अग्रज नेता पनि थिए । जो उमेरको उत्तरार्धमा मात्र सत्तामा आउन सफल भएका थिए । त्यसैले माथिको उमेरगत हिसाब पक्कै आम परिघटना होइन ।

तैपनि माथिको आँकडाले यत्ति चाहिं भन्छ- नेपालमा यसअघि -२०७९ को चुनावअघि) औसत ३५ वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिले नै देशको नेतृत्वदायी पद धारण गरिरहेका थिए ।

पछिल्लो समय-२०७९को चुनावपछि) न्यूनतम उमेरको सीमा अलि फराकिलो भएको छ । स्थानीय सरकारको प्रमुखमा निर्वाचित हुँदा धरानका मेयर हर्क साम्पाङ ३९ वर्ष र काठमाडौंका मेयर बालेन्द्र शाह ३२ वर्षका थिए । पार्टी अध्यक्ष, उपप्रधानमन्त्री/गृहमन्त्री बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ४७ वर्षका थिए ।

रास्वपाकै सांसद सोविता गौतम र तोसिमा कार्की क्रमशः २७ वर्ष र ३२ वर्षमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउत ४५ वर्षको उमेरमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

यो तथ्यले बताउँछ, वर्तमान नेपालमा औसत ३० वर्षकै उमेरदेखि राजनीतिकर्मी देशको कुनै न कुनै नेतृत्वदायी पदमा पुग्न सक्दो रहेछ ।

वैश्विक दृष्टान्त

हाल कार्यरत वयोवृद्ध राष्ट्रप्रमुखहरूलाई हेरौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७२ वर्ष । चीनका राष्ट्रपति सी जिनपिङ ७० वर्ष । जापानका प्रधानमन्त्री फुमियो किसिदा ६५ वर्ष । अमेरिकी राष्ट्रपति जो बाइडेन ८० वर्ष । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन ७० वर्ष ।

हाल कार्यरत युवा राष्ट्रप्रमुखलाई हेरौं । सन् २०२१ मा २७ वर्षको उमेरमा ज्याकोमो साईमनसिमी सान मारिनोको राष्ट्रप्रमुखमा निर्वाचित भए । सोही वर्ष ३५ वर्षको उमेरमा ग्रबिल बोरिक चिलीका राष्ट्रपतिमा निर्वाचित भए । सन् २०१९ मा ३८ वर्षको उमेरमा नईव बुकाले एलसाल्भाडोरको राष्ट्रपति निर्वाचित भए । सन् २०१७ मा ३७ वर्षको उमेरमा ज्यासिण्डा केट न्युजिल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित भइन् ।

सन् २०१८ मा ३८ वर्षको उमेरमा कार्लोस अल्भाराडो कोस्टारिकाको राष्ट्रपति भए । २०१९ मा ३९ वर्षको उमेरमा जेभियर जमोरा अण्डोराको राष्ट्रपति भए । सन् २०१७ मा ४० वर्षको उमेरमा इम्यानुअल म्याक्रोन, फ्रान्सको राष्ट्रपति भए ।

सन् २०१९ मा ३४ वर्षे सान्ना म्यारिन फिनल्याण्डको प्रधानमन्त्री निर्वाचित भइन् । सन् २०२२ मा ४२ वर्षको उमेरमा ऋषि सुनक बेलायतका प्रधानमन्त्रीमा निर्वाचित भए । यस्ता उदाहरण प्रशस्तै छन् ।

माथि उल्लिखित युवा पात्रहरूले राष्ट्रप्रमुखमा निर्वाचित हुनुअघि मातहतका कुनै न कुनै पदमा काम गरेकै थिए । यसको अर्थ यिनीहरू पनि कम्तीमा ३० वर्षको उमेरदेखि नै सार्वजनिक पद धारण गरेर आएका पात्र हुन् ।

यसरी बाहिरको परिदृश्य हेरेर पनि भन्न सकिन्छ- यदि निर्वाचित सरकारको अभ्यास सुचारु भइरहेको अवस्था हो भने कुनै पनि व्यक्तिको सत्तारोहण सुरु हुने न्यूनतम औसत उमेर ३० वर्ष हुने रहेछ । उमेर हदको व्यवस्था नगर्ने हो भने अधिकतम उमेरको भने कुनै सीमा नहुने रहेछ । अधिकांश राजनीतिकर्मी आफ्नो हात-खुट्टा चलुञ्जेल पदभोगप्रति मोह देखाउँदा रहेछन् ।

रणनीतिक प्रश्न

निश्चय नै वयोवृद्ध नेताले मुलुकलाई योगदान दिएका छन् । उनीहरूको संघर्षमय इतिहास सबैका लागि सम्मानयोग्य छ । तर त्यो त्यतिबेला मात्र सम्माननीय रहिरहन्छ, जतिबेला उनीहरूले आफ्नो वर्चस्वलाई लोभ, मोह र अहंकारमा रूपान्तरण गर्न छोड्छन्

राजनीतिमा उमेरहदको कुरा गर्ने बित्तिकै एउटा ‘रेडिमेड’ तर्क आउन सक्छ- मान्छे उमेरले होइन, मानसिकताले युवा वा वृद्ध हुन्छ ।

एउटा कोणबाट यो तर्कको पनि महत्व छ । किनकि, समाजमा उमेरले युवा हुँदा पनि वृद्ध जस्तो जीवन बाँचेका मान्छे प्रशस्त देखिन्छन् । उमेरले वृद्ध हुँदा युवा जस्तो जीवन बाँच्ने मान्छे पनि प्रशस्त देखिन्छन् । त्यसैले मौलिक काम गर्न कसैलाई पनि उमेरले छेक्दैन भन्नु एक हदसम्म जायजै हो ।

तर यो तर्कको पनि सीमा छ । व्यक्ति, पेशागत कर्ममै सीमित छ भने यो तर्क सान्दर्भिक नै हुन्छ । होइन, राजनीतिका लागि हो भने यो तर्कले काम गर्दैन । राजनीतिका लागि अति-युवा वा अति-वृद्ध, दुवै उमेर हानिकारक हुन्छ ।

राजनीति भनेको नीतिहरूको पनि मूल नीति हो । जसले पूरै राज्यको नेतृत्व गर्दछ । राजनीति बिग्रने बित्तिकै एक/दुई जना होइन, पूरै समाजले दुःख पाउँछ । त्यसैले राजनीतिमा आउने पात्रको जीवनका अनेक पक्षमा ध्यान दिन जरूरी हुन्छ, जसमा उमेरको कुरा पनि महत्वपूर्ण हुन्छ ।

अति-युवालाई राजनीतिमा ल्यायो भने के हुन्छ ? यो विषयमा संभवतः सबै एकमत होलान् । नवयुवामा परिपक्वता हुँदैन । अध्ययन गर्ने उमेरमा सक्रिय राजनीति गर्नुहुँदैन, आदि ।

तर अति-वृद्धलाई राजनीतिमा रहिरहन दियो भने के हुन्छ ? यो प्रश्नमा भने प्रायः मानिसहरू गहिरो गरी सोच्न नै चाहँदैनन् । राजनीतिमा कति उमेरलाई अति-वृद्ध मान्ने ? यो प्रश्नमा पनि एकमत हुँदैन ।

स्थूल दृष्टिकोण

न्यूनतम उमेरहदको व्यवस्था नहुँदा यहाँ किशोरावस्थाका विद्यार्थीलाई अनावश्यक दलीयकरण गर्ने होडबाजी मौलाएको छ । स्कुल र कलेजहरूमा दलहरूका स्वार्थको खिचातानीले शैक्षिक क्षेत्र अस्तव्यस्त भइरहेको छ ।

अधिकतम उमेरहदको व्यवस्था नहुँदा तत्काल यसले राजनीतिक प्रणालीमा असर पारेको छ । जसको भुक्तभोगी हामी आफैं हौं । अधिकतम उमेरहदको व्यवस्था नभएकै कारण विगत तीन दशकदेखि एकै खालका पात्र दलमा र सरकारमा हावी भएका छन् ।

उनीहरूको वर्चस्व यति बलियो छ कि कुनै युवा पार्टीभित्र उनीहरू विरुद्ध निर्णायक कदम उठाउन तयार छैन । बरु उनीहरूको मृत्युको मिति कुरेर बसेका छन् । ‘यिनीहरूको शेखपछि जे गर्नुपर्छ गरौंला, अहिलेलाई जोखिम नमोलौं’ भन्दै लाचार र लम्पट भएर बसिरहेका छन् ।

जब व्यक्तिलाई अति-वृद्ध उमेरसम्म पार्टीभित्र चलखेल गर्न छुट हुन्छ, तब ज्येष्ठताको कारण उसको वरिपरि एकखालको वर्चस्व बन्दो रहेछ । यदि त्यस्तो नेता नरम र उदार रहेछ भने त समस्या भएन । अहंकारी र दम्भी रहेछ भने उसले त्यो शक्ति -वर्चस्व) को दुरुपयोग गर्ने रहेछ । मातहतका सबैलाई आफ्नो अहंकारको दास बनाउने रहेछ ।

केही समय अघिका ओली र देउवाका अभिव्यक्ति हेरौं । उनीहरू लगभग एउटै भाषामा भन्दै थिए, पटक-पटक पार्टी र सरकारको नेतृत्वमा पुग्नु मेरो विशिष्ट क्षमता हो । युवाले मभन्दा क्षमतावान भएर देखाउनु पर्‍यो ।

वास्तविक कुरा गर्ने हो भने, ओली र देउवा जस्ता पात्र पटक-पटक शक्तिमा आउनु उनीहरूको विशिष्ट क्षमता होइन । यो त ज्येष्ठताले पैदा गरेको शक्ति -वर्चस्व) को दुरुपयोग हो । यो त उनीहरूको लोभ, मोह र अहंकार हो ।

उनीहरूको यही कमजोरीले देशको राजनीतिक प्रणाली विकृत भएको छ । लोकतन्त्रका नाममा सिण्डिकेट चलेको छ । पूरै राज्यमा नातावाद-कृपावाद मौलाएको छ । पार्टीभित्रै टिकटको किनबेच चलिरहेको छ । नेता-तस्कर साँठगाँठ बलियो भएको छ । मुलुक ‘सेटिङ-राज्य’ मा बदलिएको छ ।

सारा विकृतिको मूल जरो खोज्दै जाँदा पार्टीका तिनै वयोवृद्ध नेतासम्म पुग्छ । मानिसहरू यस्ता नेताप्रति पूरै रुष्ट छन् । कतिपयले गणतन्त्र र संघीयता नै खराब रहेछ भन्न थालिसके । तर हालत यस्तो छ कि दलका मानिसहरू यस्तै वयोवृद्ध नेताकै वरिपरि चक्कर लगाइरहेका छन् । यस्तै पात्रले चुनाव जितिरहेका छन् । उनीहरूका विरुद्ध खबरदारी गर्न कोही तयार छैन ।

ज्येष्ठताको कारण पैदा हुने वर्चस्वले मानिसलाई यसरी दास बनाउँदो रहेछ । जसले पूरै राजनीतिक प्रणालीलाई निकम्मा बनाइदिने रहेछ । मुलुकलाई भ्रष्टाचार, कमिसनखोरी, नातावाद, दण्डहीनता, अविकास, रुढिवाद र पछौटेपनाले घेर्ने रहेछ । अन्ततः यसले मुलुकलाई नै घात गर्दोरहेछ ।

निश्चय नै वयोवृद्ध नेताले मुलुकलाई योगदान दिएका छन् । उनीहरूको संघर्षमय इतिहास सबैका लागि सम्मानयोग्य छ । तर त्यो त्यतिबेला मात्र सम्माननीय रहिरहन्छ, जतिबेला उनीहरूले आफ्नो वर्चस्वलाई लोभ, मोह र अहंकारमा रूपान्तरण गर्न छोड्छन् । जतिबेला सत्ताभन्दा पर रहेर युवालाई आफ्ना अनुभव सुनाउन तयार हुन्छन् । जतिबेला आफ्नो दलभित्र नेतृत्व विकासको चिन्ता गर्न थाल्छन् ।

तर उनीहरूको चाला त यसको ठीक विपरीत छ । उनीहरू ‘म विना यो मुलुकै चल्दैन’ भनिरहेका छन् । हात-खुट्टा चलुञ्जेल सत्ताभोग बाहेक अरू सोचेकै छैनन् । आफ्ना दलमा भएका उमेरहदका छिटपुट व्यवस्था पनि खारेज गर्दैछन् । विगतमा संविधान पनि आफू अनुकूलको बनाए । जसमा उमेरहद बारे व्यवस्था नै गरिएन । आज त्यसैमा टेकेर पूरै मुलुकलाई बन्दी बनाइरहेका छन् ।

यसले तत्काल नेतृत्व विकासमा बाधा पैदा गरेको छ । चौतर्फी नेतृत्वको संकट देखापरेको छ । यही कारण सम्मान पाउनुपर्ने उमेरमा वयोवृद्ध नेतामाथि चर्को आलोचना भइरहेको छ ।

सूक्ष्म दृष्टिकोण

राजनीति भनेको सांसारिक कर्म नै हो । यसको अर्थ व्यक्तिले राजनीतिमा संलग्न हुने उमेर २५ देखि ५० वर्षसम्म मात्र हो । अघिल्लो २५ वर्ष तयारीको समय हो । यो उमेरमा राजनीतिको प्राज्ञिक अध्ययन गर्नु उचित हुन्छ । सक्रिय राजनीतिमा आउनु उचित हुन्न

आधुनिक मनोविज्ञानले हिजोआज रोचक कुरा गर्न थालेको छ । यसले भन्छ, शरीर मर्छ, जीवन मर्दैन । शरीर विघटन हुनु जीवन नै समाप्त हुनु होइन । जीवन ‘स्थानीय तत्व’ होइन, ‘ब्रहृमाण्डीय इकाइ’ हो । ब्रहृमाण्डीय स्तरमा जीवन निरन्तर रहिरहन्छ । त्यसकारण मानिसले सांसारिक कर्म गर्नु मात्र पर्याप्त हुन्न । मृत्यु गुणस्तरीय बनाउने बारे पनि सोच्नुपर्दछ ।

यस्ता मूल्यमान्यताबारे विगतमा योगीहरूले कुरा गर्दथे । जसमा चार आश्रमका कुरा आउँथे । सुरुवातको २५ वर्ष ब्रहृमचर्य र दोस्रो २५ वर्ष गृहस्थ उमेर मानिन्थ्यो । ५० वर्षदेखि उता जीविकोपार्जन बाहेकका सांसारिक महत्वाकांक्षा परित्याग गर्नुपर्ने, मृत्यु चिन्तनमा केन्द्रित हुनुपर्ने, क्रमशः वानप्रस्थ र सन्यास वृत्तिमा जिउनुपर्ने कुरा गरिन्थ्यो ।

प्रकारान्तरले यही मूल्य-मान्यता आज मनोविद्हरूले पनि स्वीकार गरिरहेका छन् । तर राजनीतिकर्मीहरूले आजसम्म यो मूल्यमान्यतालाई स्वीकार गरेका छैनन् ।

विगत तीन सय वर्षयताको यान्त्रिक चिन्तनले विश्वभरका मानिसलाई भौतिकवादी बन्न सिकायो । यसले भन्यो, जन्म र मृत्यु बीचको समय नै जीवन हो । भौतिक सुख -धन सुख, पद सुख र शरीर सुख) नै मानिसको जीवनको लक्ष्य हो । जीवन छउञ्जेल जति सकिन्छ, भौतिक सुख भोग गर । त्यही जीवनको पुरुषार्थ हो ।

त्यसयता मानिसले भौतिकता बाहेक अरू केही देखेको छैन । हाम्रा नेता यस्तै मूल्यमान्यताबाट हुर्किएका छन् । संविधान मार्फत हाम्रो राजनीतिमा यही मूल्यमान्यता प्रकट भएको छ । जसले राजनीतिकर्मीलाई जीवनको अन्तिम घडीसम्म शक्तिको लालसामा दौड्न प्रोत्साहित गरिरहेको छ ।

जुन समाजमा मानिसहरू जीवनको उत्तरार्धमा पनि सांसारिक छिनाझपटीमै घिस्रिइरहन्छन्, त्यो समाजमा वृद्धबाट युवाले सिक्ने चिज केही पनि बाँकी रहँदैन । जुन समाजमा व्यक्तिलाई ५० वर्षपछि पनि राजनीतिक पद भोग गर्न मौका दिइन्छ, त्यहाँ नवप्रतिभाहरू कुण्ठित हुन्छन् । समाज ‘जमेको पोखरी’ मा रूपान्तरण हुन्छ ।

जुन समाजमा व्यक्तिको आवश्यकता र इच्छा (महत्वाकांक्षा) बीच भेद गरिंदैन, त्यो समाजमा व्यक्ति थाहै नपाई लोभ-लालच र अहंकारका कारण पागल भइसकेको हुन्छ । जसका कारण व्यक्ति-व्यक्ति बीचको सम्बन्ध कमजोर हुन्छ । अन्ततः त्यस्तो समाजमा वैयक्तिक स्वास्थ्य रुग्ण हुन्छ ।

कालक्रममा व्यक्तिमा पैदा भएको त्यही लोभ-लालचको भूत नै राज्यमा सवार हुन्छ । तब पूरै विश्व नै युद्ध, अतिवाद, अपराध, विभेद र तथाकथित ‘असीमित आर्थिक वृद्धि’ को होडबाजीमा पागल बन्छ । जसको परिणाम पूरै समाजको स्वास्थ्य रुग्ण हुन्छ । आज हाम्रा नेता, हाम्रो मुलुक र पूरै विश्वमा भएको नै यही हो ।

यो संसारमा मानिस मात्र यस्तो प्राणी होÙ जो काम, क्रोध, लोभ, मोह र अहंकारले बाँधिएको हुन्छ । यो मानिसको रोग हो । तर मानिस यो रोगको बन्धनबाट छुट्नै चाहँदैन । हाम्रो संविधान र कानुनले मानिसको यो कमजोरी देखेको छैन । यसकारण हाम्रो संविधान तथाकथित समाजवादको कुरा गर्छ तर राजनीतिकर्मीको उमेरहदको व्यवस्था गर्दैन ।

विकल्प

हाम्रो संविधान र कानुन मानिसको कमजोरीलाई अंकुश लगाउनेतर्फ केन्द्रित भएको हुनुपर्दछ । ऋषिहरूको चार आश्रमको व्यवस्था यस्तै अंकुश हो । जसले मानिसको पूरै जीवनलाई सुनिश्चित दिशामा हिंडाउन मद्दत गर्दछ । जुन आजको ‘आधुनिक समाज’ का लागि पनि सान्दर्भिक देखिन्छ ।

राजनीति भनेको सांसारिक कर्म नै हो । यसको अर्थ व्यक्तिले राजनीतिमा संलग्न हुने उमेर २५ देखि ५० वर्षसम्म मात्र हो । अघिल्लो २५ वर्ष तयारीको समय हो । यो उमेरमा राजनीतिको प्राज्ञिक अध्ययन गर्नु उचित हुन्छ । सक्रिय राजनीतिमा आउनु उचित हुन्न ।

५० वर्षपछिको उमेर नयाँ पुस्ताका लागि सल्लाह-सुझाव दिने हो । यो उमेरमा हरेक व्यक्ति दलको कार्यकारी र राजकीय पद दुवैबाट मुक्त हुनुपर्दछ ।

यो मूल्यमान्यता अब हाम्रो संविधान र राजनीतिमा पनि अभिव्यक्त हुनुपर्दछ । यसका लागि ‘बहुदल-एक विधान’को संवैधानिक व्यवस्था गर्नु जरूरी हुन्छ । २५ वर्ष उमेर पुगेपछि मात्र दलको सदस्यता लिन मिल्ने र ५० वर्ष पुगेपछि स्वतः दलको कार्यकारी पद र राजकीय पदमा उम्मेदवार बन्न अयोग्य हुने संवैधानिक व्यवस्था गर्नुपर्दछ । राजनीतिलाई वैकल्पिक बनाउने एउटा प्रमुख उपाय यही हो ।

निश्चय नै उमेरहद तोक्दैमा सबै समस्या हल हुँदैनन् । समग्र प्रणालीमा सुधार ल्याउन दर्शन र विचारधाराको क्षेत्रमा नै काम गर्नुपर्ने हुन्छ । यद्यपि राजनीतिकर्मीको उमेरहद मात्रले पनि समाजमा देहायका गुणात्मक बदलाव ल्याउन सक्छ ।

पहिलो, दलभित्र ज्येष्ठताको वर्चस्व बन्न पाउँदैन ।

दोस्रो, दलहरू ‘जमेको पोखरी’ बाट ‘गतिशील नदी’ मा फेरिन्छन् ।

तेस्रो, शासनसत्तामा नयाँ-नयाँ प्रतिभाहरू आउने-जाने प्रणाली तयार हुन्छ ।

चौथो, समाजमा गतिशीलता पैदा हुन्छ ।

पाँचौं, राजनीतिकर्मी भित्र लोभ र अहंकारले संस्थागत रूप धारण गर्न पाउँदैन ।  मोहन तिम्सिना

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap