आम्दानीको स्रोत बन्दै ‘अटोरिक्सा


लेखक : सुन्दराञ्चल      बैशाख १७, २०८१ मा प्रकाशित     
आम्दानीको स्रोत बन्दै ‘अटोरिक्सा

बैशाख १७, बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो । अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक बताउँछन् ।कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीका ज्ञानबहादुर विकले अटोरिक्सा चलाएर मासिक ४५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । रोजगारीका लागि तीन वर्ष माल्दिभ्स बसेर घर फर्किएर अटो व्यवसायमा लागेका विक आफ्नो कमाइमा निकै सन्तुष्ट छन् ।

चार वर्षअघि रु तीन लाख २० हजारमा किस्तामा विद्युतीय अटो रिक्सा किनेका विकले १८ महिनामा किस्ता पूरा गरेको बताए । ‘सुरुसुरुमा अटो रिक्सा कमै थिए, दैनिक रु तीन हजार पाँच सयसम्म पनि कमाइ हुन्थ्यो, सहजै किस्ता पनि तिरेँ’, उनले भने, ‘अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, सात जनाको परिवार छ, घरखर्च छोराछोरीको पढाइलेखाइ खर्च यसैबाट चलेको छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।’

सोही ठाउँका स्थानीय नवराज भट्टले अटो रिक्सा चलाएर मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए । उनले विगत छ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको बताए ।

उनले पाँच जनाको परिवारको घर खर्च यसैबाट धानेको बताए । उनले भने, ‘घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नु परेको छैन, यसैमा सन्तुष्ट छु ।’ जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उनको भनाइ छ ।

सोही ठाउँका चन्द्रभान विकले अटोरिक्सा चलाएर मासिक ३० हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । ‘मैले छ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटो चलाउँदै आएको छु’, उनले भने, ‘दैनिक एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुन्छ, खर्च कटाएर दैनिक रु एक हजार बचत हुन्छ ।’

उनका अनुसार बिहानदेखि साँझसम्म चलाउनसके राम्रै आम्दानी हुन्छ । ‘मैले धेरै समय चलाउने गरेको छैन, तैपनि राम्रै आम्दानी हुन्छ’, उनले भने, ‘घरखर्च राम्रै चलेको छ, चार जनाको परिवार छ, सबै खर्च यसैबाट चल्छ, आम्दानीको अर्को स्रोत केही छैन ।’ रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap