आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


लेखक : सुन्दराञ्चल      भदौ २१, २०८० मा प्रकाशित     
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 २१ भदौ ,आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिए ।

आज काठमाडौँ उपत्यकासहित देशका कतिप स्थानमा वर्षा भएको छ । पछिल्लो एक घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिए ।

उनका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा यस वर्ष गत जेठ ३१ गते (जुन १४ तारिख, सन् २०२३) बाट मनसुन प्रवेश गरेको थियो । आगामी असोज १५ गते (अक्टोबर २ तारिख) सम्म मनसुन जारी रहने महाशाखाले जनाएको छ । नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भएपनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap