आखिर किन बोझ बन्छन् बुढापाकाहरु ?


लेखक : सुन्दराञ्चल      कार्तिक २४, २०७९ मा प्रकाशित     
आखिर किन बोझ बन्छन् बुढापाकाहरु ?

कार्तिक २४ काठमाण्डौ ।  हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । वयस्क भयौं । बूढा हुन्छौं । त्यसपछि ?

 हाम्रो देह माटोमा विलय हुन्छ । जीवनको सारा चमक-धमक, इच्छा-आकंक्षा, खुसी-उमंग, दुःख-पीडा, रिस-राग, दम्भ-अहंकार केही पनि बाँकी रहँदैन ।

जतिबेला हामी बच्चा थियौं, हात-पाउ टेकेर हिँड्थ्यौं । बिस्तारै उभिन सिक्यौं । ठिंग उभियौं । र, फेरि क्रमशः हामी कुपि्रँदै गयौं । अन्ततः आफ्नै ज्यान थेग्नका लागि हात-पाउको आड लिनुपर्ने भयो । अर्थात हामी बूढा भयौं ।

यस्तै वृत्तकार जीवन-रेखाबाट हाम्रो जीवन गुज्रिन्छ ।

भगवान बुद्धले भनेका छन्, ‘जन्म, जरा (बुढ्यौली) र मृत्यु मानिसका दुःख हुन् ।’

र, हरेक मानिस दुःखको यो भवचक्रबाट गुज्रनैपर्छ ।

अहिले तपाईं कति वर्ष पुग्नुभयो ? २२ ? होइन २८ ? ३२ वर्ष ? आखिर यो हिसाब-किताब दिनदिनै बढ्दै जाने हो । हिजो २० वर्षको लक्का जवान हुनुहुन्थ्यो । आज गृहस्थीमा फसिसक्नुभएको छ । भोलि बूढो हुनुहुन्छ ।

बूढापाकासँग जीवन भोगाईको खास अनुभव हुन्छ । ति अनुभवहरु हामीले हार्वर्ड वा क्याब्रिज विश्वविद्यालयबाट समेत आर्जन गर्न सक्दैनौं ।

बूढो त आखिर हुनु नै छ ।

त्यसो भए, तपाईं आफ्नो बुढ्यौली कसरी कटाउनुहुन्छ होला ?

यो प्रश्नको जवाफ सम्भवत तपाईंले खोज्नु भएकै थिएन । हामी जीवनको रसरंगमा यति धेरै मग्न हुन्छौं कि, आफ्नो बुढ्यौलीबारे घोत्लिन नै फुर्सद हुँदैन । तर, तपाईंको हजुरबुवा-हजुरआमा, बुवा-आमा, काका-काकी त्यही चरणमा छन्, जो तपाईंले सोच्नु पनि भएको छैन ।

जब शरीरलाई बुढ्यौलीले गाँज्दै लैजान्छ, त्यसबेला तपाईंको दिनचर्या कस्तो हुन्छ होला ? तपाईंको मनोदसा कस्तो हुन्छ होला ? तपाईंको जीवन-भोगाई कस्तो हुन्छ होला ?

जब पुग्छ साठी…

भनाइ नै छ, ‘जब पुग्छ साठी, हातमा लाठी ।’

अर्थात जीवनको यो चरणमा आइपुग्दा हामीसँग आफ्नै शरीर थेग्ने ताकत हुँदैन । आफ्नो ज्यान उठाउनका लागि लठ्ठीको सहारा खोज्छौं । यसो हात समाएर ममतापूर्वक उठाउने नाती-नातिना नहोलान् । श्रद्धापूर्वक कक्रिएको हात-गोडा मुसार्न छोरो-बुहारीलाई फुर्सद नहोला ।

त्यही ओछ्यान, त्यही कोठा, त्यही घर, त्यही कौशी । एकै ठाउँमा मिनेट, घण्टा, दिन र महिनौं-महिना गुजार्नु पर्दो हो । त्यहाँभन्दा पर पुगेर ताजा हावा खान मन लागेर के गर्नु ?

‘बूढो मान्छेलाई कति सकसक लागेको’ भनेर छोरा-बुहारी रिसाउलान् । रिसाएर वृद्धाश्रम पठाइदेलान् । छोरा-बुहारीले भन्लान्, ‘सबैथोक यहीँ ल्याइदिन्छौं, ढुक्कले बस्नू ।’

तर, मन ढुक्क होला र ? भर्खरै गुमाएका आफ्नो जीवनसाथीको झल्को आउँदो हो । बैँसालु उमेरमा एकअर्कासँग छिल्लिदै बसेको यादले सताउँदो हो । साना छोराछोरीलाई काखमा सुताएर ‘एकादेशको कथा’ भनेको सम्झनाले मन कटुक्क खाँदो हो ।

विस्मृत हुँदै गएको यादले मनमा भक्कानो छुट्दो हो । भाँसिएको गहिरो आँखा टिलपिल हुँदो हो ।

यसरी सोच्दा-सोच्दै हातखुट्टा गल्दो हो । यसो मन बहलाउन कौसीसम्म पुगौं भन्ने लाग्दैन र ? तर, बाथले कक्रिएको जोर्नी । जर्‍याक-जुरुक गर्न पनि नमिल्ने । उच्च रक्तचाप, मधुमेह, दमको औषधी ठीक समयमा खान आइपुग्नैपर्ला । अर्कोतिर अल्जाइमरले गाँज्दो हो, न समयको ख्याल हुने । न राखेको कुनै सामानको । औषधी खाइयो, खाइएन भनेर समेत हेक्का रहँदैन सायद ।

पट्यारलाग्दो दैनिकी

बुढ्यौंली, जसलाई हामी सबैले भोग्नैपर्छ ।

ज्येष्ठ नागरिकका क्षेत्रमा काम गरिरहेकी आरती कटुवालको अनुभवमा, ‘हाम्रो जस्तो पारिवारिक संरचनामा बुढ्यौली जीवन पट्यारलाग्दो हुनेगर्छ ।’

पट्यारलाग्दो यसकारण कि, त्यसबेला आफ्ना मनको दुःखसुख बाँड्ने जीवनसाथी नहुन सक्छ । दुःखको कुरा कसलाई सुनाउने ? कसरी मन बहलाउने ?

जति-जति बुढौलीले छोप्दै जान्छ, जीवन एक्लो हुन्छ । चाख मानेर राजनीति वा सिनेमाको गफ गर्ने साथीभाइहरु पातलिन्छन् । हिजो जो आफूसँग बोल्न, खेल्न, ख्यालठट्टा गर्न झ्याम्मिन्थे, उनीहरु नहुँदा हुन् । आफ्ना छोराछोरीसँग भलाकुसारी गर्ने फुर्सद हुँदैन । नाती-नातिनालाई आफ्नो उपस्थिति ‘झ्याउलाग्दो’ लाग्नसक्छ ।

यस्तो अवस्थामा एउटा घरभित्र, अझ भनौं एउटा कोठाभित्र थुनिएर बस्नुपर्दा कति विरक्त लाग्दो हो । ‘पहिले संयुक्त परिवार हुन्थ्यो, घरभरि मान्छे हुन्थे,’ आरती भन्छिन्, ‘अहिले त्यो पनि छैन । धेरैजसोको एकल परिवार छ । कतिपय पढ्न र काम गर्न बिदेशिएका छन् । यस्तो अवस्थामा बूढाबुढी झन् एक्लो भएका छन् ।’

आमाबुबा बूढो भएपछि ‘पाल्नुपर्छ’ भन्ने संस्कार त छ । तर, कसरी पाल्ने भन्ने मानवीय भावना भने हराउँदै गएको आरतीको बुझाइ छ ।

‘बूढाबुढीलाई खान, लाउन दिएर मात्र हुँदैन,’ उनी भन्छिन्, ‘उनीहरुसँग बोल्ने, दुःखसुखको कुरा गर्ने, रमाइलो गर्ने पनि त गर्नुपर्छ । तर, अहिले त्यस्तो चलन देखिँदैन ।’

बूढाबुढीलाई या त घरकै कोठामा बन्द गरिदिने, या त वृद्धाश्रममा लगेर थन्काइदिने, या त सडकमा लगेर छाडिदिने प्रवृत्ति व्यापक छ ।

‘बूढाबुढी भनेपछि त्यसलाई बोझको रुपमा लिने मनोविज्ञान छ । त्यहीकारण बुढ्यौली जीवन पीडादायी बन्दैछ’, आरती भन्छिन् ।

आफ्नै शरीरको बोझ 

यो त्यस्तो चरण हो, जतिबेला आफूले मन लागेको खानेकुरा खान पाइँदैन । गर्न मन लागेको कुरा गर्न सकिँदैन । खाने, लाउने रहर खुम्चिदै जान्छ । जब शरीर जीर्ण र बूढो हुँदै जान्छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । पाचन यन्त्रले राम्ररी काम गर्दैन । मुटु, कलेजो, मिर्गौलाको कार्यक्षमता घट्छ ।

बुढ्यौली जीवन भनेको सबै कुरा निखि्रएको जस्तै अवस्था हो । न त्यसबेला मिठो-मसिनो खाने रहर हुन्छ । न राम्रो लगाउने । न रमझम गर्ने । आफ्नो ऊर्जा, ताकत सबै सकिएपछि, आफ्नै घर-परिवारबाट अपहेलित हुन्छन्, बूढापाकाहरु । उनीहरु ‘आश्रति’ जीवन बाँच्न बाध्य हुन्छन् । कमाई ल्याउनेहरुले हेला गर्छन् । होच्याउँछन् । त्यस्तो बेला उनीहरुको मनमा कति आघात पर्दो हो । बुढ्यौली जीवन स-सम्मान बाँच्न पाउन गाह्रो छ ।

केही समयअघि पर्यावरण सम्बन्धी प्रख्यात । उनी १ सय ४ वर्षका थिए ।  यसरी स्वेच्छिक मृत्यु रोज्नुको एउटै कारण थियो, सम्मानजनक अन्त्य । मृत्युअघि उनले भनेका थिए, ‘मलाई यो उमेरमा पुगेको पछुतो छ । म खुसी छैन ।’

हरेक मानिस स्वभावैले सम्मानजनक जीवन बाँच्न चाहन्छ । तर आफू कमजोर हुँदै गएपछि समाज, परिवारले त्यो सम्मान दिँदैन, जो जवान छँदा दिने गर्थ्यो । बुढ्यौली अवस्थामा ‘न मरिजानु, न गरिखानु’को अवस्थामा पुगिन्छ ।

बूढाबुढीलाई या त घरकै कोठामा बन्द गरिदिने, या त वृद्धाश्रममा लगेर थन्काइदिने, या त सडकमा लगेर छाडिदिने प्रवृत्ति व्यापक रहेको छ ।

को चाहन्छन्, आफ्नो दिसा-पिसाब अरुले सोहोर्नु परोस् । आफ्नो गाँस अरुले ख्वाइदिनु परोस् । आफ्नो ज्यान उठाउन अरुको बल प्रयोग गर्नुपरोस् । तर, नचाहेर पनि हामी त्यही चरणमा पुग्छौं, जतिबेला हामीले चाहेजस्तो केही हुँदैन ।

आरती भन्छिन्, ‘धेरैजसो बूढापाकाहरु अहिले चिन्ताग्रस्त छन् । उनीहरुमा डिप्रेसन छ ।’

शान-शौकत खोसिएपछि

आफ्नो बल, ताकत, पेशा, व्यवसाय, रोजगार, धन, दौलत सबैले पूर्ण हुँदा उनीहरुको आफ्नै शान-शौकत हुन्छ । समाजले उनीहरुलाई ‘गन्यमान्य’ व्यक्तिको दर्जा दिन्छ । सामाजिक प्रतिष्ठा, सम्मान सबै कुरा प्राप्त हुन्छ । आफ्ना ग्राहक, आफ्ना सहकर्मी, आफ्ना कर्मचारी, आफ्ना साझेदार सबैसँग उठबस, ख्यालठट्टा हुन्छ । जीवन रनघन हुन्छ ।

तर, जुन दिन मानिसले आफ्नो जागिरबाट अवकास पाउँछ । उद्यम-व्यवसायबाट विश्राम पाउँछ । ठीक त्यही दिनदेखि उसको वरिपरि झ्याम्मिन आउने सहकर्मी, ग्राहक, कर्मचारी पर-पर हुन्छन् ।

‘अवकास पाएपछि उनीहरुमा पहिलेजस्तो शान-शौकत बाँकी रहँदैन,’ आरती भन्छिन्, ‘उनीहरु एक्लिँदै जान्छन् । त्यसले सबैभन्दा पहिला उनीहरुलाई डिप्रेसनमा पुर्‍याउँछ ।’

अहिले शहरी क्षेत्रका घर-घरमा बूढापाकाहरु डिप्रेसनग्रस्त रहेको उनले बताइन् । पद-प्रतिष्ठामा रहिसेककाहरु अवकासपछि डिमेन्सिया, अल्जाइमर जस्ता रोगका शिकार हुने आरतीको भनाइ छ ।

बूढोको धोक्रो काँधै माथि

 

‘बाह्र छोरा, तेह्र नाती, बूढाको धोक्रो काँधै माथि’ हाम्रो पारिवारिक संरचना र संस्कार कसरी धरासायी हुँदै आएको छ भन्नका लागि यो उखान पर्याप्त छ । बुढ्यौली आफैमा रोग होइन । समस्या होइन । बोझ होइन । यो त प्राकृतिक नियम हो । प्राकृतिक चक्र हो । जन्मिएपछि हरेकले त्यो चरणमा पुग्नैपर्छ । त्यो चरण, जतिबेला हामी सम्पूर्ण रुपमा थाकिसकेका हुन्छौं । गलिसकेका हुन्छौं ।

न कुनै आकांक्षा, न कुनै रहर, न कुनै मोह, न कुनै तृष्णा । जीवनको यो चरणमा मात्र एउटै कुराको आवश्यक हुन्छ, श्रद्धा र सम्मान ।

यो भनेको दया होइन, करुणा होइन । कोही चाहँदैन टिठलाग्दो जीवन व्यतित गर्न । तर, हाम्रो संस्कार कसरी बिगि्रँदै गएको छ भने, बूढापाकाप्रति न हामी सम्मानजनक व्यवहार गर्छौं, न श्रद्धा । बूढापाकालाई अलग कोठामा थन्काउने र उनीहरुमाथि हाम्रो शासन लाद्ने प्रवृत्ति अहिले हावी भएको छ ।

कतिले ‘पाल्नैपर्छ’ भन्ने मानसिकताको कारण औपचारिकता निर्वाह गरिरहेका छन् । कतिले बृद्धाश्रममा लगेर थन्काइदिएका छन् । मानौं, बूढापाकाभित्र ‘निर्जीव मन’ मात्र बाँकी छ । उनीहरुलाई जे-जसरी हुन्छ पाखा लगाउनु पाए पुग्यो । जेसुकै गरेपनि उनीहरुले त्यसमा विद्रोह गर्ने होइन । आनाकानी गर्ने होइन । त्यही कमजोरीको फाइदा उठाएर हामी बूढापाकालाई कुनै संग्रहालयको बस्तु झै थन्काएर राख्ने चेष्टा गर्छौं ।

एउटा कथा छ,

बृद्ध भएका बुवालाई उनको छोरोले डोकोमा बोकेर भिरबाट मिल्काइदिएछन् । घरमा फर्किपछि उनको छोरोले भनेछन्, ‘बुवा, त्यो डोको जतनसाथ राख्नुहोला है ।’

बुबाले सोधेछन्, ‘किन ?’

छोरोले प्रतिप्रश्न गरेछ, ‘हजुरबालाई जस्तै, हजुरलाई भिरमा लाने बेला त्यो डोको चाहिँदैन त ?’

आरती भन्छिन्, ‘अहिले हामीकहाँ यस्तो मानसिकता बनिसकेको छ कि, अब छोराछोरीले हामीलाई पाल्नेवाला छैनन् । किनभने उसले पनि आफ्ना आमाबुवालाई पालेन । त्यहीकारण आफ्ना छोराछोरीले कसरी पाल्छन् भन्ने शंका छ ।’ यही कारण अहिले धेरैजसो दम्पतीले बुढ्यौलीका लागि धन-सम्पति जगेर्ना गर्ने चलन रहेको उनले बताइन् ।

बुढ्यौलीः एक असुरक्षा

हामी जति-जति बुढ्यौलीमा पुग्दै जान्छौं, उत्तिनै असुरक्षित हुँदै जान्छौं । मानसिक तथा भौतिक रुपले हामी कमजोर हुन्छौं ।

बुढ्यौलीमा आवश्यक औषधीपानी, उपचार, खानपान, बसोबासका लागि हामीसँग संचित धन नहुन सक्छ । यस्तो किनपनि हुन्छ भने, छोराछोरी हुर्कनासाथ अंशबन्डा गर्ने चलन छ । छोराछोरीलाई अंश दिइसकेपछि अक्सर बूढाबुढी रित्तिन्छन् । उनीहरुसँग धनदौलत बाँकी रहँदैन ।

आफ्नो ऊर्जा, ताकत सबै सकिएपछि, आफ्नै घर-परिवारबाट अपहेलित हुन्छन्, बूढापाकाहरु । उनीहरु ‘आश्रति’ जीवन बाँच्न बाध्य हुन्छन् ।

यस्तो अवस्थामा बुढ्यौली जीवनमा आर्थिक असुरक्षा जटिल समस्या बन्छ । आफूसँग पुग्दो धन-सम्पति नभएपछि आफ्नो कोखबाट जन्माएका छोराछोरीले समेत हेला गर्न थाल्छन् । आफूलाई पाल्नुपर्ने, छोराछोरीलाई हुर्काउनु-पढाउनुपर्ने परिस्थितिमा बुवा-आमालाई पनि पाल्नुपर्ने कुरा निम्न मध्यम, मध्यमवर्गीय परिवारले बोझ ठान्छन् ।

हाम्रो पारिवारिक संरचनाअनुसार बुवा-आमालाई छोराछोरीले पाल्नुपर्छ । तर, छोराछोरी स्वयंलाई आफ्नो जीवन धान्न धौ-धौ परिरहेको अवस्थामा आमाबुवा थप बोझिलो लाग्ने नै भयो ।

विकसित मुलुकमा जेष्ठ नागरिकको जीवन हामीकहाँ जस्तो कहालीलाग्दो नभएको जानकारहरु बताउँछन् । जेष्ठ नागरिकको पालन-पोषण, औषधी-उपचारदेखि सम्मानजनक जीवनयापनका लागि राज्यले नै समुचित व्यवस्था गरिदिन्छ । यसका लागि नागरिकले पनि राज्यप्रति आफ्नो दायित्व पूरा गरेको हुन्छ ।

बुढ्यौलीमा औषधी सेवन गर्नुपरेमा, उपचार चाहिएमा तुरुन्तै सरकारले उक्त सेवा उपलब्ध गराउँछ । त्यसबाहेक आरामदायक जीवनयापनका लागि समेत उचित व्यवस्था गरिदिन्छ ।

अनुदार राज्य

एक पर्यटन व्यवसायी भन्थे, ‘जीवनभर मैले जे-जति काम गर्छु, गरेको छु त्यसबाट राज्यले प्रत्यक्ष फाइदा लिन्छ । मैले आफ्नो बुद्धि, विवेक, बल, शक्ति, समय खर्च गरेर जे जस्तो उद्यम व्यवसाय गर्छु, त्यसको केही हिस्सा राज्यले प्राप्त गर्छ । मैले यहाँ उपभोग गर्ने सलाइदेखि गाडीसम्मबाट पनि राज्य लाभान्वित हुन्छ । तर, जब म बूढो हुन्छु, मप्रति राज्य कत्तिपनि जिम्मेवार हुँदैन । जबकी विकसित राज्यमा हरेक नागरिकको आर्थिक, सामाजिक सुरक्षामा राज्य जिम्मेवार र वफादार हुन्छ । त्यही कारण ति देशहरुमा कर छली गर्न मनले मान्दैन । किनभने त्यो अन्ततः आफ्नै लागि हो भन्ने बोध हरेक नागरिकमा छ ।’

विकसित मुलुकमा जेष्ठ नागरिकको सुरक्षा एवं संरक्षण मात्र होइन, थुप्रै छुट र सुविधा पनि उपलब्ध गराएको पाइन्छ । तर, हामीकहाँ जेष्ठ नागरिक अपमानजनक जीवन बाँचिरहेका छन् । सार्वजनिक स्थानमा बूढाबुढीमाथि भेदभाव हुने, तिरस्कार गर्ने, शारीरिक उत्पीडन दिने घटना पनि सतहमा देखिन्छन् ।

जेष्ठ नागरिकका हकमा राज्यको प्रत्यक्ष उत्तरदायित्व भनेको वृद्धभत्ता हो, जो मासिक दुई हजार दिइन्छ । दुई हजारले अहिले सामान्य औषधीसमेत खान पुग्दैन । यो दुई हजार रुपैयाँ भत्ता पाउनका लागि पनि ५६ वर्ष पूरा गर्नुपर्छ । जबकी नेपालीको औसत आयु ७१ वर्ष छ । झट्ट हेर्दा यो ‘मर्ने बेला हरियो काँक्रो’ भनेजस्तै मात्र छ ।

कुरा सुन्नु बूढाको

‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको’

अक्सर नाती-नातिना आफ्ना हजुरबा, हजुरआमासँग झ्याम्मिने गर्छन् । उनीहरुको काखमा बसेर ‘एकादेशको कथा’ सुन्न लालायित हुन्छन् । उनीहरुको ममतामयी स्पर्शमा फुरुङ्ग हुन्छन् ।

बूढापाका भनेको घरका शोभा हुन् । सौन्दर्य हुन् । खजना हुन् । उनीहरुले बाँचेको युग, समाज, संस्कार हाम्रो लागि प्रेरणाको स्रोत बन्न सक्छ । बूढापाकाहरु आफैमा एउटा कालखण्डको जिउँदा साक्षी हुन् ।

बूढापाकासँग जीवन भोगाइको खास अनुभव हुन्छ । ति अनुभवहरु हामीले हार्वर्ड वा क्याबि्रज विश्वविद्यालयबाट समेत आर्जन गर्न सक्दैनौं । बूढापाका यस्तो आँखीझ्याल पनि हो, जहाँबाट हामी जीवन र जगतलाई हेर्न, बुझ्न सक्छौं ।

सामान्य रुघाखोकी लाग्दा घरेलु औषधी कसरी बनाउने भन्नेदेखि जीवनका असफलताहरुसँग कसरी जुध्ने भन्नेसम्मको ज्ञान र अनुभव उनीहरुसँग सुरक्षित हुन्छ । तर, यति अनमोल बूढापाका हामीलाई ‘घाँडो’ लाग्छ । किनभने, आज हामी भ्रष्ट संस्कारको शिकार भइरहेका छौं । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap