मंसिर १६ गते उपनिर्वाचनमा . बाजुरामा सुरक्षा व्यवस्था कडा


लेखक : सुन्दराञ्चल      मंसिर १२, २०८१ मा प्रकाशित     
मंसिर १६ गते उपनिर्वाचनमा . बाजुरामा सुरक्षा व्यवस्था कडा

धनगढी: मंसिर १२,  सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकेको जानकारी दिए । ‘‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा कर्मचारी खटाउनुहुन्छ,’’ उनले भने, ‘‘सोही राति १२ बजेदेखि मौन अवधि पनि सुरु हुन्छ ।’’ निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न पाइँदैन । पाँच वटा वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ ।

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ । त्यहाँ नेपाल प्रहरीले शान्ति सुरक्षाको कडा व्यवस्था गरेको जनाएको छ । एसपीको नेतृत्वमा एक सय ३५ जना सुरक्षाकर्मी मतदान स्थलमा खटाइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap