माघ ३, : धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका खाद्य पदार्थ विक्री वितरण गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउने उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रहरी फिल्डमा उत्रिएको छ । नगर प्रहरीले आज मंगलबार माघ २ गतेदेखि सो निर्णय कार्यान्वयन गर्न बजार अनुगमन थालेको हो ।
अनुगमनका क्रममा नियम विपरित खाद्य पदार्थ विक्री गर्ने पसल, होटेल तथा ठेलामा सुर्ती जन्यपदार्थ भेटिएमा नियन्त्रणमा लिई उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रहरी एक्सनमा उत्रिएको हो ।
उपमहानगरपालिकाले गत पुष १७ गते एक सुचना जारी गर्दै माघ १ गतेदेखि धनगढी उपमहानगरपालिका भित्रका खाद्य पदार्थ विक्रि वितरण गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीमा रोक लगाउने जनाएको थियो । नगर प्रहरीले पहिलो चरणमा खाद्य पदार्थ विक्री गर्ने किराना पसल,होटेल तथा होलसेल पसलहरुमा अनुगमन गरि भेटिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई सम्झाइ बुझाई गर्ने गरि सन्देश मुलक अनुगमन गरेको जनाएको छ ।
आज धनगढीको ६ लेन सडक खण्डको मिलन चोकदेखि सहिद गेटसम्म गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ । किराना पसल, होलसेल पसल तथा होटेलबाट चुरोट, गुट्खा, सुर्ती लगायतका प्रतिबन्धित पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ । पहिलो पटकको अनुगमनमा सामान नियन्त्रणमा लिने र व्यापारीलाई सम्झाउने तर अर्को पटकको अनुगमनमा भेटिएमा नियम अनुसार कारबाही गरिने जनाइएको छ । यस अघि उपमहानगरपालिकाले स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनु पर्ने र सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ विक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरण गर्न बन्देज लगाइने उल्लेख भएबमोजिम माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विक्री गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।