३ देखि ८ हजार कमाउँछन् विद्यार्थी स्कुलमा पढ्दापढ्दै


लेखक : सुन्दराञ्चल      भदौ २३, २०८० मा प्रकाशित     
३ देखि ८ हजार कमाउँछन् विद्यार्थी स्कुलमा पढ्दापढ्दै

  २३ भदौ, । जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त हुन्छन् । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् ।

चेपाङ विसं २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग बसोबास गर्दै आएका छन् । अध्ययनका लागि असहज बन्दै गएको त्यो दिन सम्झदै चेपाङ भन्छन्, ‘पहिले घरबाट खर्चको जोहो गर्न कठिन थियो । अहिले त विद्यालयको कार्यक्रममा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु ।’

विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उनको भनाइ छ । उनले भने, ‘पढाइसँगै कामअनुसार मासिक तीन हजार हाराहारी कमाउने गरेको छु ।’ अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउन सक्ने उनले बताए ।

एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइलाई बिट मार्न लागेका स्थानीय राजेश महतो अहिले यस कार्यक्रममा जोडिएसँगै अध्ययनलाई निरन्तरता दिन थालेका छन् । कक्षा ११ मा अध्ययनरत उनी विद्यालयमा नै बसेर पढ्दै कमाउँदै कार्यक्रममा सहभागी भएर महिनाको आठ हजार कमाउने बताउँछन् ।

उनले भने, ‘पढ्न पाइँदैन कि भन्ने थियो । अब कक्षा १२ सम्म अध्ययनका लागि सहज भएको छ ।’ आफूले कमाएर घरपरिवारलाई समेत दिने गरेको उनले बताए । ‘यहाँ गरेको दुःख भविष्यका लागि सहज बन्नेछ भन्नेमा विश्वस्त छु’, उनले भने ।

समूहमा रहेका साथीहरूले विद्यालय समयमा मात्रै काम गर्ने भएकाले त्यो कामको रेखदेख गर्न उनी विद्यालयमा नै बस्ने गरेका छन् । विद्यालयले यी समूहमा रहेका विद्यार्थीबाट १२ कट्ठा जग्गामा धान रोपाइँ गरेको छ । तरकारीखेती समेत गर्दै आएको छ । यस्तै ३० जना विद्यार्थीले बाख्राको पाठा घरमा लगेर पालेका छन् भने चार सय वटा हाँस बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।

सोही कार्यक्रममा सहभागी कक्षा ११ की सञ्जिता लामिछाने घरमा खासै काम गर्ने बानी नपरे पनि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि घरमा समेत काम गर्ने बानी परेको बताउँछिन् । अध्ययनका लागि परिवारसँग पैसा माग्दा हुने समस्या अहिले नरहेको उनको भनाइ छ ।

उनी अहिले विद्यालयमा साथीहरूसँग काम गर्दा छुट्टै महसुस हुने गरेको सुनाउँछिन् । अहिले पढाइका लागि परिवारसँग खर्च माग्नु नपरेको भन्दै उनले भनिन्, ‘अब कृषि कर्म गरेर खान सक्छु भन्ने आँट यस कार्यक्रमले दिएको छ ।’

आर्थिक वर्ष २०७८/८९ सालदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी पढ्दै कमाउँदै कार्यक्रममा लागू भएसँगै यस विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका विद्यार्थीलाई अध्ययनका लागि टेवा पुगेको छ । विद्यालयले तीन वटा समूह बनाएर यस कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । तीन वटा समूहमार्फत एक सय ३० जना विद्यार्थीलाई परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयले बाख्रापालन, हाँसपालन, फलफूल, तरकारीखेती तथा खाद्यान्नबालीका लागि समूह विभाजन गरी काम गरिएको कार्यक्रमकी सम्पर्क व्यक्ति एवं विद्यालयकी शिक्षिका टीका खत्रीले जानकारी दिइन् ।

अहिले यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक रु तीन हजारदेखि ८ हजारसम्म कमाउने गरेको उनले बताइन् । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उनको भनाइ छ । शिक्षिका खत्रीले भनिन्, ‘विद्यार्थीलाई श्रमप्रति माया जगाउनका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ ।’

विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीले विपन्न वर्गका विद्यार्थीलाई अध्ययनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताए । उनका अनुसार विद्यालयले उत्पादित सामग्री बिक्री वितरण गरिदिने गरेको छ । तरकारी र खाद्यान्नजस्ता वस्तु स्थानीय बजारमा समेत बिक्री भइरहेको उनको भनाइ छ । उनले भने, ‘यस कार्यक्रममा जोडिएका विद्यार्थी पढाइमा समेत लगनशील बन्न थालेका छन् ।’

जिल्लामा हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी तीन वटा विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस कार्यक्रमका लागि गत दुई आवमा केन्द्रले विद्यालयलाई प्रतिवर्ष १०/१० लाख रुपैयाँका दरले सहयोग गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap