नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजार गर्मायो । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ ।
यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो ।
महंगो पारिश्रमिकबारे करिना भन्छिन्–‘केही बर्ष अगाडिसम्म पुरुष र महिला कलाकारविच पारिश्रमिकमा देखिएको भिन्नताको बिषयमा कसैले पनि आवाज उठाएको पाइदैनथ्यो । तर, अहिले परिस्थिती बदलिएको छ । यो बिषयमा बहस हुन थालेको छ । मैले मेकर्सलाई म के चाहन्छु भन्ने कुरा पहिले नै स्पष्ट पार्नुपर्ने हुन्छ । यो महिलाहरु प्रतिको सम्मानको बिषय पनि हो ।’
मिडियाका अनुसार, यो भूमिकाका लागि करिनाले ८ देखि १० महिना वर्कशप गर्नुपर्ने हुन्छ । यो करिनाको करिअरकै सबैभन्दा ठूलो चलचित्र रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड नायिकाहरु तापसी पन्नु, प्रियामणी लगायतले समर्थन समेत गरेका थिए ।
करिनाले ‘सीता’ चलचित्रमा काम गरेका खण्डमा हिन्दु धर्म र सीता माथि नै अपमान हुने भन्दै कतिपय सामाजिक प्रयोगकर्ताले विरोध जनाएका थिए । करिना चलचित्र ‘लाल सिंह चड्डा’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा उनी नायक आमिर खानसँग देखिनेछिन् ।