११ वर्षपछि फरदीन खानको कमब्याक


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
११ वर्षपछि फरदीन खानको कमब्याक
अभिनेता फिरोज खानका छोरा फरदीन खान ११ वर्षपछि फिल्ममा फर्किने भएका छन् । उनको नयाँ फिल्मको घोषणा भएको छ । एक समय फिल्ममा भ्याइनभ्याइ हुने गरेका उनी जबरजस्त ट्रान्सफर्मेशन र फिटनेसपछि बलिउडमा पुनरागमन गर्न लागेका हुन् । मंगलवार सञ्जय गुप्ताले नयाँ फिल्म ‘विस्फोट’ को घोषणा गरेका छन्, जसमा फरदीनसँगै रितेश देशमुखको अभिनय रहनेछ ।
‘विस्फोट’ २०१२ मा प्रदर्शन भएको भेनेजुएलाको फिल्म ‘रक, पेपर, सिजर’ को हिन्दी रिमेक हो । फिल्मको बारेमा निर्माता गुप्ताले भनेका छन्, ‘म निकै खुसी छु कि रितेश देशमुख र फरदीन खान स्पेशल प्रोजेक्टमा एकसाथ आउँदैछन् । मैले र मेरो टिमले हाम्रो हरेक प्रोजेक्टलाई महत्त्वपूर्ण बनाउन निकै मिहिनेत गरेको छ । ‘विस्फोट’ को यस वर्षको अन्तिम महिनामा छायांकन सुरु हुनेछ ।’
फरदीन खान पछिल्लो पटक सन् २०१० मा रिलिज भएको फिल्म ‘दुल्हा मिल गया’ मा देखिएका थिए । यसपछि कुनै फिल्ममा नदेखिएका उनी ११ वर्षपछि कमब्याक गर्न निकै उत्साहित छन् । फिल्मबाट टाढा भएपछि उनको वजन निकै बढेको थियो । जब उनले फिल्ममा कमब्याक गर्ने सोच बनाए तब ६ महिनामा १८ केजी तौल घटाएका थिए । त्यसअघि उनको तौल सय केजी थियो ।
फिल्म ‘प्रेम अग्नि’ बाट आफ्नो करिअरको सुरुवात गरेका फरदीनले यो फिल्मबाट फिल्मफेयर बेस्ट डेब्यू एक्टरको अवार्ड जितेका थिए । यसपछि राम गोपाल वर्माको फिल्म ‘जंगल’ मा उनको अभिनयको निकै प्रशंसा भएको थियो । तर, सन् २००१ मा उनी कोकीन सेवन गरेको र लागूऔषध सामाग्री राखेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि उनको करिअर अस्तव्यस्त बन्यो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap