होटल उद्योगको संरक्षण गर्न अर्थमन्त्रीसँग व्यवसायीको अनुरोध


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
होटल उद्योगको संरक्षण गर्न अर्थमन्त्रीसँग व्यवसायीको अनुरोध

१६ भदौ, काठमाडौं । कोरोना महमारीका कारण संकटमा रहेको होटल उद्योगलाई राज्यको संरक्षण आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणासहितको टोलीले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै यस्तो आग्रह गरेको हो । होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न व्यवसायीले अर्थमन्त्रीसँग अनुरोध गरे ।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् । उनले होटल उद्योगमा खरबौंको लगानी रहेको बताइन् । हजारौं रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको उनले बताइन् । आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषय र मौद्रिक नीतिले सम्बोधन गरेका विषय समेत कार्यान्वयनमा लैजान उनले ध्यानाकर्षण गराएकी छिन् ।

होटेल व्यवसायीले होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउन समेत माग गरेका छन् । होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गर्न समेत उद्योगीले माग गरेका छन् ।

सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तीमा १ वर्षसम्म निरन्तरता दिन समेत व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका छन् । यो समयमा होटलको तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्य लगायतका आपतकालीन सेवा लिनबाट बञ्चित नहुने गरी व्यवस्था गरिदिन समेत माग गरिएको छ ।

मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु होटल तथा पर्यटन उद्योगमा सहज र सरल रुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिन व्यवसायीको माग छ । होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू गरिनुपर्ने माग समेत व्यवसायीको छ ।

यो समयमा अधिकांश होटल पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्नेसमेत माग गरिएको छ ।

पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि व्यवसायीको माग छ ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले कोभिड १९ बाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap