स्मार्टफोन बुढेसकालको साथी


लेखक : सुन्दराञ्चल      अशोज १३, २०८० मा प्रकाशित     
स्मार्टफोन बुढेसकालको साथी

आश्विन १३,  कामको खोजीमा अधिकांश जिल्लावासी भारत छिर्ने गर्छन् । मंगलसेन नगरपालिका–५ की चन्द्रा विकका दुई छोरी पनि भारत नै गएका छन् । ६८ वर्षको उमेरमा यतिबेला उनी घरमा एक्लै जस्तै छिन् । कुरा गर्ने साथी पनि नभएपछि उनले दुई महिनाअघि मात्रै एउटा स्मार्टफोन किनिन्, सामाजिक सुरक्षा भत्ताबापत पाएको रकम जुगाड गरेर । त्यसअघि उनीसँग कुरा गर्न मात्र मिल्ने सामान्य मोबाइल थियो । स्मार्टफोन चलाउँदै अछाम मंगलसेन–५ की ६८ वर्षीया चन्द्रा विक । तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर

‘कुरा मात्र गर्न मिल्ने सानो मोबाइल त पाँच वर्षअघिदेखि नै चलाउँथे । त्यसले मात्रै धीत मरेन,’ चन्द्राले भनिन्, ‘छोराछोरी, बुहारी, नातिनातिना सबै आफ्नै काममा व्यस्त हुन्छन् । आफू एक्लै हुँदा कहाँ जाने, कसो गर्ने हुन थाल्यो । अनि यो मोबाइल किनेँ ।’

अचेल उनी भारतमा भएका दुवै छोरीसँग भिडियो कल गर्छिन् र न्यास्रो मेट्छिन् । मजदुरीका लागि छोराछोरी विदेशिन बाध्य भएपछि घर रुँघेर बस्ने वृद्धवृद्धालाई यतिबेला आफ्नै गाउँघर बिरानो बन्दै गएको छ । ‘जति बुढेसकाल लाग्यो, त्यति नै एक्लो महसुस हुने रहेछ,’ चन्द्रा दुखेसो पोख्दै भन्छिन्, ‘एक्लो भएका बेला मोबाइल हेर्ने, छोराछोरीलाई भिडियो कल गर्ने गरेर समय काट्छु ।’

अचेल मोबाइल नै उनका लागि बुढेसकालको भरपर्दो साथी बनेको छ । नातिनातिनासँग मोबाइल चलाउन सिकेकी उनी फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा जोडिसकेकी छन् । ‘पहिले–पहिले फोनभित्रै मान्छे बसेर बोल्छन् होला जस्तो ठान्थें, अचेल आफैं यसरी मोबाइलमा मान्छे हेरी–हेरी बोल्न, चलाउन जान्ने भएँ,’ चन्द्रा एकहदसम्म खुसी पनि छिन् । किनभने पहिले भारतमा रहेका श्रीमान्लाई फोन गर्नका लागि टाढाको मंगलसेन बजार पुगेर घण्टौंसम्म पालो पर्खनुपर्ने चन्द्राले हिजोआज घरमै बसेर आफ्नासँग मोबाइलमा घन्टौंसम्म भिडियो कल गर्न पाएकी छन् ।

पीसीओ धाउँदै भारतमा रहेका श्रीमान् र आफन्तलाई फोन गर्न धेरै समय लाइनमा बसेको अनुभव मंगलसेन–५ की ७० वर्षीया सेतु भाटसँग पनि छ । पत्राचार गरेर महिनौं खबर कुर्नुपर्ने अवस्थाबाट पीसीओमा एकाध घण्टा लाइन बसेरै फोन गर्न पाउँदाको त्यो समय पनि कम्ता रोमाञ्चक भने थिएन, सेतुका लागि । अहिले त झन् आफ्नै फोनबाट चाहेको बेला तत्क्षण कुरा गर्न पाउँदा सेतुलाई परिवेशसँगै आफू पनि बदलिएको थाहा छ । ‘बम्बई गएका श्रीमान्ले गाउँ आउने मान्छे भेट्दा नासो र चिठी पठाउँथे । ती चिठी उच्चारिदिने (पढिदिने) मान्छे पनि गाउँमा भेट्न मुस्किल हुन्थ्यो,’ विगत सम्झँदै उनी भन्छिन्, ‘चिठीपत्र बिस्तारै कम हुँदै थिए ।

मंगलसेनमा पीसीओबाट कुरा गर्ने सुविधा आयो । त्यो बेला १ मिनेट बोलेको १५ देखि २० रुपैयाँसम्म तिरेकी छु । ती दिन सम्झँदा अहिले त जमाना कहाँबाट कहाँ पुगिसक्यो ।’ मोबाइल समाउन थालेको ६ वर्षसम्म पनि सेतुलाई यसका धेरै फङ्सन चलाउन आउँथेन रे । पहिले पहिले गाउँमा कसैका आफन्तले विदेशबाट फोन गर्दा बोलाउन मान्छे पठाउने वा चर्को स्वर गरेरै बोलाइने गरिन्थ्यो । ‘अहिले त पल्लो कोठामा भएका छोराछोरीलाई बोलाउन पनि फोन गर्नेसम्मको अवस्था आयो,’ सेतु हाँस्छिन् ।

बुढेसकालमा आएर स्मार्टफोन चलाउन पाउनुलाई मंगलसेन–५ की चन्द्रा बजगाईं भाग्य ठान्छिन् । उनका एक छोरा सेनामा जागिरे छन् । अर्का छोरा काठमाडौंमा बस्छन् । दुई छोरीले पनि विवाह गरेर घरजम गरिसकेका छन् । ढल्किँदो उमेरमा आइपुग्दा उनी एक्लै भएकी छन्, काम पनि खासै गर्न सक्दिनन् । कमजोरीले गर्दा न त धेरै टाढासम्म हिँड्न नै सक्छिन् । गाउँघर डुलेर गफिन सक्ने ताकत पनि छैन । यस्तो बेलामा उनलाई एक्लो महसुस हुनु स्वाभाविक नै हो ।

कोरोना संक्रमणका बेला कान्छो छोरा घरमा आउँदा उनले पनि स्मार्टफोनको चाह राखिन् । छोराले आमाको रहर पुर्‍याइदिए पनि । ‘केही काम पनि गर्न सकिँदैन । हिँडडुल गर्न पनि सक्दिनँ, गाह्रो भयो । मैले रहर गरेपछि छोराले मोबाइल किनिदियो,’ बजगाईंले सुनाइन्, ‘अहिले त यही मोबाइल मात्रै हेर्ने काम भएको छ । मलाई चाहिने जति चलाउन सिकाइमागेकी छु, दिन काट्न सजिलो भाको छ ।’

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएन वुमनको सहयोगमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोगले तीन वर्षअघि सुदूरपश्चिमका १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको अवस्थासम्बन्धी गरेको एक सर्वेक्षणमा ६६.१ प्रतिशतले मोबाइल फोन प्रयोग गर्दै आएका छन् । सोही उमेर समूहका ८.८ प्रतिशत महिलाले भने इन्टरनेटसमेत चलाउन सक्छन् ।मेनुका ढुंगाना

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap