सुन चोरी प्रकरणः थप दुईजना व्यापारी पक्राउ


लेखक : सुन्दराञ्चल      साउन ११, २०७८ मा प्रकाशित     
सुन चोरी प्रकरणः थप दुईजना व्यापारी पक्राउ

बैतडी,११ साउन । बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा थप दुईजना व्यापारी पक्राउ परेका छन् । मन्दिरबाट लुटिएको सुन खरीद गर्ने दुईजना सुनचाँदी व्यवासायीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका सुनचाँदी व्यवसायी ३३ बर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ बर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत हुन् । दुवैजनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।

यसअघि मन्दिरबाट चोरेको सुन खरीद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ ।

यो संगै मन्दिर सुनचोरी पक्ररणमा तीनजना व्यवसायी पक्राउ परिसकेका छन् भने सुन चोर्ने ४ जनालाई यसअघि पक्राउ गरिसकिएको छ । सुनचोरी प्रकरणमा संलग्न अन्यहरुको पनि खोजी भईरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

गत पौषमा दोगडाकेदार गाउँपालिका १ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको छ । उनीहरु चारैजनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको छ ।

मन्दिरको सुन पौषमा चोरिएको भएपनि चैतमा मात्रै थाहा भएको थियो । चैतपछि गाउँमा स्थानीयहरुले सुनचोर्नेको सोधीखोजी गरेका थिए । उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराएका थिए । लटिनाथ मन्दिरमा ९ तोला सुन रहेकोमा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन विक्रि भएको खुलेको छ । मन्दिरको सुन खरीद गर्ने व्यापारीहरुमाथि समेत अनुसन्धान भईरहेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap