काठमाण्डाै ८ असाेज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा १० बुँदे कार्यान्वयन भएको भन्दै असन्तुष्टी जनाएका छन् ।
शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष रावलले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका हुन् । १० बूँदे सहमतिमा २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्ने माग रावलको छ ।
अन्य प्रदेशमा १० बुँदे सहमति कार्यान्वयन भएपनि सुदूरपश्चिम प्रदेशमा भने कार्यान्वयनमा आउन सकेको छैन् । उपाध्यक्ष रावलले जेठ २ अघि आफू सुदूरपश्चिमको संयोजक रहेकाले अब पनि आफू नै प्रदेशको ईञ्चार्ज हुनुपर्ने अडान लिँदै आएका छन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले व्यूँताएपछि अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ईञ्चार्ज तोकेका थिए । रावल माधव नेपाल समूहमा लागेपछि ईञ्चार्ज पद खोसिएको थियो ।
हाल सुदूरपश्चिम प्रदेशको ईञ्चार्जका विषयमा रावल र भट्टबीच विवाद चर्किँदै आएको छ । अध्यक्ष ओलीले भट्टलाई ईञ्चार्ज दिएपनि रावललेसमेत आफूलाई सुदूरपश्चिम प्रदेशको ईञ्चार्जमा दाबी गर्दै आएका छन् ।
आज पनि नेपाल समूहबाट आएका सुदूरपश्चिम प्रदेशका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाउँदै आएका छन् । आजको बैठकमा भानुभक्त जोशी र झपट रावलले पनि १० बुँदे सहमति कार्यान्वयन भएकोमा असन्तुष्टी जनाएका थिए ।
ईञ्चार्जका विषयमा असन्तुष्टी बढेपछि अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएर समस्याको समाधान गर्ने आश्वासन दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भट्ट नै प्रदेशको ईञ्चार्ज भएको दाबी गरे ।