धनगढी — नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशको कार्यवाहक इन्चार्जको जिम्मेवारी स्थायी समिति सदस्य खगराज भट्टलाई दिएको छ। पार्टीका प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बुधबार सर्कुलरमार्फत भट्टलाई यो जिम्मेवारी दिएका हुन्।
व्यक्तिगत कारणले केही समय प्रदेश बाहिर जान लागेका पोखरेलले सह-इन्चार्जसमेत रहेका भट्टलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। सो सर्कुलर प्रदेश तथा जिल्ला तहका सबै पार्टी संरचनामा पठाइएको छ।
पार्टी स्रोतका अनुसार पोखरेल वैदेशिक भ्रमणमा जान लागेकाले भट्टलाई जिम्मेवारी दिइएको हो। भट्टलाई १६ महिनाअघि प्रदेश सभाका बहुमत सांसदले दलको नेताबाट हटाएका थिए। तर, हालै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सर्वसम्मत रूपमा पुनः संसदीय दलको नेता चयन गरिएको थियो।
यसअघि भट्टको स्थानमा मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो।