सुदूरपश्चिमकी आर्थिक मामिलामन्त्री गहतराजले भनिन्- म एमालेमै छु


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
सुदूरपश्चिमकी आर्थिक मामिलामन्त्री गहतराजले भनिन्- म एमालेमै छु

भाद्र १७, डोटी । सुदूरपश्चिम प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले आफू नेकपा एमालेमै रहेको बताएकी छन् । बिहीबार नेकपा एमाले डोटी जिल्ला कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू एमालेबाटै सांसद र मन्त्री बनेकाले एमालेमै रहेको बताइन् ।

‘बाहिर कसले के भन्यो, कसरी के कुरा आयो, थाहा भएन,’ उनले भनिन्, ‘यत्ति बुझ्नुस् कि म एमालेमै छु र एमालेमै रहन्छु ।’ पार्टी विभाजन भएका बेला नेताहरुको फोन आउनु र आफ्नो पक्षमा आउनुप¥यो भनेर दबाब दिनु सामान्य भएको उनको भनाइ छ ।

यसअघि मन्त्री गहतराज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने चर्चा थियो । कागज प्रमाण नपुगेको कारण मंगलबार उनको एकीकृत समाजवादीमा सनाखत भएको कुरा बाहिर आए पनि उनले उक्त कुरा झुटो भएको बताइन् । ‘मेरो पार्टी यतै छ, नेता कार्यकर्ताहरु यतै हुनुहुन्छ, म एक्लै चोइटिएर जाने कुरा भएन,’ उनले अगाडि भनिन् ।

सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना थिए । मंगलबार १० जनाले एकिकृत समाजवादी रोजिसकेका छन् । अन्य तीन सांसदहरू भौतिक पूर्वाधार तथा योजना मन्त्री दीर्घ सोराडी, एमाले प्रदेशसभा संसदीय दलका पूर्व सचेतक तारा लामा तामाङ र राज्यमन्त्री गहतराजको कागज प्रमाण नपुगेका कारण बुधबार सनाखत गर्ने भनिएको थियो । तर बिहीबारसम्म मन्त्री सोराडी र तामाङको समेत एकीकृत समाजवादीमा सनाखत भएको छैन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap