धनगढी १० भाद्र । धनगढीका गणेश जोशी भदौ पहिलो साता डोटी जिल्लाको जोरायल गाउँपालिका २ छतिवनमा रहेको भाइरल छहरा झरना हिँडे। उनी बिदाको दिन सपरिवार झरना पुगेका गएका हुन्। उक्त झरना सामाजिक सञ्जाल र टिकटकमा निकै भाइरल भएको थियो। टिकटकमा भाइरल भएको देखेपछि नै उनी त्यहाँ पुगेका थिए। झरनाको सुन्दर दृश्यले रमाइलो भएको बताउँदै उनले सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरु राखेका छन्।
यस्तै, धनगढीकै स्मृति केसीले पनि छहरा झरनामा नाचेको टिकटक भिडियो बनाएर राखेकी छन्। तर, उनले राखेको उक्त टिकटकमा न कसैले मास्क लगाएका छन् न त भौतिक दूरी नै कायम भएको देखिएको छ।
उता कञ्चनपुरको महेन्द्रनगरस्थित छ लेन सडकमा पनि टिकटक बनाउनेहरुकाखे भीड नै देखिन्छ। कञ्चनपुरकी निशा चौधरीले केही दिनअघि महेन्द्रनगरस्थित उक्त छ लेन सडकमा टिकटक बनाएर सामाजिक सञ्जालमा हामी ‘भाइरल रोडमा’ भन्दै पोष्ट गरेकी छन्। उनका साथीहरू र उनले सामूहिक टिकटक बनाएर भिडियो पोष्ट गरेका हुन्।
बिदाको मौका छोपी भीडभाडमै उनले पनि भाइरल रोडका नामले चिनिएको सोही स्थानमा टिकटक बनाएकी थिइन्। तर, त्यहाँ पनि मास्क र सामाजिक दूरीको भने बेवास्ता गरेको देखिन्छ।
कोरोना संक्रमणको दोस्रो लहरमा केही कमी आएसँगै व्यावसायिक तथा पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ। कोरोना संक्रमण ओरालो लागेका बेला निषेधाज्ञा खुकुलो गरिएपछि अहिले फेरि संक्रमण उकालो लागेको छ।
सहरी क्षेत्रमा मास्क नलगाएरै हिँडेमा प्रहरीले जरिवाना गर्छ तर यी पर्यटकीय क्षेत्रमा हुने हजारौँको भिड हेर्दा ‘कोरोना टाढैबाट भाग्छ कि’जस्तो लाग्छ।
डोटीको जोरायल गाउँपालिकामा पर्ने छहरा झरना, कञ्चनपुरको महाकाली छेउमा रहेको भाइरल रोड, कैलालीको चिसापानी, कैलालीकै हाटखोली क्षेत्रमा अहिले दैनिक हजारौँ मानिसको भिड हुन्छ। तर, यो भिडमा मास्कको प्रयोग गर्ने निकै कम भेटिन्छन्।
डोटीको जोरायल गाउँपालिका, बुडरनजिकै पर्ने छहरा झर्नामा रमाउनेहरुको अहिले भिड देख्न सकिन्छ। कैलाली र कञ्चनपुरबाट अधिकांश मानिस यो झरनामा पुग्ने गरेका छन्। झरनामा पुग्ने अधिकांश पर्यटकहरु नुहाएर आउँछन्।
तराई क्षेत्रबाट मास्क लगाएर हिँडेका पर्यटकहरु खानीडाँडा नपुग्दै मास्क फाल्छन्। खनीडाँडामा ८ वर्षदेखि होटल व्यवसाय गर्दै आएका नवीन रावतले त्यहाँ पुग्ने अधिकांश मानिस बिनामास्क नै आउने गरेको बताए। ‘अनिवार्य मास्क या सुरक्षा उपाय अपनाउनमा धनगढीतिर कडाइ होला।
तर, यता केही हुँदैन त्यही भएर बिनामास्क हिँड्ने गर्छन्,’ उनले भने,‘चहलपहलले व्यवसायमा केही राहत त हुनछ। तर सबैले यस्तो बेला सतर्कता अपनाए हामी सुरक्षित हुन्थ्यौँ।
बुडरको छहरा झरनामा बिदाको दिन पारेर बढीजसो पर्यटकहरु पुग्ने गर्दछन्। बिदाको दिनमा १० हजारसम्म पर्यटक पुग्ने गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। ‘विस्तारै यसको विकास र प्रचारप्रसार भइरहेको छ,’ ओझाले भने, ‘झरनासम्म पुग्ने बाटो बनाएका छौँ। अन्य कामका लागि डिपिआर बनाइरहेका छौँ।’
उनले भिडभाड बढेको स्वीकार गरे। ‘मानिसको चाप बढ्दा यहाँको व्यवसाय पनि वृद्धि भएको छ। तर, कहिलेकाँही व्यवस्थापनमा चुनौती थपिन्छ र भिडभाडले संक्रमणको पनि जोखिम बढेकाले यसको व्यवस्थापनका लागि छलफल गरिरहेका छौँ, छिट्टै निर्णय हुन्छ,’ उनले भने।
यता, डोटीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले झरनामा भिडभाड बढेको र सतर्कता अपनाउनका लागि जोरायल गाउँपालिकालाई निर्देशन दिइसकेको बताइन्।
प्रहरी खटाइने
डोटीको छहरा झरना, कैलालीको खानीडाँडा, घोडाघोडी ताल, कर्णाली पुललगायत र कञ्चनपुरको छ लेन सडक लगायतका विभिन्न पर्यटकीयस्थलमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा भिडभाड बढेको देखिएको छ।
पर्यटकीयस्थलमा मास्कको प्रयोग नगर्दा संक्रमणको जोखिम झनै बढेको छ।
यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सो क्षेत्रहरूमा अब प्रहरी परिचालन गरिने बताए।
‘भाइरल रोड’ बन्द
पछिल्लो समय चर्चित बनिरहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडक सर्वसाधारणका लागि बन्द हुने भएको छ।
टिकटक, भिडियो र फोटो खिच्न आउने भिडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो।
बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए।
उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढिरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए। ‘कैलाली र कञ्चनपुर तथा अन्य स्थानबाट थुप्रै सर्वसाधारणहरू आएर भिड लाग्न थाल्यो। निषेधाज्ञा लागू नै भएका अवस्थामा कोरोनाको जोखिमलाई मध्य नजर गर्दै आम सर्वसाधारणहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेका छौँ’ उनले भने।
यस्तै, कोरोना संक्रमणको जोखिमबाहेक मदिरा तथा लागुऔषध सेवन गरी दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए।
उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए।
पछिल्लो समय दैनिक ३ देखि ४ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए। त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेको स्थानीयले बताएका छन्।