धनगढी,१० असोज । धनगढीको नवजीवन अस्पतालले डाक्टरकै कारणले सुत्केरीको ज्यान नगएको जनाएको छ । शनिबार राती डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो ।
उनको मृत्यु पछि अस्पताले एक विज्ञप्ती जारी गर्दै रक्तश्रावपछि ‘अचानक हृदयघात’ भई मृत्यु भएको दाबी गरेको छ । अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकोले भ्याक्युम प्रयोग गरी डेलिभरी गराएको र यो क्रममा पाठेघरको मुख फराकिलो बनाउन दिएको एपिसियोटाँमी सिलाउनको लागी बिरामीले असहज महसुस गर्दा बेहोस गर्ने डाक्टरलाई बोलाई टाँका लगाउन सुरु गरियो, सिलाउने क्रममा अत्यधिक रक्तस्राव हुन थालेपछि बिरामी रक्त समूह ‘ए’ नेगेटिभ रगत रोक्नको लागि हर सम्भव प्रयास गर्दा पनि रगत रोकिएन ।”
बिरामीलाई चाहिने रगतको व्यवस्थापन गरेर तत्कालै ओटी मै दुई पोका रगत चढाएर थप उपचारको लागी तत्कालै आइसियुमा सिफ्ट गरी भेन्टिलेटर मा राखेर सघन उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । तथापि विज्ञ टोलीले हर सम्भव प्रयास गर्दा समेत ‘अचानक हृदयघात’ भई बिरामीको दुखद निधन भएको अस्पताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतक महिला नवजीवन अस्पतालमा नियमित रूपमा चेकजाँच गराउँदै आएकी थिइन् ।
तर उनका आफन्तले डाक्टरको लापरबाहीकै कारण कल्पनाको मृत्यु भएको भन्दै आइतबार बिहान अस्पतालमा तनाब सिर्जना समेत गरेका थिए । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखेको छ ।