सीमानाको सुरक्षा तर वर्षौँदेखि लालपूर्जाविहिन


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
सीमानाको सुरक्षा तर वर्षौँदेखि लालपूर्जाविहिन

धनगढी,३० भदौ । सीमावर्ती क्षेत्रमा नेपाली भूमिको सुरक्षा गरेर बसेका मोहना नदी पारी भारतीय सीमासँग जोडिएका कैलालीको मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका बासिन्दा जग्गाधनी प्रमाणपूर्जाबाट वञ्चित छन् । आफू बसेको ठाउँको जग्गाधनी प्रमाणपूर्जा नहुँदा उनीहरु सरकारी सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।सीमामा भारतीयको ज्यादति सहेर नेपाली भूमिको संरक्षण गरिरहेको भए पनि जग्गाधनी प्रमाणपूर्जा नदिएकोमा राज्यसँग उनीहरुको गुनासो छ ।

लालपूर्जा नहुँदा सीमावर्ती गाउँका स्थानीयलाई सरकारले कृषिमा दिने अनुदान र सहयोग लिन समस्या भएको छ । सरकारी सुविधा लिन समस्या हुनका साथै बैंक, सहकारीलगायत वित्तिय संस्थामा जग्गा धितो राखेर कारोबार गर्न पनि नपाएको स्थानीयले बताएका छन् । सीमावर्ती बस्ती मोहनपुरका स्थानीय सुनिल चौधरीले आफूहरु साढे चार दशकदेखि बस्दै आएको ठाउँको लालपूर्जा सरकारले अहिलेसम्म नदिएको बताए ।

लालपूर्जा पाउनका लागि आफूहरुले विगतदेखि नै पटक–पटक विभिन्न निकाय धाए पनि आफ्नो माग र समस्या कसैले नसुनेको उनले गुनासो गरे । ‘कृषि अनुदानको सिँचाइ ट्यूबेल, कृषि मिटर राख्न सरकारी निकायले लालपूर्जा खोज्छ तर हामी कसैसँग पनि लालपूर्जा छैन ।’ उनले भने, ‘लालपूर्जा नहुँदा सरकारी सुविधा लिन पनि समस्या छ । भारतीय सीमा नजिक हामी सुकुम्बासी भएर बस्नु परेको छ ।’

लालपूर्जा नहुँदा बैंकिङ्ग कारोबारबाट पनि आफूहरु वञ्चित रहेको अर्का स्थानीय बिष्णु चौधरीले बताए ।  सीमा नाकामा भारतीयको ज्यादति सहेर बसिरहेका नेपालीलाई सरकारले व्यवास्ता गरेको उनको गुनासो छ । बस्तीले नेपाली भूमि अतिक्रमण हुनबाट जोगिए पनि लालपुर्जा नहुँदा सरकारबाट हेपिएको महसुस हुने गरेको चौधरीले बताए । बस्ती नभएको भए उक्त जग्गा भारतले अतिक्रमण गरिसक्ने स्थानीय बताउँछन् ।

‘हामी भारतीयको ज्यादति सहदै सीमा नजिक बसेका छौँ । भारतीय सुरक्षाकर्मी कहिलेकाँही गाउँमै आएर पनि दुव्र्यवहार गर्छन् ।’ उनले भने, ‘सीमानाको संरक्षण गरेर बसेकालाई जग्गाधनी प्रमाणपूर्जा दिएर सरकारले अपनत्व देखाउन सकेको छैन ।’ बस्ती नभएको भए नेपाली भूमि अतिक्रमण हुने उनको दावी छ । सीमा क्षेत्रमा खटिएका भारतीय सीमा सुरक्षा बल एसएसबी र वन रक्षकले बेलाबेलामा गर्ने दुव्यवहार र गाउँमै समेत आएर गर्ने ज्यादतिबारे सीमावर्ती क्षेत्रका स्थानीय खुलेर बोल्नसमेत डराउँछन् ।

मोहनपुर, हौसलपुर र शिवरत्नपुरसमेत गरी तीन वटै गाउँमा गरी दुई सय घरधुरीको बसोबास छ । तीनै गाउँका स्थानीय कसैसँग पनि आफू वर्षौँदेखि बसेको र उपभोग गरिरहेको जग्गाको लालपूर्जा भने छैन । सरकारले लालपूर्जा नदिँदा सुकुम्बासी भएर बस्नु परिरहेको स्थानीयको भनाइ छ । लालपूर्जा दिन माग गर्दै गाउँपालिका कार्यालय, तत्कालीन गाविस कार्यालय, मालपोत कार्यालय, सुकुम्बासी आयोगलगायत विभिन्न निकायमा पटकपटक पुग्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

शिवरत्नपुर गाउँका भल्मन्सा राजु चौधरीले सीमाको रक्षा गरेर बसेकालाई लालपूर्जाविहिन बनाइनु दुखद् भएको बताए । ‘सीमावर्ती बस्तीको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने हो तर हामी विकास र आधारभूत सेवा सुविधाबाट पनि वञ्चित छौँ ।’ चौधरीले भने, ‘हामी लालपूर्जाबाट वञ्चित छौँ । लालपूर्जा नहुँदा कृषिका सहयोग पाउन समस्या छ । सरकारले सबैभन्दा पहिले लालपूर्जा दिनुपर्छ ।’

तीनतिर भारतीय सीमा जोडिएका मोहना नदी पारी पर्ने तीन वटै गाउँका बासिन्दालाई नदीमा पुल नहुँदा बर्खायाममा आफ्नै देशका अन्य बस्ती आउन समस्या हुन्छ । शिवरत्नपुर जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको काम अलपत्र छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले  सीमावर्ती बस्तीका बासिन्दालाई जग्गाधनी प्रमाणपूर्जा वितरणका लागि भूमि आयोगअन्तर्गत तथ्यांक संकलनको काम भइसकेको बताए । उनले सरकारको नीतिअनुसार लालपूर्जा वितरणको काम अघि बढ्ने बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap