साताका १० गीत : दशैं तिहार गीतको वर्चश्व


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
साताका १० गीत : दशैं तिहार गीतको वर्चश्व

दशैंतिहार नजिकिँदैछ । त्योसँगै सांगीतिक क्षेत्रमा पनि दशैं तिहार लक्षित गीतको  वर्चश्व देखिन थालेको छ । यस साता एक दर्जन बढी दशैं–तिहार गीतहरु सार्वजनिक भएका छन् । त्यसबाहेक अन्य केही गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतहरुले मात्र चर्चा पाएका छन् । यहाँ गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिकमध्ये १० गीत प्रस्तुत गरेका छौं ।

विष्णु माझीको ‘दशैं तिहार आइसक्यो’

गत बुधबारमात्रै विष्णु माझीको स्वरमा ‘दशैं तिहार आइसक्यो’बोलको दशैं तिहार गीत सार्वजनिक भएको हो । श्रीमान् सुन्दरमणि अधिकारीको शब्द, संगीतमा विष्णुले स्वर दिएकी छिन् भने गीतमा महिमा आचार्यको कोरस गायन रहेको छ ।

शिव विकको कोरियोग्राफी, सुन्दरमणिकै निर्देशनमा तयार भिडियोमा प्रिया विष्ट र सुन्दरमणि स्वयंको अभिनय छ । गीतमा दशैं तिहार आइसकेको र झल्को लाइसकेको जनाउँदै परदेशीलाई गाउँमा बोलाइएको छ । शम्भु चालिसेको छायांकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोलाई दुई दिन नपुग्दै ९ लाख ६० हजार बढी पटक हेरिएको छ ।

शिव परियारको ‘माया बिक्ने भएछ’

शिव परियारको स्वरमा ‘माया बिक्ने भएछ’ गत शनिबार युट्युबमा सार्वजनिक भएको हो । गणेश अधिकारीको शब्द, नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेका छन् । गीतमा मायामा धोका दिएकी प्रेमिकाबारे प्रेमीको भावना व्यक्त गरिएको छ । भिडियोलाई बुद्ध थापाले छायांकन, निकेश खड्काले निर्देशन तथा विकास धमलाले सम्पादन गरेका हुन् । युट्युबमा यसको भिडियोलाई ८ लाख ५० हजार बढी पटक हेरिएको छ ।

टीका प्रसाईंको ‘कति राम्रो सुहाएको’

‘द कार्टुन क्रु’को प्रस्तुतिमा गत शनिबार ‘कति राम्रो सुहाएको’ बोलको गीत सार्वजनिक भएको हो । डान्सिङ विटको यो गीतमा दीपक पाठक र टीका प्रसाईंले स्वर दिएका छन् । गीतका शब्दहरु दीपक पाठकले नै कोरेका हुन् भने संगीत पनि उनैले भरेका हुन् । गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन् । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा उनीसँगै आश्मा विश्वकर्मा लगायतले अभिनय गरेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन, सुरोज अधिकारीको सम्पादन छ । भिडियोलाई युट्युबमा ७ लाख ५ हजार बढी पटक हेरिएको छ ।

पल र वर्षा अभिनित ‘नयाँ गलबन्दी’

‘नयाँ गलबन्दी’ गीतमा शनी विश्वकर्मा र देविका केसीले स्वर दिएका छन् । शिव हमालको शब्द÷संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय हेर्न सकिन्छ । झकिझकाउन सेटसँगै मनोरम दृश्यहरुमा खिचिएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । अमृत चापागाईंको सम्पादन रहेको भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो । यस भिडियोको भ्युज भने अपेक्षित देखिएको छैन । गत शुक्रबार सार्वजनिक गीतको भिडियोलाई ४ लाख ७५ हजार बढी पटक हेरिएको छ ।

राजु परियारको स्वरमा ‘परदेशी काइँलो’

राजु परियार र कृष्ण परियारको स्वरमा ‘परदेशी काइलो’ बोलको गीत गत शनिबार सार्वजनिक भएको हो । डि.आर. सुजनको शब्द तथा संगीत रहेको गीतमा विजय थापाको एरेन्ज छ ।

डि.आर. सुजनकै कथा, कन्सेप्ट तथा निर्देशनमा बनेको गीतको भिडियोमा बुद्धि तामाङ, इष्टु कार्की, सुरवीर पण्डित लगायतको अभिनय छ ।

रेशम दर्लामीको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । परदेशमा दुःख गरेर घाइते बनेर घर फर्किएको श्रीमान्लाई श्रीमतीले बिचल्ली पारेको कथालाई गीतमा उतारिएको छ । गीतको भिडियोलाई युट्युबमा ६ दिनमा १७ लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ ।

किरण गजमेरको ‘म त डुब्दैडुब्दै गएँ’

‘म त डुब्दै डुब्दै गएँ’ गीतमा ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरले स्वर दिएका छन् । गत शुक्रबार सार्वजनिक यस गीतमा अर्जुन पोखरेलको शब्द एवं संगीत छ । गीतमा किरणलाई गायनमा ममता गुरुङले साथ दिएकी छन् । युवक एक युवतीको प्रेममा डुबेपछिको कथा गीतले प्रस्तुत गरेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल श्रेया सिटौलाको अभिनय छ । सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोलाई ३ लाख ५ हजार बढी पटक हेरिएको छ ।

मदनकृष्ण र गौरीको अभिनयमा ‘सुनको कचौरी’

कलाकार मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय रहेको ‘सुनको कचौरी’ बोलको गीत गत शनिबार सार्वजनिक गरिएको हो । राजनराज शिवाकोटीको शब्द एवं संगीत, राजन ईशानको एरेन्ज रहेको गीत मदनकृष्ण र मिलन नेवारले गाएका हुन् । भिडियोमा राजेश पुमा राईको निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । टिपिकल शब्दहरु प्रयोग गरिएको गीतको भिडियोमा मदनकृष्ण र गौरीको प्रेम देखाइएको छ । औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको भिडियोले एक लाख ७५ हजार बढी भ्युज पाएको छ ।

पुस्कल शर्माको ‘दाजुभाइ’

लोकदोहोरी गायक पुस्कल शर्माको दशैं लक्षित हो, ‘दाजुभाइ’ । पुस्कलकै शब्द, संगीत रहेको गीतमा उनी र कुशल बेल्वासेले स्वर दिएका छन् ।

गायक पुस्कलकै निर्देशनमा बनेको भिडियोमा उनी स्वयंका साथमा अञ्जली अधिकारी, सुरज घिमिरे, हिउँवाला गौतम लगायतको अभिनय छ । पुस्कलले परदेशीको कथामा यो गीत तयार पारेका हुन् । गत शुक्रबार सार्वजनिक गीतको भिडियोले युट्युबमा ८ लाख बढी भ्युज पाएको छ ।

विष्णु खत्रीको ‘अलपत्रमा’

हरेक वर्ष दशैंलक्षित गीत ल्याउँदै आएका विष्णु खत्रीले यस वर्ष पनि निरन्तरता दिएका छन् । उनले गत शनिबार ‘अलपत्रमा’बोलको दशैं लक्षित गीत सार्वजनिक गरेका हुन् । विष्णुकै शब्द एवं संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतमा विष्णु र पूर्णकला बिसीले स्वर दिएका छन् । क्रान्ति केसीको निर्देशनमा बनेको भिडियोमा मोडल अञ्जली अधिकारी र ओबी रायमाझीले अभिनय गरेका छन् । गीतमा विष्णुले वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा भोग्नुपरेका पीडालाई उतारेका छन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई युट्युबमा २ लाख १२ हजार बढी हेरिएको छ ।

पशुपति र शान्तिश्रीको ‘ताराबाजी लै छोरा’

पशुपति शर्मा, शान्तिश्री परियार र सुप्रिम मल्ल ठकुरीको स्वरमा गत शनिबार ‘ताराबाजी लै छोरा’ सार्वजनिक गरिएको हो ।

दुर्गा पौडेलको शब्द, संगीत रहेको गीतको म्युजिक एरेन्जर विनोद बाजुराली हुन् ।

दुर्गा पौडेलकै निर्देशनमा बनेको भिडियोमा पुशपति, अञ्जली अधिकारी र सुप्रिम मल्ल ठकुरीको अभिनय छ । यस गीतमा बाबुआमा र छोराबीचको प्रेमलाई व्यक्त गरिएको छ । दुर्गा पौडेल र राजेश घिमिरेको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोले युट्युबमा ३ लाख २५ हजार भ्युज बटुलेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap