महेन्द्रनगर माघ १४, । कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय वाणीको शैक्षिक तथा भौतिक स्तरमा सुधार हुँदै आएको छ । अस्तव्यस्त अवस्थामा रहेको सरस्वती माविको नेतृत्व वडाध्यक्ष अर्जुनबहादुर साउँदले गरेपछि लयमा आएको हो ।
विद्यालयमा तहगत प्रधानाध्यापकको व्यवस्थापन गरि लेखा परीक्षण तथा नियमित प्रशासनिक कामहरूलाई व्यवस्थित पार्दै लगिएको उनले बताए । अहिले २०८० असारसम्मको लेखा परीक्षण भइरहेको र लेखा परीक्षण पारदर्शी र निष्पक्ष रूपमा गरिने र कुनै पनि गडबडी भेटिए कानूनअनुसार अगाडि बढ्ने उनको भनाई छ । अतिरिक्त भत्ता तथा सेवा सुविधाहरुलाई कटौती र अनावश्यक क्षेत्रमा गरिने खर्चहरुलाई कटौती गरिएपछि छोटो समयमा विद्यालयको झन्डै ७ लाख बराबरको ऋण तिरेको उनले बताए । सरस्वती माविमा सिटीइभिटीका कक्षाहरू समेत सञ्चालन छन् । प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस क्षेत्रमा सिटीइभिटीका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको छ।
हालै विद्यालयमा छात्रबृति वितरण र औषधि खरिदका विषयमा विवाद उठेपछि अध्यक्ष साउँदले गलत भएको भए छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। ‘पछिल्लो समय भौतिक र शैक्षिक रुपमा विद्यालयमा प्रगति भइरहेको छ,’ उनले भने, ‘विद्यालयलाई धरासायी बनाउन केही व्याक्तिहरु अनावश्यक बदनाम गरिरहेका छन्।’ केही समयअघि विद्यालयमा छात्रवृत्तिका विषयमा भएको अनियमितताका विषयमा पनि नगरपालिकालाई आवश्यक कारबाहीका लागि लेखी पठाइएको र दोषी ठहर भए आवश्यक कारबाही गरिने अध्यक्ष साउँदले बताए ।
शैक्षिक सुधारसँगै विद्यालयमा भौतिक संरचनाहरूमा पनि काम भएका छन् । विद्यालयमा पछिल्लो समयमा क्यान्टिन, कक्षा कोठा, खानेपानी, ई–हाजिरी, दिवा खाजा लगायतका क्षेत्रहरूमा सुधार गरिएको छ । तत्कालीन समयमा शुक्लाफाँटा आरक्षबाट विस्थापित समुदायहरूले स्थापना गरेको विद्यालयमा विपन्न समुदायका विद्यार्थीहरू अध्ययन गर्दै आएकाले विद्यालयलाई थप भौतिक र शैक्षिक रुपमा सुधार गरिने अध्यक्ष साउँदको भनाई छ । विद्यालयका प्रधानाध्यापक अम्बादत्त बडुले पनि विद्यालयको प्रशासनिक, भौतिक सुधारसँगै शैक्षिक सुधार भइरहेको बताए । उनले पछिल्लो शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थीहरूको संख्या बढेको र हाल विद्यालयमा ५ सय ३५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताए ।
विद्यालयलाई आवश्यक शौचालय सहितको चारकोठे पक्की भवन बन्ने तयारीमा छ । यसै शैक्षिक सत्रमा दुई जना प्राथमिक तह, एक जना माध्यमिक तह र एक जना निम्न माध्यमिक तहमा दरबन्दी थप गरी पठनपाठनमा सुधार गरिँदै लगिएको उनको भनाइ छ । विद्यालयले शिक्षक तथा कर्मचारीहरूलाई समयको पालना गराउन ई–हाजिरीको समेत व्यवस्था गरेको छ । नगरपालिकाले गरेको पत्राचारपछि विद्यालय व्यवस्थापन समिति र विद्यालयले आवश्यक कानूनी प्रक्रिया अनुसार औषधी खरिद प्रक्रिया अघि बढाएको प्रधानाध्यापक बडुले बतााए । विद्यालयमा सिटीइभिटी अन्तर्गत कृषि तथा भेटेरिनरी विकास सेवाहरू सञ्चालनमा छन् ।