सभामुख सापकोटाको मुद्दामा फेरि सुनुवाइ स्थगित


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
सभामुख सापकोटाको मुद्दामा फेरि सुनुवाइ स्थगित

१३ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा  सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुन सकेन ।

सूचना तथा सञ्चार मन्त्री रहेका बेला सापकाेटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा तोकिएको थियो ।

तर उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । न्यायाधीश कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गरेका थिए । त्यसैले कार्कीको स्वार्थ बाझिने भएकाले बुधबारको संवैधानिक इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएको ती अधिकारीले जानकारी दिए ।

यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि उनले कनकमणि दीक्षितविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap