१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उनले बताएका छन् ।
एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’