दुई वर्ष अगाडि फिल्म ‘लभ डायरीज’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रुविना थापाले भनेकी थिइन्, ‘यो फिल्मबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन गाह्रो छ ।’ बाहिरबाट देखेझैँ यो क्षेत्रमा स्थापित हुन पटक्कै सजिलो छैन भन्ने कुरा फिल्ममा आउनुभन्दा अगावै उनले बुझिसकेकी थिइन् । ‘लभ डायरीज’ को असफलतापछि त यो कुरा उनले महशुस नै गरिन् ।
पछिल्लो समय फिल्म क्षेत्रमा भविष्य देखेर अभिनयमा होमिने नयाँ अनुहारको भीड दिन दुई गुना र रात चौगुनाले बढिरहेको छ । तर, सफलता एकाधको पोल्टामा मात्र परेको छ । प्रायः त पहिलो फिल्मपछि नै गुमनाम हुन्छन् । रुविना थापा पनि पहिलो फिल्म डिजास्टर भएपछि केही समय हराएझैँ भइन् । न मिडियामा उनको चर्चा भयो न त नयाँ फिल्मबाट अभिनेत्रीको प्रस्ताव नै पाइन् ।
गत वर्ष काठमाडौंमा सम्पन्न दशौं ‘नेफ्टा अवार्ड’ मा अभिनेता सलोन बस्नेतको जोडी बनेर नृत्य प्रस्तुत गरेपछि उनलाई सलोनकै पिता शोभित बस्नेतले फिल्म ‘डाँडाको बरपीपल’ मा मुख्य अभिनेत्रीको प्रस्ताव गरे । बल्ल बल्ल हात परेको फिल्म उनले ढिला नगरी साइन गरिन् । सोमवारबाट यो फिल्मको छायांकन सुरु भएको छ र यसमा उनको जोडी सलोन बस्नेतसँगै बाँधिएको छ ।
फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल जस्ता कहलिएका कलाकारहरुको अभिनय रहेकाले रुविना यसपटक सफलता आफ्नो पञ्जाबाट नउम्कनेमा विश्वस्त छिन् । आफ्नो फिल्मी करिअरलाई सुखद रुपमा अगाडि बढाउन उनका लागि यो फिल्म व्यवसायिक रुपमा सफल हुन एकदमै आवश्यक छ । ‘डाँडाको बरपीपल’ उनका लागि अभिनयमा आफूलाई प्रमाणित गर्ने अवसर पनि हो ।
Related