भारतमा दैनिक कोरोना संक्रमण घट्दै
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा मंगलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ संक्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना संक्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।
भारतमा पछिल्लो समय दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जनाएको छ । यो संख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितमध्येको १.१५ प्रतिशत हो ।
भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या तीन करोड २२ लाख ५० हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको कूल संख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल संक्रमितमध्ये ९७.५१ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल संख्या चार लाख ३२ हजार ७९ रहेको छ भने तीमध्ये ४३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यही अगस्त १६ सम्ममा भारतमा ४९ करोड ६६ लाख २९ हजार ५२४ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १५ लाख ६३ हजार ९८५ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।
भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५५ करोड ४७ लाख ३० हजार ६०९ डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ८८ लाख १३ हजार डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
000
न्युजिल्याण्डमा एक व्यक्ति कोरोना संक्रमित हुँदा देशव्यापी लकडाउन
न्युजिल्याण्डको उत्तरी टापु अकल्याण्डमा एक व्यक्ति कोरोना संक्रमित हुँदा देशव्यापी लकडाउन घोषणा गरिएको छ । एक व्यक्तिमा कोरोनाको तेस्रो डेल्टा भेरियन्ट भेटिँदा देशव्यापी लकडाउन घोषणा गरिएको हो ।
एक व्यक्तिमा डेल्टा भेरियन्ट देखिँदा अकल्याण्ड र कोरोमान्डेलमा एक हप्ताको लागि लकडाउन गरिएको छ भने न्युजिल्याण्डभर तीन दिनको लागि लकडाउन गरिएको छ । संक्रमित व्यक्ति ५८ वर्षीय पुरुष रहेको र ती व्यक्तिमा बिहिबारदेखि संक्रमण देखिएको बताइएको छ ।
अधिकारीहरुका अनुसार न्युजिल्याण्डका करिब २० प्रतिशत मानिसले मात्र पूर्ण मात्रामा कोरोना खोप लगाएका छन् भने ३३ प्रतिशतले कोरोनाको पहिलो खोप लगाएको बताइएको छ ।
प्रधानमन्त्री जाकिन्डा आर्डेनले एक हप्तापछि नयाँ संक्रमित थपिएमा आकस्मिक सेवा बाहेक कार्यालय, विद्यालय र सम्पूर्ण व्यापार व्यवसायहरु पनि बन्द गराइने बताएकी छन् । ‘संक्रमित संख्या नबढोस् भनेर हामीले तत्कालीन लकडाउन घोषणा गरेका हौँ’ प्रधानमन्त्री आर्डेनले भनेकी छन्, ‘हामीसँग क्वारेन्टिनलगायत प्रयाप्त तयारी नभएकोले हामी समयमै सजग रहनुपर्छ।’ न्युजिल्याण्डले अन्तर्राष्ट्रिय सीमाहरु पनि बन्द गरेको छ ।
००००
तालिबान सरकारलाई चीनको स्वागत
काबुल: अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ । तालिबानको नियन्त्रणपश्चात राष्ट्रपति अशरफ घानीले देश छोडेका छन् । अफगानिस्तानको तत्कालीन अवस्थाप्रति चीनको विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनियाङले अफगानी नागरिकहरुसँग आफ्नो भाग्य र भविष्यको फैसलाको हक रहेको बताउँदै उनीहरुको फैसलाप्रति चीनले उच्च सम्मान गरेको बताएकी छन् ।
‘चीन अफागानिस्तानको शान्ति, पुनर्स्थापना र पुनर्निर्माणको लागि रचनात्मक भूमिका निभाउन चाहन्छ । चीनले अफगानिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहन्छ’ चुनियाङले भनेकी छन्, ‘चीनले चाँडै नै अफगानिस्तानमा रहेको इस्लामिक सरकारसँग छलफलको माध्यम स्थापना गर्नेछ । तालिबानले जिम्मेवारीपूर्ण काम गर्दै अफगानी नागरिक र अफगानिस्तानमा विदेश मिसनको सुरक्षा पनि सुनिश्चित गर्ने विश्वास हामीमा छ ।’
०००००
यूरोपः तालिबानको कब्जापछि जर्मन विमान पहिलो पटक काबुलमा
अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि पहिलो पटक जर्मनको सैन्य विमान काबुल पुगेको छ । मंगलबार जर्मनीको सैन्य विमान काबुल पुगेको हो । उक्त विमान सात अफगान नागरिक बोकेर काबुलबाट जर्मनी फर्किएको थियो ।
अफगानिस्तानमा सबैभन्दा बढी सेना खटाउनेमा जर्मनी अमेरिकापछिकै दोस्रो मुलुक हो । जर्मनीले तत्काल १० हजारभन्दा बढी अफगान नागरिकको उद्धारको जिम्मा लिनुपर्ने उद्घोष चान्सलर एन्जेला मार्केलले गरेकी थिइन् ।
००००
टर्कीमा बाढीका कारण ७७ को मृत्यु
टर्कीमा बाढीका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ । टर्कीको नेचुरल डिजास्टर एण्ड इमर्जेनसी डिक्टेरोटले टर्कीका विभिन्न स्थानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७७ नाघेको र दर्जनौँ मानिस बेपत्ता भएको बताएको छ ।
बाढीका कारण टर्कीका सयभन्दा बढी गाउँसँग विद्युत, सडक र पुल सञ्जाल कटौती भएको जनाइएको छ । टर्कीका विभिन्न स्थानमा गएको बाढीलाई अगष्ट महिनाकै ठूलो प्राकृतिक विपद् मानिएको छ । बाढी ग्रसित क्षेत्रबाट करिब २ हजारभन्दा बढी मानिसको उद्धार गरिएको बताइएको छ ।
टर्कीमा बाढी मात्र नभई डढेलो संकट पनि कायम छ । दक्षिण टर्कीका विभिन्न स्थानमा विगत केही हप्ता अघिदेखि लागेको डढेलोले विभिन्न स्थानमा तातो हावा कायम रहेको बताइएको छ । टर्कीको डढेलो निभाउन खटेको रसिएन विमान आइतबार विहान दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार ८ जनाको मृत्यु भएको थियो ।
००००
अमेरिकाः क्लोराडो नदीमा पानी घटेको अमेरिकी अधिकारीको घोषणा
संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिम भेगमा अवस्थित क्लोराडो नदी पहिलो पटक पानीको सतह घटेको छ । अमेरिकी अधिकारीहरुले उक्त नदीमा पानीको सतह पहिलो पटक तिब्र रुपमा घटेको घोषणा गरेका छन् ।
क्लोराडो नदीमा बाँधिएको बाँधले ४० मिलियन भन्दा बढी अमेरिकी मानिसलाई पानी उपलब्ध गराउँदै आएको थियो । एरिजोना, क्यालिफोर्निया, क्लोराडो, नाभेडा, न्यु मेक्सिको, उटाँलगायत विभिन्न क्षेत्रका मानिसहरु सिँचाई, हाइड्रोरोपावर र खानेपानीका लागि उक्त नदीमा निर्भर थिए । तर पछिल्लो समय जलवायू परिवर्तनका कारण क्लोराडो नदीमा पानीको सतह तिब्र रुपमा घटेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
०००
अफ्रिकाः ओलम्पिक विजेता र सहभागीलाई नगद पुरस्कार
केन्याका राष्ट्रपति उहुरु केन्याट्याले ओलम्पिक विजेता र टोक्यो ओलम्पिक खेलकुदमा सहभागी सबै प्रतिस्पर्धीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
टोक्यो ओलम्किमा केन्याले चारवटा स्वर्ण पद जितेको थियो । चारवटामध्ये प्रत्येक स्वर्ण पदक विजेताले १ मिलियन केन्यान सिलिङ पाउने भएका छन् । ओलम्किमा केन्याले ४ वटा सिल्भर पदक जितेको छ ।
प्रत्येक सिल्भर पदक विजेताले भने ६ हजार ८ सय अमेरिकी डलर पाउनेछन् । दुईवटा काश्य पदक विजेतामध्ये प्रत्येकले ४ हजार ५ सय डलर पाउनेछन् । टोक्यो ओलम्किमा सहभागी प्रत्येक प्रतिस्पर्धी र प्राविधिक सदस्यहरुले भने १ हजार ८ सय डलर प्राप्त गर्ने बताइएको छ । अफ्रिकामा केन्याले टोक्यो ओलम्पिकमा जम्मा १० वटा पदक जितेको थियो ।
-एजेन्सीको सहयोगमा