श्रीमतीको मृत्युपछि अस्पतालको रुपैयाँ तिर्न नसकेर अस्पतालले दिएन शव


लेखक : सुन्दराञ्चल      माघ १६, २०७९ मा प्रकाशित     
श्रीमतीको मृत्युपछि अस्पतालको रुपैयाँ तिर्न नसकेर अस्पतालले दिएन शव

काठमाडौं  १६ माघ,  रौतहटकी २५ बर्षीया पुनम कुमारीको आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा आइतबार मृत्यु भयो । श्रीमतीको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर रौतहटका मनोज कुमारले सास्ती भोगिरहेका छन् ।

कुमारका अनुसार अस्पतालमा एक लाख ८ हजार रूपैयाँ बुझाउन बाँकी छ । ‘अस्पताल प्रशासनले इलाज गरेको पैसा तिरेर मात्रै लैजानु भनेको छ,’ कुमारले अनलाइनखबरसँग गुनासो गरे, ‘ उपचार गर्दा आफूसँग भएको पनि सकियो । सापटी गर्ने ठाउँमा पनि छैन । कसरी शव निकाल्ने हो !’

९ पुसमा दुई महिनाको छोरालाई तेल लगाउने क्रममा कुमारीको लुगामा आगो सल्किएका कारण शरीर जलेको थियो । परिवारले नजिककै गौर अस्पताल पुर्‍याए । केही दिन त्यही उपचार भयो । तर,  जलेको घाउ बिग्रदै गयो ।

‘एक हप्ताभन्दा बढी गौर अस्पतालमा उपचार गरियो । तर, घाउ झन्–झन् बिग्रदै गयो । अस्पतालले रिफर गरेर काठमाडौं पठायो,’ मनोजले भने । १८ पुसमा परिवारले कीर्तिपुर अस्पताल भर्ना गर्‍यो ।

मृतकका श्रीमान मनोजका अनुसार पुनको ४० प्रतिशत शरीर जलेको थियो । गौर अस्पतालमा उपचार हुँदा ७० हजार सकियो । करिब एक महिनामा कीर्तिपुर अस्पतालमा ४ लाख रुपैयाँभन्दा बढी खर्च भयो ।

‘आफन्त, संघ–संस्थाले सहयोग गरेर अहिलेसम्म उपचार भएको थियो । केही बचेर पैसा तिर्यौं भन्दा पनि केही पनि छैन,’ मनोजले भने, ‘गाउँमा माग्दा पनि कसैले पैसा दिएनन् । हिजो श्रीमतीको मृत्यु भएको रहेछ । तर, लास निकाल्न नसकेर यही बसिरहेको छु ।’

मनोजको घरमा बुबा–आमा र दुई छोरी र एक छोरा छन् । ‘भएको त्यही एउटा सानो झुप्रो घर छ । त्यही बेच्दा पनि बुढा बुबा–आमा र सना छोरीलाई कहाँ राख्ने,’ मनोज भन्छन् , ‘गरिब छु । पैसा तिरेर मात्रै शव लैजानु भन्छन् । शव छोडेर हिँड्न पनि सक्दिन ।’

अस्पतालका प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले फार्मेसीबाट लिएको औषधि मात्रै एक लाखभन्दा बढी भएकाले मिनाहा गर्न गाह्रो भएको बताए । ‘उहाँले गाउँबाट थोरै पैसा आउँदै छ भन्नुभएको छ । बाँकी पछि तिर्ने सर्तमा शव दिने तयारी भइरहेको छ,’ नकर्मीले भने ।अनलाइनखबर 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap