शेरबहादुर देउवा : दल विभाजनमा सधैं नेतृत्वदायी सहजीकरण


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
शेरबहादुर देउवा : दल विभाजनमा सधैं नेतृत्वदायी सहजीकरण

३ भदौ, काठमाडौं । बुधबार नेपालमा एकैदिन दुईवटा पार्टी विभाजन भएको छ । नेकपा एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी जन्मिएको छ भने जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक बनेको छ ।

एकैदिन दुई पार्टी फुटाउन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहजीकरणले महत्वपूर्ण भूमिका खेल्यो । कुनैबेला आफ्नो उमेरको लामो समय खर्चिएर बनाएको ‍नेपाली कांग्रेसलाई फुटाएर देउवाले २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका थिए । विभाजन बिर्सिएर कांग्रेसमा एकता गरेका उनले अहिले फेरि एमाले र जसपा विभाजनमा पनि नेतृत्वदायी सहजीकरण गरे ।

त्यसो त, देउवा गठबन्धनको नेतृत्व गर्दै सरकारमा पुगेका हुन् । उनले गठबन्धनकै आवश्यकता र दबावमा अध्यादेश ल्याए पनि भन्न सकिएला । तर, कुनै नेताको लोकतन्त्रप्रतिको प्रतिवद्धता सानातिना दबाव र स्वार्थमा कमजोर हुनुहुँदैन । यो अध्यादेशबारे देउवाले इतिहासमा पटकपटक प्रश्नहरूको सामना गर्नुपर्नेछ । अर्को कुरा, संसदीय व्यवस्थामा शासकीय जस-अपजसहरूको भागीदार मुख्यतः प्रधानमन्त्री नै हुन्छन् र हुनुपर्छ । आफ्नो सरकार टिकाउन लोकतान्त्रिक मूल्य-मान्यताका आधारभूत विषयमाथि नै सम्झौता गर्ने चरित्रको क्षयीकरणलाई सामान्य तर्कहरूले जोगाउन सक्दैनन् ।

कांग्रेस विभाजन गर्नुअघि पनि २०५४ मा नेकपा एमालेमा भएको विभाजनमा कारक बनेका थिए प्रधानमन्त्री शेरबहादुर देउवा । त्यसको झण्डै २५ वर्षपछि देउवा प्रधानमन्त्री भएकै बेला फेरि एमाले फुटेको छ ।

विभाजनको दुश्चक्र

नेपालमा एउटा भनाइ छ- मान्छेले कि पढेर जान्छ, कि परेर । देउवा पढेका नेता हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी र कानूनमा स्नातक गरेका छन् भने राजनीतिशास्त्रमा स्नातकोत्तर । उनी बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिसर्च फेलो पनि थिए ।

राजनीतिमा ५ दशक लामो उतारचढाव व्यहोरेका देउवाले पार्टी फुटको पीडा पनि व्यहोरेका छन् । देउवाले आफू प्रधानमन्त्री पदमा रहेकै बेला आफ्नै पार्टी कांग्रेस विभाजन गरेका थिए । उनले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र सभापति बने ।

विभाजनपछि राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कमजोर बन्दै गयो । अन्ततः कोइराला र देउवा दुवै पार्टी एकताका लागि सहमत भए । यद्यपि, अहिले पनि पार्टीमा ६०/४० को भागबन्डा कायम छ, पार्टीभित्र अस्वस्थ गुटबन्दी अहिलेसम्म कायम छ ।

कांग्रेस विभाजन गर्नुअघि पनि उनी २०५४ मा नेकपा एमालेमा भएको विभाजनमा कारक बनेका थिए । त्यो बेला देउवा प्रधानमन्त्री थिए । उनले हस्ताक्षर गरेको विवादास्पद महाकाली सन्धिका कारण सुरू भएको विवाद उत्कर्षमा पुग्दा एमाले फुट्यो । वामदेव गौतम, सीपी मैनालीहरुले एमाले फुटाएर माले बनाए ।

त्यसको झण्डै २५ वर्षपछि देउवा प्रधानमन्त्री भएकै बेला फेरि एमाले फुटेको छ ।

एमाले विभाजनसँगै लामो विवाद, भनाभन र बाझाबाझ पछि पनि कुनै व्यवहारवादी उपाय निस्किएला भन्ने विश्वास झूटो ठहरिएको छ । नेकपा विभाजनको धक्काले सिर्जना गरेका परकम्पले एमाले हुँदै जसपासम्म विभाजन गरेको छ । यसले देशको राजनीतिक संस्कार र संस्कृतिमा भने पुरानै प्रवृत्ति दोहोरिएको छ ।

राजनीतिक अस्थिरतामा हुर्किरहेको लोकतन्त्रमा पार्टी फुट्नु भनेको थप अस्थिरता निम्त्याउनु हो । एमाले विभाजनसँगै कम्युनिष्ट एकतासँग जोडिएको राजनीतिक स्थायित्व, अग्रगमन, विकास, सुशासन र समृद्धिको जनअपेक्षामा ठेस लागेको छ । समृद्धिको सपनासँगै स्थायित्वको अपेक्षा पनि अप्ठ्यारोमा परेको छ ।

अस्थिर इतिहासको निरन्तरता

नेपालको राजनीतिक इतिहासका सबै कालखण्डहरूमा आन्तरिक शक्तिसंघर्षका कुरूप श्रृङ्खलाको निरन्तरता देखिन्छ । २००७ सालको राणा शासनको अन्त्यपछिको स्थिति पनि उस्तैरह्यो । कांग्रेसका दुई गुट (मातृका र बीपी गुट) र दरबारबीचको त्रिकोणात्मक संघर्षले २००७–२०१७ सालसम्मको अर्को दशक खेर गयो । पञ्चायतको ३० वर्ष दरबारिया दाउपेच र कहालीलाग्दो निरंकुशतामै बिते ।

शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएपछि बधाई दिंदै माधव कुमार नेपाल

पञ्चायतको अन्त्यपछि नेपाली कांग्रेस पुन शक्तिशाली भएर आयो । तर सँगसँगै अविश्वास, अस्थिरता, कुसंस्कार र बेथितिको नयाँ अध्याय शुरुवात भयो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई पाखा लगाउने गिरिजाप्रसाद कोइरालाको महत्वाकांक्षाका कारण कांग्रेस विभाजित मात्र भएन, देश मध्यावधि निर्वाचनमा गयो । गिरिजाप्रसादले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न र कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउन खेलेको भूमिका ‘ओपन सेक्रेट’ बनिसकेको छ । २०५१ देखि ०५६ बीचको घटनालाई संसदीय विकृतिको युगको रूपमा सम्झन सकिन्छ । यो समय सुरासुन्दरी, प्राडो-पजेरो र पुरुष सांसदले सुत्केरी भत्ता खाने, पार्टी कार्यालयमा अश्लिल सिनेमा देखाइने युग बन्यो ।

त्यसपछि अस्थीर सत्ता संघर्षका अनेक चक्रहरू चले । यो क्रम नारायणहिटी हत्याकाण्ड र राजा ज्ञानेन्द्रको सत्ता ‘कू’ सम्मै जारी रह्यो । त्यो कालखण्डलाई संसदीय विकृतिको युग भन्ने गरिन्छ ।

यही कालखण्डमा माओवादी जनयुद्ध भयो र देश थप तनाव र द्वन्द्वमा फस्यो । जनआन्दोलन २०६२/२०६३, मधेश जनविद्रोह, संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापनापछि आशाका नयाँ किरणहरू उदित भएका थिए ।

पहिलो संविधानसभा संविधान नै नबनाइकन विघटित भयो । दोस्रो संविधानसभाबाट संविधान जारी पछि पनि दलीय असन्तुष्टि र विवाद कायमै रहे । नयाँ संविधानमा अघिल्ला संसदीय विकृत अभ्यासबाट चेतेर सुधारिएको संसदीय व्यवस्थालाई संविधानमा लिपिवद्ध गरिएको छ । तर, राजनीतिका पुराना खेलाडीहरूले उही पुरानै विकृत व्यवहार दोहोर्याइरहेका छन् । खेलको नियम बदले पनि पुरानै नियममा अभ्यस्त खेलाडीहरू उही पुरानै अभ्यास दोहोर्याइरहेका छन् ।

७ दशक लामो कम्युनिष्ट आन्दोलनको प्रतिनिधित्व गर्दै अत्यधिक बहुमत पाएको नेकपा विघटन हुँदै एमाले विभाजनमा पुगेको छ । अर्थात, पछिल्ला अवधिहरू पनि संसदीय विकृतिको युगकै रूपमा दोहोरिएको छ ।

स्वर्गको ठेगाना, नर्कको बाटो

‘हामी स्वर्ग जाने ठेगाना लेखेको कागज गोजीमा बोकेर नर्क जाने बाटो हिंडिरहेका छौं ।’ यो भनाइ हो एमाले नेता घनश्याम भुसालको । उनले आफ्नै पार्टी नेतृत्वको आलोचना गर्दै उक्त कुरा बताएका थिए ।

दल विभाजन गर्ने अध्यादेश होस् वा अरु कुनै अलोकतान्त्रिक र अप्रिय निर्णय, सबै प्रमुख दलभित्र लोकप्रिय बन्न चाहने केही पात्रहरू विरोधका वक्तव्य दिन्छन् । एमालेमा भुसाल र कांग्रेसमा गगन थापाजस्ता केही दर्जन नेताहरू यसरी विरोधका बोली बोलिरहेका सुनिन्छन् ।

तर, उनीहरूको विरोधका बोली बतासे जस्तो लाग्छन्-नतिजा नदिने । यो पुस्तासँग निर्णायक विद्रोह गर्न सक्ने क्षमता देखिँदैन । न भुसालहरू विभाजन रोक्न सक्छन् वा उपयुक्त विकल्प दिनसक्छन् । न गगन थापाहरू दल विभाजनको अध्यादेश रोक्न सक्छन् ।

राजनीतिको ‘कम्फर्टटेबल जोन’मा रहेर मीठा कुरा बोल्दै लोकप्रिय जनमतको सहानुभूति लिन उनीहरू सफल छन् । तर उनीहरू न दलभित्रका शेरबहादुरहरू सुधार्न सफल छन् न संसदीय व्यवस्थाभित्रको विकृत अभ्यास । नतिजा नआउँदा लाग्छ- उनीहरू स्वर्गको ठेगाना लेखेको कागज खल्तीमा हालेर नर्कको यात्रामा छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap