कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं-८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं -५ का वडाध्यक्ष कमलराज गिरीले वैठक सुचारु हुनुपुर्व नै बैठकको निर्णय पुस्तिका (माइन्युट) वडाध्यक्षले च्यातेको बताए ।
यस्तै उनले रसिद दिएर वडाले रोयल्टी काट्नुपर्ने वडाध्यक्षको मागमा नगरले टेन्डर प्रक्रियमार्फत जानुपर्ने भनेपछि यस्तो भएको बताए ।शुक्लाफाँटा नगरपालिकाले वडाध्यक्षको उक्त शैलीलाई व्यक्तिगत दम्भ तथा अराजक शैली भनेको छ ।
बुधबार नगरको सभाहलमा ११४ औं कार्यपालिका बैठक बसेको अवस्थामा ११ बजेतिर उनले उक्त निर्णय पुस्तिका (माइन्युट बुक) च्यातेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ ।
नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटकपटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि अन्तिम चेतावनी स्वरूप कार्यपालिकाको निर्णय पुस्तिका च्यातिएको महराले बताएका छन् ।
उनले भनेका छन् यस कदमलाई कमजोरी सम्झी पुन: हर्कत दोहोरिए थप संघर्षमा उत्रिन बाध्य भइनेछ ।