शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै हो..


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७८ मा प्रकाशित     
शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै हो..

काठमाडौं चैत ९,शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताए । उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको पनि उल्लेख गरे ।

त्यस्तै, शिक्षा विभागले सामुदायिक विद्यालयहरुलाई अनुगमन, नियन्त्रण र गुणस्तरीय बनाउने काम गर्न नसकेको बताएका छन् । सामुदायिक विद्यालयहरुलाई मर्ज गर्नुपर्ने अवस्थादेखि लिएर विद्यालयको विषयगत सिकाई  ५० प्रतिशत भन्दा तल झरेको छ । यस्तो अवस्थामा फेरि नयाँ शैक्षिक धारको भारी विभागले बोक्न नसक्ने बताए । शिक्षक महासंघले पनि भोटको राजनिति गरेको कोइरालाले आरोप लगाएका छन् । महासंघले शिक्षकलाई संघीय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको बताए ।
‘सार्वजनिक शिक्षा विद्यार्थीहरुको रोजाइ’को नारालाई विद्यार्थी संगठनहरुले साझा नारा बनाउन सकेमा मात्र देशले शिक्षा क्षेत्रमा काँचुली फेर्न सक्ने बताए । वि.सं.२०३० देखि ६० सालसम्म विद्यालय र क्याम्पसहरू राजनैतिक मोर्चा र शिक्षक र प्राध्यापकहरू आन्दोलनका संवाहक बने ।

यो ऐतिहासिक समयले एउटा व्यवस्था बनायो र नयाँ संविधान जारी गर्यो । आज शिक्षाका दर्जनौ अधिकारहरू संविधानद्वारा प्राप्त भएको छ । २०७२ को संविधान पछि अवस्था बदलिएको छ । त्यसैले शिक्षाको सार्वजनिक बहस राष्ट्रिय आवश्यकताको नारा बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै उनले सर्वहारालाई निःशुल्क शिक्षा र अनिवार्य शिक्षाका लागि स्थानीय निकायले घर–घरबाट केटाकेटी विद्यालय गए वा नगएको हेर्नुपर्ने बताएका छन् । सरकारले सामुदायिक विद्यालयको कुरा गर्छ तर मान्छे प्राइभेट स्कुललाई बोक्ने निस्क्यो । सरकारी स्कुललाई बलियो बनाउन अभिभावकसँग पैसा लिने वा नलिने, कोसँग लिने वा नलिने र लिएको पैसा कहाँ लैजाने ? भन्ने विषयमा अझै धेरै छलफल हुनु पर्ने उनको राय थियो । अबका केटाकेटीले के गर्न सक्छन्, के कुरामा रुचि राख्छन्, त्यो खालको पाठ्यक्रम राख्नुपर्ने बताएका छन् । आफूले पढेको कुरालाई व्यवहारिक बनाउन आवश्यक छ । तब मात्र शैक्षिक लगानीको सदुपयोग गर्न सकिने उनको भनाइ थियो ।रातोपाटी
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap