विश्वभर ५ करोड मानिसले आधुनिक दासका रूपमा काम गरिरहेको तथ्यांक सार्वजनिक,


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७९ मा प्रकाशित     
विश्वभर ५ करोड मानिसले आधुनिक दासका रूपमा काम गरिरहेको  तथ्यांक सार्वजनिक,

काठमाडौँ भाद्र  २८,  — विश्वभर ५ करोड मानिसले आधुनिक दासका रूपमा काम गरिरहेको अनुमानित तथ्यांक सोमबार सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), वार्क फ्रि र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले आधुनिक दासभित्र पर्ने मानिसको संख्या सार्वजनिक गरेका हुन् ।

तथ्यांकअनुसार दुई करोड ८० लाख मानिस बाध्यकारी श्रममा फसेका छन् भने दुई करोड २० लाख मानिस बाध्यकारी वैवाहिक जीवनमा परेका छन् ।

प्रतिवेदनका अनुसार ५ वर्षभित्र आधुनिक दासको परिबन्दमा पर्ने मानिसको संख्या बढेको हो । २०१६ को तुलनामा एक करोड मानिस आधुनिक दासको परिबन्दमा परेका हुन् । त्यसमा महिला र बालबालिका बढी पीडित छन् । बाध्यकारी श्रममा फसेका झन्डै ५२ प्रतिशत र बाध्यकारी विवाहमा फसेका झन्डै २५ प्रतिशत मध्यम उच्च आम्दानी र उच्च आम्दानी हुने देशमा रहेको प्रतिवेदनले जनाएको छ ।

आईएलओका महानिर्देशक गाय राइडरले आधुनिक दासको अवस्थाले स्तब्ध पारेको बताए । ‘आधुनिक दासको अवस्थामा सुधार नभएकाले हामीलाई स्तब्ध पारेको छ, आधारभूत मानवअधिकारको यो दुरुपयोगलाई कुनै पनि कुराले औचित्य पुष्टि गर्न सक्दैन,’ आईएलओका महानिर्देशक राइडरले भने, ‘हामीलाई थाहा छ, हामीले के गर्न आवश्यक छ र के गर्नुपर्छ । यसका लागि आधारभूत राष्ट्रिय नीति र नियमलाई प्रभावकारी बनाउनुपर्छ तर सरकार एक्लैले गर्न सक्दैन । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि सबैले एकापसमा हात मिलाउनुपर्छ । ट्रेड युनियन, रोजगारदाता संगठन र नागरिक समाजले खबरदारी गर्नुपर्छ ।’

८६ प्रतिशत बाध्यकारी श्रम निजी क्षेत्रमा भेटिएको छ । सबैथरी बाध्यकारी श्रमको ६३ प्रतिशत भने व्यावसायिक यौन शोषणसँग जोडिएको छ । १४ प्रतिशत बाध्यकारी श्रम राज्य सिर्जित छ । आठ जनामा एक जनालाई बाध्यकारी श्रममा लगाएको भेटिन्छ । वैदेशिक रोजगारीमा जाने कामदार तेब्बरले बाध्यकारी श्रमको उच्च जोखिममा रहेको प्रतिवेदनले जनाएको छ ।

‘वैदेशिक रोजगार वा आप्रवासनमा बस्नेको जीवनमा धेरै उज्यालो पक्ष छ, घरधुरी, समुदाय र समाजमा धेरै फाइदा पुर्‍याएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘आप्रवासन प्रक्रियाको गैरकानुनी अभ्यास, सरकारको कमजोर उपस्थिति, अनैतिक भर्ना प्रक्रियाले वैदेशिक रोजगारीमा जाने कामदार बाध्यकारी श्रममा फसिरहेका छन् ।’

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोका अनुसार प्रतिवेदनले सबै बसाइँसराइ सुरक्षित, व्यवस्थित र नियमित छ भनी सुनिश्चित गर्न जरुरी छ भन्ने कुरालाई जोड दिएको छ । कान्तीपुर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap