विश्वकपको म्याच बल इण्डोनेसियाली कनेक्सन


लेखक : सुन्दराञ्चल      मंसिर १२, २०७९ मा प्रकाशित     
विश्वकपको म्याच बल  इण्डोनेसियाली कनेक्सन

१२ मंसिर, इण्डोनेसिया । इण्डोनेसिया भलै विश्वकपमा छनोट हुन सकेको छैन तर, जाभामा रहेको एक कम्पनीले आधिकारिक म्याच बल निर्माताका रुपमा विश्वकपमा आफ्नो उपस्थिति देखाएको छ ।

कतारका विश्वकप २०२२ का लागि आधिकारिक फुटबल ‘अल रिहला’को निर्माण इण्डोनेसियाको पूर्वी जाभास्थित मडियुन क्षेत्रमा भएको हो । स्थानीय खेल सामग्री उत्पादक कम्पनीले यहाँ सन् २०१९ मा कारखाना स्थापना गरेको हो । उसको आधिकारिक वेवसाइटअनुसार त्यहाँ २ हजारभन्दा बढी कामदार छन् ।

मडियुनका एक बासिन्दा अहमद दवामीले विश्वकपको आधिकारिक म्याच बल आफ्नो क्षेत्रमा उत्पादन हुनु गर्वको क्षण भएको बताए । उनका अनुसार यो कम्पनीले सन् २०२० देखि नै स्थानीय अर्थव्यवस्था बढाउन सहयोग गरेको छ ।

‘यहाँ सन् २०२० मा कारखाना स्थापना हुनु नै हाम्रो लागि गर्वको कुरा थियो । यो कारखाना हाम्रा लागि सबैथोक हो,’ दवामीले अलजजिरासँग भनेका छन् ।

अल रिहलाको अरेविक अर्थ ‘यात्रा’ हो । एडिडाससँगको सहकार्यमा म्याच बल उत्पादन भइरहेको छ । विश्वभर खेल सामग्री निर्यात गर्ने पीटी ग्लोबलले पुमा, यूएचएल स्पोर्ट र मिजुनोलगायतका कम्पनीसँग पनि सहकार्य गरिरहेको हुन्छ ।

डवामीका अनुसार कारखानामा १० लाख फुटबल उत्पादन गरिएको छ । ती बल विश्वकपको खेलका साथै विश्वभर पठाइएको छ । उनका अनुसार कोरोना महामारी र युक्रेन–रुस युद्धका कारण चुनौतिपूर्ण अर्थव्यवस्थाका बीच मेडियुनले हजारौं फुटबलको अर्डर लिएको थियो र यहाँका युवा श्रमिकलाई रोजगार उपलब्ध गराएको थियो ।

इण्डोनेसियाको केन्द्रीय तथ्यांक विभागका अनुसार मडियुनको अर्थव्यवस्था सन् २०२० को तुलनामा सन् २०२१ मा ३.३४ प्रतिशतले बढेको थियो । इण्डोनेसिाको विदेश मन्त्रालयले पनि फुटबल निर्यातमा समर्थन गर्दै भनेको छ, ‘पूर्वी जाभाका जनतालाई संसारको आर्थिक प्रतिध्वनीको हिस्सा बन्ने अवसर बन्नेछ ।’

सरकारी आँकडा अनुसार पूर्वी जाभालाई इण्डोनेसियाको बाणिज्य केन्द्रका रुपमा मानिएको छ । इण्डोनेसियाको कुल गाह्र्रस्त उत्पादनको १५ प्रतिशतभन्दा अधिक योगदान यो क्षेत्रबाट हुने गरेको छ । पूर्वी जाभा ठूला आकारका उद्योगका लागि परिचित छ ।

‘भाग्यवस महामारीपछि अर्थव्यवस्था राम्रो बनाउन यो कारखाना प्रतीक बनिरहेको छ,’ दवामीले भने, ‘मेरो विचारमा यो क्षेत्रका लागि कोशेढुंगा बनेको छ । कारखाना र विश्वकपले हामीलाई काममा उर्जा भरेको छ ।’

अल दवामी । तस्वीर : अलजजिरा

अल रिहला विश्वकपको १४औं आधिकारिक म्याचबल हो । फिफाका अनुसार यो अहिलेसम्मकै तीव्र र सटिक बल हो । बलको डिजाइन दोहास्थित पारम्परिक डुंगाको रंगसँग मिल्दोजुल्दो छ । बलको सेतो पृष्ठभूमिमा निलो, रातो र पहेँलो रंगको प्रयोग गरिएको छ जसले कतारी परिदृश्यलाई चित्रित गर्नेछ ।

अल रिहला पहिलो फुटबल हो जसको निर्माणमा पानीमा आधारित मसी र ग्लूको प्रयोग गरिएको छ । जसले वातावरणीय क्षति कम गर्ने विश्वास लिइएको छ ।

‘अल रिहलाको विश्वव्यापी यात्राले फिफा विश्वकपको अविश्वसनीय पहुँचको प्रतिनिधित्व गरेको छ र समर्थकलाई यो विश्वव्यापी मेलामा जोड्नका लागि अवसर प्रदान गरेको छ,’ फिफाका मार्केटिङ डाइरेक्टर जिन फ्रान्कोइस प्याथीले भनेका छन् ।

रोजगारीका लागि संघर्षरत २३ वर्षीय इल्हाम पछिल्लो पाँच महिनादेखि कारखानामा काम गरिरहेका छन् । प्रतिष्ठित प्रतियोगितामा प्रयोग हुने बल बनाउने कम्पनीमा काम पाएपछि उनी अहिले सन्तुष्ट छन् ।

‘मलाई फुटबल हेर्न र खेल्न रमाइलो लाग्छ,’ इल्हामले अल जजिरासँगको कुराकानीमा भनेका छन्, ‘फुटबलसँग सम्बन्धित जागीर पाएकोमा म भगवानलाई धन्यबाद दिन्छु । स्थानीय समुदायले यसरी रोजगारको अवसर पाउनु वास्तपमै राम्रो कुरा हो । मैले कारखानामा धेरै साथीहरु पाएको छु ।’

इण्डोनेसियाली राष्ट्रिय टिम सपोटर्स एशोसिएसनका प्रमुख इन्गाटियस इन्द्रो आफ्नो देशको उत्पादनले विश्वव्यापी रुपमा मान्यता पाउनुलाई गर्वको विषय मान्छन् । ‘इण्डोनेसिया राष्ट्रिय टिमको समर्थकका रुपमा हामीलाई अल रिहला बलमाथि गर्व छ । हाम्रो टिम भलै विश्वकपमा छनोट हुन सकेन तर, हाम्रो स्थानीय उत्पादन अब विश्वव्यापी भएको छ ।’

इन्द्रोले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको आगामी विश्वकपमा आफ्नो टिमले सफलता पाउने आशा व्यक्त गरेका छन् । स्वतन्त्रतापछि इण्डोनेसियाले विश्वकपमा आफूलाई उतार्न सकेको छैन । सन् १९३८ को विश्वकपमा उनीहरुले डच इस्ट इण्डिजको नामबाट सहभागिता जनाएका थिए । ‘हामी समर्थकका रुपमा हाम्रो टिमले विश्वकपमा छनोट भएर नयाँ इतिहास राखेको हेर्न चाहन्छौं ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap