विबाह गरेपछिको मान्छे म ?


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०७९ मा प्रकाशित     
विबाह गरेपछिको मान्छे म ?

फागुन १२,अलि उमेर पुगेपछि धेरैबाट ‘अब विवाह गर्नुपर्छ है’ भन्ने बाहेक सल्लाह र आशीर्वाद नढाँटेर भनुँ भने मैले कहिल्यै कसैबाट पाइनँ। सायद सबैको अनुभव उही होला।

आफूले मागे पनि नमागे पनि, आफूलाई चाहिए पनि नचाहिए पनि मान्छेले अरुलाई भरपूर दिनसक्ने भनेको यही सल्लाह त रहेछ। त्यो पनि विवाह गर भन्ने सल्लाह दिनमा डक्टरदेखि कन्डक्टरसम्म, सिपाहीदेखि जर्नेलसम्म, सामान्य भुइँमान्छेदेखि पाइलटसम्म सबै मान्छे विज्ञ हुनेरहेछन्।

मैले मान्छेको सबैभन्दा बढी विज्ञता यही सल्लाहमा मात्र देखेँ।

सबैको सल्लाह आशीर्वादलाई गम्भीर ध्यानमा राखेर विवाह गरिदिएँ मैले पनि। शुभविवाहको तुल बनाएँ। श्रीमतीको लागि चार/पाँच तोलाको सक्कली र सात/आठ तोलाको नक्कली गहना बनाएँ।

एउटा कार भाडामा ल्याएर ‘विवाह कहिले खुवाउँछ यार’ भनेर कराइरहने साथीहरूलाई बोलाएर दिनभर शृंगार्न लगाएँ। ‘विवाह खुवाइनस् नि’ भनेर बारम्बार कचकच गरिरहनेहरूलाई किचनको जिम्मा दिएँ। डाडुपन्यु, थाल, कचौरा सबै उनैको जिम्मामा लगाइदिएँ।

१०० जना जति मान्छेलाई पार्टी प्यालेसमा बोलाएर भोज खुवाएपछि मेरा शुभचिन्तकको टाउको दुखाइ निको भएको हनुपर्छ। कतिले हार्दिक बधाई भनेँ, शुभकामना भने। कतिले आइज अब हाम्रो शहिद टिममा भनेर व्यंग्य गरे। मैले जस-जसले जे भन्छ त्यसैमा हाँसिदिएँ।

विवाह गरेको भोलिपल्ट बिहान उठ्दा आफूलाई हिजोजस्तो अनुभव भएन। हिजोसम्म केटो मान्छे आज कसैको श्रीमान् भइसकेको थिएँ। एउटा छोरोबाट कसैको लोग्ने, कसैको ज्वाइँ, कसैको भिनाजु, कसैका साढुदाइ के-के हो के-के।

सबैभन्दा डरलाग्दो मेरो नामको पछाडि झुन्डिएको कसैको श्रीमान् भन्ने उपाधि। ऐना हेरेर एक पटक आफ्नो झुसे अनुहार मुसारेँ र मुसुक्क हासेँ।

बिहान मर्निङवाक निस्केको मान्छे, उस्तै परे ११ बजे घर फर्कने मान्छे म विवाह गरेपछि बिहान सात बजे हातमा सागपात तरकारी या कुनै घरमा चाहिने सामग्री कुचो-झाडु, जे घरमा चाहिन्छ त्यही बोकेर आउनुपर्ने भयो।

सात ठाउँमा बसेर साथीहरूसँग चिया पिउँदै गफ लगाउने, देशमा कसलाई प्रधानमन्त्री बनाउने र कसलाई मन्त्रीबाट हटाउने, अमेरिकाको राष्ट्रपति जोन बाइडेनका गल्ती र कमिकमजोरी पत्ता लगाएर सुध्रन टिप्स दिने यस्ता कैयौँ स्वतन्तत्रता खोसिए।

कल्पना थियो विवाहपछि आफू अफिस जान सुट लाएर तयार हुँदा जीवनसाथीले घाँटीमा टाई लगाइदिनेछिन्। मानौँ कि फिल्ममा अमिताभ बच्चनलाई हेमा मालिनीले जस्तै अनि निधारमा एक चुम्बन दिएर बिदाइ गर्दै भन्नेछिन्- आफ्नो ख्याल गर्नू, अफिस वर्कमा धेरै तनाव नलिनू।

तर त्यसो भएन। म अफिस जानुभन्दा १५ मिनेटअघि नै उनी कोठाबाट निस्किछिन्। जाँदाजाँदै भन्छिन्- मलाई छिट्टै पुग्नुपर्ने छ अफिस। भाँडा माझ्न भ्याइनँ, भ्याए तपाईं माझेर जानू। नभ्याए बेलुका म ढिलो आएँ भने तपाईंले माझ्नू, खाना बनाउन म आइपुग्छु।

हुन त आफ्नै क्रान्तिकारी विचारले जागीर गर्ने केटी विवाह गरेको अब कसप्रति गुनासो गर्नु थियो र? सके भनेको काम गर्नू, नसके सुनिरहनु बाहेक विकल्प थिएन।

जवाफमा कहिलेकाहीँ म भन्छु- होइन खाना पनि बनाउन पर्दैन डियर, म अनलाइन अर्डर गरौँला नि।

साथीहरू भन्थे- तेरो त ठिकै छ यार कम्तीमा साँझ-बिहान त सँगै छौ। बिदाको दिन आफ्नो छ। हाम्रो त विवाह गर्यो, घरमा श्रीमती छोडेर झोला बोकेर हिँड्यो, जिन्दगी दौडधुपमै सकिन्छ।

विदेश बस्ने साथीले पनि भन्छन्- यहाँ आएको त सँगै हो तर भेटघाट हप्तामा एक/दुई दिन हुन्छ। सँगै बस्न, खान र सुत्न पाउनु त भाग्यको कुरा हो। सँगै भएर कहिलेकाहीँ झगडा गरेर बस्नु पनि त मजै हुन्छ कि।

सबै कुरा सोच्दा ठिकै चलिरहेछ आफ्नो जस्तो पनि लाग्छ।

कहिलकाहीँ यसो बाहिर एक/दुई दिनलाई घुम्न निस्कँदा पहिलाजस्तो फ्याट्ट झोला बोकेर निस्कन गाह्रो रहेछ, विवाह गरेपछिको मान्छेलाई। श्रमितीसँग मौका पारेर खुसी भएको बेलामा इजाजतपत्र लिनुपर्ने, उनका माइतीतिरका कस-कसको जन्म दिन कहिले परेको छ पात्रो हेर्नुपर्ने, कोही बिरामी परेको छ भने घुम्न होइन बिरामी कुर्न अस्पताल गइदिनुपर्ने।

घरमा सासू, दिदी आउँदै हुनुहुन्छ भने पनि जान नमिल्ने, सालीको जन्मदिन रहेछ भने पनि हिँड्न नहुने। एक किसिमको कर्फ्यु नै रहेछ विवाह भन्ने कुरा, अनुभव हुनसक्छ स्वतन्त्र भएर हावाजस्तै बग्न। बहन बानी परेका मान्छेलाई सकस लाग्न सक्छ।

फेरि कहीँकतै सुन्दर लाग्न सक्छन् केही क्षणहरू। बेलुका बाहिर काम या अफिसबाट फर्केपछि एकछिन बैठक कोठामा सँगै बस्नु, दिन कसको कसरी बित्यो आपसमा अनुभव साट्नु, भान्सामा मिठो गीत बजाउँदै दुवैजना मिलेर तरकारी केलाउनु पकाउनु, बिहान बिस्तरामै मनतातो पानी ल्याएर उठ्नुस् न ढिलो भएन र अब भनेर कसैले मायाले बोलाउनु, यसो बिरामी हुँदा छेउमा बसेर केयर गर्ने एउटा मान्छे हुनु यसको मिठास पनि फरक छ।

अफिसबाट फर्कंदा ‘खोई ड्याडी आज मलाई के ल्याइदिनु भयो’ भनेर घुँडामा अँगालो हाल्न आउने छोराको आँखामा हेर्छु। सुतिरहेको, निदाइरहेको बेला कान तानेर उठाइदिने सानी छोरीको अनुहार हेर्छु। रिसाउन खोज्छु तर खै मनले रिसाउनै मान्दैन। रिसाएजस्तो गरेर उसलाई तान्छु अनि अंगालो हालेर गुटमुटिन्छु ऊसँगै।

विवाहको यो सुन्दर पक्षलाई बिर्सनु पनि त हुँदैन। यद्यपि केही वैयक्तिक स्वतन्त्रताका कुरा ओझेलमा परेका हुन सक्छन्। फेरि विवाहपछि पनि जीवनसाथी कुनै कारणले सँगै बस्ने अवसर मिलेको छैन र माथि भनेजस्तै स-साना कुरामा पनि साथ मिलेको छैन भने त्यो विवाहित जिन्दगी र एकल जिन्दगीमा खासै फरक पनि के भयो र?

एउटा घरदेश र अर्को परदेश भएर वा पारिवारिक आवश्यकताकै लागि एक अर्कादेखि टाढा भएरै जिन्दगी दोडधुपमा रित्तिन्छ भने त्यो विवाहित जिन्दगीलाई के खुसी जिन्दगी मान्नु र?

विवाहित जिन्दगी खुसी कि अविवाहित जिन्दगी खुसी भन्ने प्रश्नमा सबैका आफ्नै-आफ्नै अनुभव अनुसारका उत्तर हुन्छन्। कसैले विवाहपछि दुःख पायो उसले भन्छ अविवाहित जिन्दगी ठिक। जसले विवाहपछि सुख पायो उसले भन्छ विवाह गर, विवाहित जिन्दगीको अर्कै मजा छ।

म भन्छु जिन्दगीलाई विवाहले कहिल्यै दुखी बनाउँदैन। विवाहित जिन्दगीलाई दुखी या सुखी बनाउने त त्यो सम्बन्धमा जोडिएको मान्छे कस्तो छ त्यसले निर्धारण गर्ने कुरा हो। अविवाहित जीवनै खुसी भन्ने कुरा पनि सबैमा लागु हुँदैन उसले आफ्नो जीवनलाई कसरी व्यवस्थापन गर्छ बाँच्ने कला जानेको छ/छैन, जीवन शैली कस्तो छ त्यसले उसको सुख दुःखलाई निर्धारण गर्दछ।

म भन्छु सबैभन्दा दुखी मान्छे त संसारमा ती हुन् जो विवाहित जीवन सुखी कि अविवाहत जीवन सुखी भन्ने विषयमा तर्क वितर्क गरेर समय खेर फालिरहेछन् र अरुलाई यस्तो जिन्दगी बाँच भनेर सल्लाह दिइरहेछन्।

म भन्छु विवाहित जिन्दगी बाँच या अविवाहित जिन्दगी बाँच तर एउटा आदर्श जिन्दगी बाँच। विवाह गरेका मान्छे आदर्श पति बन या पत्नी भएर बाँच। आदर्श बाबु या आमा भएर बाँच। अविवाहित जिन्दगी बाँच्नेहरू तिमीहरूलाई छेक्ने कुनै सीमा र बन्धनहरू छैनन्। खुला आकाशमुनि स्वतन्त्र चरो भएर उड।

विवाह गर्नुअघि स्वतन्त्र चरो भएर उडेको मान्छे म अचेल पखेटा काटिएको जस्तै भएको छु। म पहिला आकाशमा थिएँ, अहिले धरातलमा छु जहाँ करोडौँ मान्छेहरू हजारौँ गुनासो बोकेर बाँचिरहेछन्। बाहिर नदेखिने गरी, कसैले नसुन्ने गरी भित्रभित्रै भनिरहेछन्- ‘क्या झुर भो यो जिन्दगी।’

अनि म पनि मान्छेहरूलाई सल्लाह दिन्छु- विवाह गर है विवाह गर, नत्र जिन्दगीमा दुःख पाइएला। सेतोपाटी साभार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap