काठमाडौँ — पाँच दलीय विद्यार्थी संगठनले कोरोना जोखिम बढेको भन्दै विद्यार्थीलाई देशका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार संयुक्त विद्यार्थी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ– ‘त्रिविले रोकिएका परीक्षाहरु सञ्चालन गरिरहेको र अन्य केही विश्वविद्यालयको पनि परीक्षा चालु रहेको र केही तयारीमा रहेको अवस्थामा परीक्षा सञ्चालनको लागि परिचालन गरिने विश्वविद्यालयको जनशक्ति र विद्यार्थीहरुलाई खोप लगाएर मात्र परीक्षा सुचारु गर्न माग गरेका थियौं । ‘
देशभरका विद्यार्थीहरुलाई खोप नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको संगठनले बताएको छ । यसकै कारण विद्यार्थीहरुमा मानसिक तनाव समेत थपिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।