विद्यार्थीको सिकाइमा सहजीकरण : स्थानीय तहको उदासीनता


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
विद्यार्थीको सिकाइमा सहजीकरण : स्थानीय तहको उदासीनता

नेपाल सरकारले २०७६ साल चैत ११ गतेबाट कोभिड महामारीको असहज परिस्थितिलाई मध्यनजर गरी बन्दाबन्दी घोषणा ग–यो । यो बन्दाबन्दीबाट सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित भयो । यो असहज परिस्थितिमा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई सिकाइप्रति जिम्मेवार बनाउने भन्ने सवालमा तीन तहका सरकारहरू अलमल र उदासीन छन् ।

बालबालिका भोलिका कर्णधार हुन् । उनीहरूसँग देशको भविष्य जोडिएको छ । शिक्षण सिकाइको केन्द्रीय दायित्व बोकेका शिक्षकहरू पनि असहज परिस्थितिलाई सहजीकरण गर्नेतर्फ उत्सुक र संवेदनशील देखिएनन् ।

नेपालको संविधानले विद्यालय तहको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएको छ । संवैधानिक दायित्वको दृष्टिले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन र रेखदेख गर्ने सवालमा केन्द्रभन्दा स्थानीय तह वा सरकार नै बढी जिम्मेवार निकाय हो । यो तहले संवैधानिक दायित्व बोध गर्न सकेन । सायद माध्यमिक शिक्षाको बोझ बोक्न सक्ने सामर्थ्य स्थानीय तहले राख्दैनन् भन्ने बौद्धिक वृत्तमा भइरहेको बहसको पुष्टि त हुँदै छैन ? शिक्षा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । संविधानतः शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारको सुनिश्चितता स्थानीय तहले पूरा गर्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यासका दृष्टिले हेर्दा महामारीको रोकथाम र व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भूमिकाभित्र मात्र पर्दैन, केन्द्र र प्रदेश सरकारहरू पनि उत्तिकै जिम्मेवार मानिन्छन् । प्रदेश सरकारको तुलनामा सङ्घीय सरकार अझ बढी उत्तरदायी र जवाफदेही हुनुपर्ने हुन्छ । सङ्घीय शिक्षा मन्त्रालयले सिकाइ सहजीकरणको लागि प्रभावकारी कार्य गर्न सकेको देखिएन । सानोतिनो कुरामा अल्झियो । केन्द्र सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकारका बीच प्रभावकारी संयन्त्र निर्माण गरेर सिकाइ वातावरण निर्माण गर्न सक्थ्यो ।

महामारीको फैलावट हिमाल, पहाड र तराईमा एकै प्रकारले फैलिएको थिएन र छैन । कोभिडको प्रभाव सहर र गाउँमा पनि एउटै छैन । महामारीको फैलावटका आधारमा भूगोललाई विभाजन गरी सोहीअनुसारको सिकाइ वातावरण र सहजीकरणको वैकल्पिक उपायहरू खोज्दै स्थानीय सरकारलाई नै जिम्मेवार बनाउनु पर्थ्यो ।

केन्द्र सरकारले कहाँ कस्ता खालका चुनौतीहरू आइपरेका छन् वा पर्न सक्छन् ? ती चुनौतीहरू हल गर्न स्थानीय सरकार सामर्थ्यवान् छन् या छैनन् ? त्यसको आँकलन गरी प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने थियो । सङ्घीय शिक्षा मन्त्रालयले स्थानीय सरकारहरूलाई जहाँ जे जसरी गर्न सकिन्छ त्यहीअनुसार सिकाइलाई निरन्तरता देऊ भनेको भए अहिलेको अलमलको अवस्था आउने थिएन ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ साल जेठ महिनामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी ग–यो । यो निर्देशिका अपूर्ण भयो भन्ने सरोकारवालाहरूले आवाज उठाएपछि २०७७ भाद्र महिनामा मन्त्रीस्तरीय निर्णयबाट परिमार्जन गरियो । यसले सिकाइ सहजीकरणमा देखिएका अन्योललाई केही हदसम्म हल गर्न सफल भयो । यो निर्देशिकाले विद्यार्थीहरूलाई वर्गीकरण गरी विभिन्न वैकल्पिक सिकाइ विधिहरूको प्रयोग गरेर सिकाइ सहजीकरण कानुनी आधार दियो । त्यसका साथै यो निर्देशिकाले सिकाइ सहजीकरणको लागि दिशानिर्देश पनि ग–यो । जसअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्चुअल शिक्षण सामग्री र विद्यार्थी स्वअध्ययन विकास गरी वेबसाइट, युटुयबमा राख्ने तथा रेडियो, टेलिभिजनबाट निरन्तर कार्यक्रमहरू पनि प्रसारण गरियो । यी वैकल्पिक विधिबाट अध्यापन गरेको पढाइलाई क्रेडिट आवरको मान्यता दिएको छ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले वैकल्पिक सिकाइलाई सहजीकरणमा मात्र गरेन, निर्देशिकाको दफा ३३ को उपदफा (२) र (३) ले स्थानीय तहलाई सिकाइ सहजीकरणको लागि त्यत्तिकै जिम्मेवार पनि बनाएको छ । निर्देशिकामा भनिएको छ– क्षेत्र विशेषमा स्थानीय तहले महामारीको अवस्थाको आँकलन गरी कम जोखिम क्षेत्रमा प्रत्यक्ष सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्नेछन् ।

यो व्यवस्थाले वडाले पनि आवश्यकताअनुसार सिकाइ सहजीकरणको वातावरण निर्माण गर्ने सक्ने देखिन्छ । यसले वडालाई प्रत्यक्ष सिकाइ क्रियाकलाप सञ्चालन गर्न पनि अनुमति दिएको देखिन्छ । स्थानीय तहहरूले केन्द्र र जिल्ला सङ्कट व्यवस्थापन समितिसँग समन्वय गरी सिकाइ सहजीकरणको लागि पहल गर्न सक्ने आधारहरू देखिन्छ । यही कानुनी आधारमा टेकेर काभ्रे लगायत धेरै जिल्लाका स्थानीय तहहरूले प्रत्यक्ष र वैकल्पिक दुवै शैक्षिक विधि प्रयोग गरेर सिकाइलाई प्रभावकारी रूपमा सञ्चालन गरेको देखिन्छ ।

सिकाइ सहजीकरणमा स्थानीय सरकार मात्र दोषी छैनन् । शिक्षाका सरोकारवालाहरू पनि दोषबाट मुक्त हुन सक्ने अवस्था छैन । सिकाइ वातावरण निर्माण गर्ने पहिलो दायित्व शिक्षकको हो । अन्य पेसाका मानिसहरू जस्तै शिक्षकहरू पनि दायित्व लिन अग्रसर देखिएनन् । उनीहरूले शिक्षण मेरो काम हो, यसका लागि मैले राज्यबाट तलब खाएको छु । मेरो नैतिकता बालबालिकाको सिकाइसँग जोडिएको छ भन्ने कुरा शिक्षकले महसुस गर्नुपर्थ्यो । अहिलेको अवस्था असामान्य हो । सामान्य तरिकाले सोचेर मात्र हुँदैन भन्ने कुरा शिक्षकले आत्मानुभूति नगर्दासम्म स्थानीय र केन्द्र सरकारले बनाएका नीति, नियम, निर्देशिकाहरुलाई काम गर्दैनन्, निकम्मा हुन्छन् । शिक्षण पेसा नैतिकतासँग जोडिएको पेसा पनि हो । प्रत्येक शिक्षकले आफूले आफूलाई नचिन्दासम्म विद्यालय शिक्षामा सुधार हुँदैन ।

महामारीको असहज परिस्थितिमा अधिकार खोज्ने शिक्षकहरू दायित्वबाट क्रमशः स्खलित हुँदै गएको देखिन्छ । शिक्षकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण विभेदकारी छ । त्यो हल हुनुपर्छ तर शिक्षक आफू इमानदार र नैतिकवान् भएपछि मात्र राज्य र समाजले शिक्षकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ । दृष्टिकोणमा परिवर्तन हुनु भनेको विभेदको अन्त्य हुनु हो । शिक्षक आफ्नो पेसागत जिम्मेवारी र इमानदारिताबाट च्युत हुँदै गएको देखिन्छ ।

जस्तो– शिक्षकहरू सिकाउने कुरा छाडेर कक्षा चढाउने कुरा प्रति उद्यत देखिन्छन् । कुन तहको सिकाइ उपलब्धि कति ? त्यो सिकाइ उपलब्धि त्यो विद्यार्थीले हासिल ग–यो कि गरेन ? भन्ने कुरामा शिक्षक क्रमशः उदासीन हुँदै गएको देखिन्छ । यस्तो प्रवृत्ति विकास हुँदै जाने हो भने शिक्षकको पेसागत दक्षताका लागि राज्यले गरेको अर्बौं लगानी खेर जाने देखिन्छ ।

शिक्षामा अब्बल मानिएका विश्वका केही देशहरूले अवलम्बन गरेका केही असल अभ्यास नेपालका लागि पनि अनुकरणीय हुन सक्छन् । जस्तो अमेरिकाका केही विद्यालयका शिक्षकहरूको तलब विद्यार्थीहरूको परीक्षाफलका आधारमा थपघट हुने गर्छ ।

दक्षिण कोरियामा प्रत्येक ५ वर्षमा शिक्षक र प्रधानाध्यापकको अनिवार्य सरुवा हुन्छ । शिक्षकले सबै प्रकारका अनुभव लिन पाउन् र त्यहाँका सफल स्कुल जसलाई मोडेल स्कुलको अनुभवलाई कमजोर स्कुलको सुधारमा प्रयोग गर्न सकुन् भनेर यस्तो नियम बनाइएको छ । फिनल्यान्डमा गृहकार्य अत्यन्तै कम दिइन्छ, बढीमा आधी घण्टामा सकिने । बढी गृहकार्य दिएर अनावश्यक तनाव दिने काम त्यहाँ गरिँदैन । त्यहाँ विद्यार्थीका निजी ट्युटर पनि हुँदैनन् । विद्यार्थीले पाठ्यक्रमले निर्दिष्ट गरेका सक्षमता विद्यालयमै सिक्छन् । खाली समयमा भने विद्यार्थीले आफ्ना रुचिका विषय सिक्छन्– सङ्गीत, गायन, नृत्य, खेलकुद आदि ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको परिप्रेक्ष्यमा आफू मातहतमा रहेका विद्यालय र सो विद्यालयमा कार्यरत शिक्षकलाई कसरी परिचालन गर्ने भन्ने कुरा स्थानीय सरकारको दायित्व हो ।

सङ्घीय शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले स्थानीय तहले आवश्यकता र जोखिमको सघनतालाई आकलन गरी प्रत्यक्ष सिकाइ सञ्चालन गर्न सक्ने बाटो पनि खोली दिएको छ । तसर्थ केन्द्रको मात्र मुख ताक्ने, देला र चलाउँला भन्ने मानसिकता स्थानीय सरकारको नेतृत्वमा बस्नेहरूले त्याग्नुपर्छ ।

स्थानीय स्वास्थ्य संस्था, अभिभावक र अन्य शिक्षा सरोकारवालाहरुसँग समन्वय गरी वैकल्पिक र प्रत्यक्ष दुवै विधिका आधारमा प्रभावकारी कक्षा सञ्चालन गर्नेतर्फ स्थानीय तहको नेतृत्व अग्रसर हुनुपर्छ । साभार राताेपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap