काठमाडौँ : आश्विन ५,रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणमा लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ९ सय ६५ जनामध्ये सिप परीक्षामा आठ हजार १ सय ५१ परीक्षार्थी उत्तीर्ण भएका हुन् । दोस्रो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय १४ जना सिप परीक्षामा अनुत्तीर्ण भए ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९ सय ३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३ सय २६ जना सहभागी भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको सिप परीक्षाका नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ ।
सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७ सय ५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । पहिलो चरणमा परीक्षामा ४० हजार ५ सय ८० जना सहभागी भएकोमा भाषा परीक्षाा छ हजार ३ सय २१ जना उत्तीर्ण भएका थिए । पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७ सय ४१ जना सिप परीक्षामा अनुत्तीर्ण भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार भार सयमध्येको हो ।
एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ । सो शाखाका दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने छ ।
कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशन गरिएको हो । आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिए ।
उनले भाषा परीक्षाका लागि एक लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिएकोमा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको बताए । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।