राष्ट्रिय सहयोद्धाको खोजी


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
राष्ट्रिय सहयोद्धाको खोजी
थारूहरूमा किन आफ्नो समुदायलाई कसैले विश्वास गरेनन् भन्ने भाव आउनु चिन्ताजनक सामाजिक वास्तविकता हो । अहिलेको जल्दोबल्दो वास्तविकता । यस्तो अवस्थाले लोकतान्त्रिक गणतन्त्रको आवरणमा राज्यको पुरानै साम्प्रदायिक चरित्र जीवन्त रहेको संकेत दिन्छ ।

भास्कर गौतम

टीकापुर घटनाले थारूको मुक्ति संघर्षमा चौतर्फी असर निम्त्याएको यो साता ६ वर्ष पुग्दै छ । यी असरहरूको केन्द्रमा वर्चस्वशालीहरूको स्वार्थरक्षामा राज्यका संयन्त्रहरू प्रयोग भएको हिंसात्मक कथा छ । धेरै थारूलाई झुठा मुद्दामा फसाइएको र कसैले पनि न्याय नपाएको कथ्य कथाको पेटबोलीमा छर्लंग छ ।

थारूको अवस्था, उनीहरूले भोगेको अन्याय, उनीहरूले बेहोरेको सामाजिक विभेद र समग्र क्षतिबारे कथाको पादटिप्पणीमा समेत लेखिएको छैन । सार्वजनिक वृत्तमा हुनुपर्ने न्यूनतम उत्सुकताको अभावमा थारूका कथाव्यथा पन्छाइएका छन् । कतिपय अवस्थामा दबाइएका छन् । तर केही थारू अभियन्ता यसबारे निरन्तर बोलिरहेका छन् । थारूको कुरा मूलतः थारूहरूले नै सुन्ने अवस्था बलशाली छ । त्यसैले मुक्ति अभियानमा पूर्णतः होमिएको समूह सानो छ । तथापि विगत तीस महिनामा व्यापक जनपरिचालनसहित मुक्ति अभियानमा थारूहरू नयाँ किसिमले लागेका छन् ।

थारू मुक्तिको यो अभियान थरूहट/थारूवान राष्ट्रिय मोर्चाले हाँकेको छ । हाल कुनै पनि दलमा संलग्न नरहेका लक्ष्मण थारू र श्रवण थारूले मोर्चालाई सम्हालेका छन् । अन्य दलमा आस्था राख्ने र सक्रिय रहने धेरै थारू नेता र अभियन्ताको उनीहरूलाई साथ–सहयोग छ । थारूइतर आदिवासी अभियन्ताहरूको समेत धेरथोर साथ छ । यी सबैको साथ पाएकाले भदौ १ गतेदेखि माइतीघर मण्डलामा मोर्चाले तीनदिने प्रदर्शनको आह्वान गरेको छ । सो प्रदर्शनको मूल ध्येय तीनटा अन्योन्याश्रित प्रश्नले समेट्छन् । वर्चस्वशालीहरूका पक्षमा टीकापुर घटना रचिएको र थारूहरूलाई आरोपित गरिएको तथ्य धेरै हदसम्म प्रस्ट भइसक्दासमेत थारू अभियन्ताहरूले किन न्याय पाइरहेका छैनन् ? नेपालको विविधताअनुरूपको समावेशी र संघीय शासनलाई सार्थक लोकतान्त्रिक थितिमा ढाल्ने कार्यभार के सीमान्तकृतहरूको मात्र हो ? थारू र अन्य परित्यक्त समुदायको मुक्ति अभियानमा ‘राष्ट्रिय’ भनाउँदो आमवृत्तले सही अर्थमा सोच्ने, बोल्ने र काम गर्ने राष्ट्रिय सहयोद्धाहरू निर्माण हुने अवस्था कहिले आउँछ ?

पछिल्लो प्रश्नबाट सुरु गरौं । विगत ६ वर्षमा दाङका सुरेन्द्र चौधरीले एउटा कुरा दोहोर्‍याइरहेका छन् । उनी भनिरहन्छन्, नेपालको भूबनोटमा बसोबास गर्ने जनसंख्या सामान्यतः तीन समूहमा वर्गीकृत गरिन्छन् । खस–आर्य, आदिवासी/जनजाति र मधेसी । खस–आर्यहरूलाई नसोधे पनि उनीहरू भन्छन्, जनजातिमध्ये सबैभन्दा बढी विश्वास थारूको लाग्छ । आदिवासी/जनजाति पनि त्यही भन्छन्, थारूजस्तो भरपर्दो र विश्वासी अरू छैनन् । मधेसीहरू पनि उही कुरा भन्छन्, अरू आदिवासीभन्दा हाम्रो धेरै कुरा मिल्ने र हामीले विश्वास गर्ने थारू नै हुन् । यद्यपि सुरेन्द्र चौधरी चकित छन्, टीकापुरयता यी सबै समुदायले थारूलाई किन यति धेरै अविश्वास गर्दै हिंसात्मक समुदायका रूपमा चित्रण गरे ? किन थारूको न्याय र मुक्तिको अभियानमा अपेक्षाकृत साथ–सहयोग दिइरहेका छैनन् ? किन समग्र थारू समुदायप्रति नै यति विघ्न अविश्वास र घृणा फैलाए ?

यी प्रश्नहरूले नेपाली हुनु र राष्ट्रिय हुनुको सांस्कृतिक विचारतन्त्रलाई केलाउने माग गर्छन् । अहिलेको समयमा कसरी वर्चस्वशालीहरूका पक्षमा विचारहरूको पुनरुत्पादन भइरहेको छ, त्यसलाई ठम्याउनुपर्छ भन्छन् । राष्ट्रिय र सांस्कृतिक विचारतन्त्र यदि संकुचित सांस्कृतिक दायरामा हावी रहिरहे नेपालको विविधताअनुरूपको समावेशी र संघीय शासनसुहाउँदो लोकतान्त्रिक थिति निर्माण हुन सक्दैन पनि भन्छन् । यस्तो अवस्था रहिरहे थारू समुदायले न्याय पाउँदैन, न थारूसहित अन्य सीमान्तकृतको मुक्ति संघर्षमा आफूलाई राष्ट्रिय सचेतक सम्झनेहरूले अपेक्षित साथ दिन्छन् । त्यसैले आगामी तीन दिन काठमाडौं र त्यसपछिको साता देशका विभिन्न भागमा हुने प्रदर्शनको ध्येय यस्तो थिति बदल्न संघर्ष जारी राख्नु हो ।

नेपालको सामाजिक र राजनीतिक रूपान्तरणमा थारू र अन्य परित्यक्त समुदायले ‘राष्ट्रिय’ सहयोद्धाको खोजी गरेको इतिहास लामो छ । कम्तीमा चन्द्रशमशेरको शासनकालयता उठेका जनविरोधका प्रयासहरू मात्र सम्झँदासमेत एक सय वर्षभन्दा बढी हुन्छ । यो समय प्रारम्भ हुँदा राजनीतिक दलहरूको उदय भइसकेको थिएन । नागरिक र सामुदायिक तहमा भने अन्यायपूर्ण थितिको विरोध यदाकदा भइरहन्थे । जब राजनीतिक दलहरूको उदय भयो, त्यसले सामाजिक र राजनीतिक रूपान्तरणका लागि नयाँ भाष्य लिएर आयो । त्यो भाष्यसँगै दलहरूले सामान्यजनलाई नयाँ किसिमले संगठिन गर्न थाले । परिचालनका स्वरूपहरू फेरिए । संघर्षको आकार विशाल भयो । यिनै संघर्षको बलमा राजनीतिक व्यवस्थाका नामहरू फेरिए । राजनीतिक थितिमा व्यापक परिवर्तन भयो । तथापि थारू र अन्य परित्यक्त समुदायले ‘राष्ट्रिय’ सहयोद्धा खोज्ने क्रम यथावत् छ ।

यस्तो सकसपूर्ण अवस्थाको उदांगो रूप भदौ १ गतेदेखि थारूहरूले गर्ने कार्यक्रमहरूमा देखिनेछ । खासमा थारूसहित अन्य परित्यक्त समुदायले मुक्तिका लागि सहयोद्धाको खोजी गर्न थालेको जुगौं भयो । आफ्नो समुदायलाई लाग्ने साम्प्रदायिक लाञ्छनाबाट उम्कन अन्य समुदायका सहयोद्धाको खोजी जारी छ । समाजमा सांस्कृतिक विभेदका थितिहरू जब्बर भएकाले वर्चस्वशाली समुदायभित्रको आमूल परिवर्तनकारी आवाजबाट थप ऊर्जा मिल्छ भनेरसमेत त्यसको खोजी टड्कारो छ ताकि सानोतिनो टालटुले परिवर्तनलाई नै ठूलै उपलब्धि ठान्दै संकुचित सांस्कृतिक मूल्यमान्यतालाई पुनर्जागृत गर्ने प्रक्रियालाई चुनौती दिन सकियोस् । थारूहरूलाई थाहा छ, यस्ता सहयोद्धाहरू उपलब्ध भए धेरै प्रकारका अनर्गल आरोपबाट समेत बच्न सकिन्छ । वर्चस्वशाली संस्कृतिमा निहित विभेदकारी राजनीतिक थिति चिर्ने सहयोद्धाहरूले मुक्ति संघर्षलाई अर्कै ऊर्जा दिन सक्छन् ।

यस्तो खोज सोचेजस्तो सहज भने छैन । विद्यमान ‘राष्ट्रिय’ चिन्तन प्रणाली र त्यसले निर्माण गर्ने संस्कृति पूर्णतः साम्प्रदायिक शासकीय थितिमा टिकेको छ । यसमा निहित अन्याय र विभेदको अभ्यास पनि जब्बर छ । हालको ‘राष्ट्रिय’ चिन्तन मूलतः जातिविशेषको साम्प्रदायिक दृष्टिकोण नै हो । वर्चस्वशाली सम्प्रदायले देशवासीलाई नभएर नरेशलाई सम्प्रभु मान्नु, नरेशले धारण गरेको धर्मलाई नै सम्पूर्ण देशवासीको धर्म ठान्नु, नरेशले बोल्ने भाषालाई नै देशवासीको एक मात्र भाषा ठान्नु र नरेशले शासनको दाबी गरेको भूगोलको रक्षार्थ देशवासीले सदैव वीरतापूर्वक जीवनको आहुति दिनुपर्छ भन्ने दृष्टिकोणभित्रै ‘राष्ट्रिय’ हुनुको निहितार्थ छ । वर्चस्वशालीहरूले अहिलेसम्म यिनै अवयवको एकीकृत विचारतन्त्रमै ‘राष्ट्रिय’ हुनुको अर्थ देखे । देखिरहेका छन् ।

यद्यपि नरेशलाई नै सम्प्रभु मान्नेहरूमा कमल थापादेखि रवीन्द्र मिश्रहरूसम्म छँदै छन् । त्यसैले उनीहरू आज पनि नेपालभित्र रहेका विभिन्न देशवासीको संस्कृतिलाई त्याज्य ठान्छन् । जे हो, त्यो केवल हिजो नरेशको काल्पनिकीमा रहेको देश हो भन्छन् ।नरेशले धारण गरेको धर्मलाई नै सम्पूर्ण देशवासीको धर्म ठान्नेहरूमा केपी शर्मा ओलीदेखि शशांक कोइरालाहरूसम्म पर्छन् । यो कुरा सही हो भन्नेहरूमा राजेन्द्र लिङ्देनदेखि कृष्ण सिटौलाहरूसम्म छन् । यी सबै हिजो नरेशले धारण गरेको हिन्दु धर्मलाई शासकीय धर्म बनाउनुपर्छ भन्छन् । भनिरहेका छन् ।

नरेशले बोल्ने भाषालाई नै देशवासीको एक मात्र भाषा ठान्नेहरूमा त ठूला दलका नेताहरूसँगै राज्य संयन्त्रको प्रत्येक अंगसमेत छ । यसलाई साथ–सहयोग दिनेहरूमा स्थानीय पालिकाहरूमा निर्वाचित प्रतिनिधिहरूको ठूलो संख्या छ । प्रदेशसभा र प्रतिनिधिसभामा यस्तै विचारतन्त्रलाई बोक्ने ‘राष्ट्रिय’ नेताहरूकै प्रतिनिधित्व छ । प्रशासनतन्त्रदेखि अदालतसम्म सम्पूर्ण तवरमा यही विचार बोक्छन् । नरेशले कल्पना गरेको केन्द्रीकृत शासनभन्दा फरक किसिमको शासन त नेपालका लागि घातक नै छ भन्नेहरूमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि भीम रावलसम्म छन् । त्यसैले उनीहरू नरेश नरहे पनि नरेशले हिजो धारण गरेको केन्द्रीकृत कल्पनाकै आधारमा शासन गरिरहनुपर्छ भन्छन् ।

यसरी वर्चस्वशाली सांस्कृतिक मूल्यमान्यता बोक्ने र परिवर्तनका विपक्षमा उभिनेहरू पुरुष मात्र नभएर पितृसत्ताका पक्षपोषक हुनु कुनै संयोग होइन, ऐतिहासिक विभेदको अर्को धाँजा मात्र हो । त्यसैले हिजोको राजकीय बागडोर नहुँदासमेत, शासकीय बागडोर कतिपय अवस्थामा तथाकथित उच्च जातमा मात्र नहुँदासमेत खास सम्प्रदायको भाषा, धर्म, केन्द्रीकृत शासकीय सोचको पक्षपोक्षण भइरहन्छ । किनकि यही विचारतन्त्रले अहिलेको लोकतान्त्रिक गणतन्त्रको थितिलाई गाँजेको छ । त्यसैले गणलाई भन्दा राजालाई सम्प्रभु ठानिरहनेहरू गणतन्त्रद्वेषी हुन् । हिन्दु धर्मबाहेक अरू धर्मको अस्तित्व नकारिरहनेहरू ‘सर्वधर्म समभाव’ को मान्यताविपरीत बहुसंस्कृतिद्वेषी हुन् । नेपाली भाषामा बाहेक अन्य भाषिक अभिव्यक्तिमा मानव सामर्थ्य र नेपालीपन नदेख्नेहरू समावेशिताद्वेषी हुन् । स्थानीयतामा नभई केवल केन्द्रीयतामा मात्र देश देखिरहनेहरू संघीयताद्वेषी हुन् । एकैसाथ सार्थक परिवर्तनका द्वेषी धेरै छन् ।

त्यसैले थारूहरूमा किन हाम्रो समुदायलाई कसैले विश्वास गरेनन् भन्ने भाव आउनु चिन्ताजनक सामाजिक वास्तविकता हो । अहिलेको जल्दोबल्दो वास्तविकता । यस्तो अवस्थाले लोकतान्त्रिक गणतन्त्रको आवरणमा राज्यको पुरानै साम्प्रदायिक चरित्र जीवन्त रहेको संकेत दिन्छ । यस्तो साम्प्रदायिक चरित्र जसले विभिन्न जनआन्दोलन र जनसंघर्षसँग हार त खायो तर राजनीतिक व्यवस्थामा फेरबदल ल्याएको छैन । विभेदपूर्ण सांस्कृतिक दृष्टिकोणमा परिवर्तन ल्याउन चाहिरहेको छैन । थारूहरूलाई थाहा छ, वर्चस्वशालीहरूको मूल्यमान्यताबाट मलजल पाइरहेको साम्प्रदायिक विचारतन्त्र बलियो रहेसम्म थारू मुक्ति अभियानमा राष्ट्रिय सहयोद्धाको खोजी सजिलो छैन ।

यस्तो अवस्था कायम रहिरहनु भनेको साम्प्रदायिकताले ओतप्रोत कोष्ठधारी ‘राष्ट्रिय’ हावी हुनु हो । बिनाकोष्ठधारी राष्ट्रियता निर्माण गर्ने सामूहिक कार्यभार त्यस बेला मात्र सम्भव हुन्छ जब थारूसँगै अन्य परित्यक्तको मुक्तिलाई निर्धक्कसँग स्विकार्दै अघि बढ्ने विश्वास वर्चस्वशालीहरूले समेत राख्छन् । सम्प्रदायविशेषको राष्ट्रिय सोच बोकेकाहरूले सम्पूर्ण देशवासीको विश्वदृष्टि, सांस्कृतिक विविधता र जीवनशैलीमा न्याय र समतामूलक राष्ट्र निर्माणको सामर्थ्य ठम्याउन सक्नुपर्छ । के वर्चस्वशालीहरूमा यति पनि आत्मविश्वास छैन ? छ भने, यस साता थारूहरूले आह्वान गरेका कार्यक्रमहरूको सेरोफेरोमा त्यस्तो आत्मविश्वास हेर्ने मौका मिल्ने नै छ ।  (साभार कान्तिपुरबाट)

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap