महादेव गिरी संवाददाता
धनगढी साउन २३, कैलाली, कञ्चनपुरमा जिल्लामा बसोबास रहेका रानाथारु समुदायका महिला आज बुधबार तीज पर्व मनाइ रहेका छन् ।
आ–आफ्ना दाजुभाई र भतिजाको दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ गरिन्छ । धनगढी गाउँका स्थानीय रामरतोदेवी रानाका अनुसार तीजको दिन दिनभरि निराहार व्रत बसेर बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरुले सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी मुरिया काटेर नदीतिर लाग्ने गरिन्छ ।
यस्तै, झुरकी कुसको गाँठो बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरिन्छ उनले बताए ।
सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारैधार टाढा जानू, हाम्रो दाजुभाई, भतिजाको उमेर बढ्ने उनले बताए ।नदीमा झुरकी बगेर जति टाढा जान्छ, दाजुभाई, भतिजाको आयु त्यति नै लामो हुने जनविश्वास रहेको रहेको छ ।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाईहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने चलन रहेको छ । यस्तै, व्रतालुहरु सामनको डोला खेलेर रमाउने गरिन्छ ।
तीज रानाथारु समुदायका महिलाको विशेष र सामाजिक, सांस्कृतिक, भाषिक, ऐतिहासिक महत्व बोकेको विशिष्ट पर्व रहेको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले बताएका छन् ।