धनगढी मंसिर १८, आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार सार्वजनिक अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो,माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो भएको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको प्रमुख, १६ वटा वडामा गरी १७ स्थानमा जित हासिल गरेको छ । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रेसले जितेका रिक्त थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नतिजामा सुधार ल्याएको देखिन्छ । माओवादीले यसअघि २०७९ सालको निर्वाचनमा जितेको केही स्थान गुमाएपनि कांग्रेस एमालेको जितेका ठाउँमा जित हात पार्दै नतिजा सुधार गरेको हो । उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादीले जितेका ७ पद रिक्त थिए । माओवादीले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्ष र ७ वटा वडामा गरी ११ स्थानमा जितेको हो ।यसैगरी सत्ताको नेतृत्व गरेको दल एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमकिपाले १ वडामा र एक जना स्वतन्त्र उम्मेदवारले वडा जितेका छन् । आइतबार ४१ पदका लागि मतदान भएको थियो ।
४४ पद रिक्त रहेपनि यसअघि नै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध भएका थिए भने रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका– २ को अध्यक्षमा माओवादीका जगत् घर्ती निर्विरोध भएका थिए ।
Related